Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
खगेन्द्र संग्राैला
२०७५ पौष १० मंगलबार १७:३०:००
दृष्टिकोण

कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी राष्ट्रवाद हो : खगेन्द्र संग्रौला

खगेन्द्र संग्राैला
२०७५ पौष १० मंगलबार १७:३०:००

म पहिला एकफिट होचो राष्ट्रवादी थिएँ । आफ्नो जीवनका अनुभवबाट सिक्दै जाँदा अहिले मलाई लाग्न थाल्यो, अब म राष्ट्रवादी रहिनँ । जुनजुन धारणाका आधारमा कोहि राष्ट्रवादी हुन्छ, म त्यस्तो हुन सकिनँ । 
जुनबेला म राष्ट्रवादी थिएँ, मेरो एउटा राजनीतिक पाठशालाले दुई तीनवटा कुराका आधारमा मलाई राष्ट्रवादी बनायो । पहिलो नेपाली कांग्रेस, राजा र राजाको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो । कम्युनिस्ट आन्दोलनमा कांग्रेसलाई दिल्लीको दलाल र वीपी कोइरालालाई लेन्डुप भनिन्थ्यो । 


अहिलेको राष्ट्रवाद गणतन्त्रसँग मिल्दैन । राष्ट्रवाद र गणतन्त्र सर्वथा विपरित कुरा हुन् । राजतन्त्रका केही  मूल्यहरुहरुमाथि प्रश्न उठाउन पाइँदैन । भावीले छैठीमा निधारमा लेखिदिएको हुन्छ, तिमी राजा हुने । राजा गुणवान र दुरदर्शी हुन्छ जसले केहिपनि गर्नुपर्दैन । राजा संविधान, कानुनभन्दा माथि हुन्छ, सबै प्रजाहरु उसको अन्तर्गत बसिभूत हुन्छन् । राष्ट्रवाद पनि लगभग त्यस्तै छ । राष्ट्रवादमाथि प्रश्न उठाउन बहुत गाह्रो हुन्छ । एक किसिमले यो अघोषित रुपमा बर्जित विषय हो । राष्ट्रवादमाथि प्रश्न गर्न, विवाद गर्न र विमति जनाउन बर्जित छ । 
राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासैभरी सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रम्प नश्लवादी राष्ट्रवादी हुन् । ट्रम्पको राष्ट्रवाद अश्वेतविरोधी, आप्रवासीविरोधी, महिलाविरोधी र अमेरिकी गौरव हो । नरेन्द्र मोदी नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले सत्रु खोज्छ । मोदीले दुईवटा सत्रुको रचना गरेका छन् । एउटा मुस्लिम अर्को पाकिस्तान ।

नेपालमा कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी राष्ट्रवाद हो । यो नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गरेको छ । एउटा सत्रु भारतीय बिस्तारबाद र  अर्को सत्रु मधेसी । नश्लका आधारमा तपाईंको वर्ण के हो ? भाषा कुन हो ? धर्म के हो ? र तपाईं कुन भूगोलमा बस्नुहन्छ ? त्यसैका आधारमा कोही श्रेष्ठ र कोही तुच्छ हुन्छ । खसआर्य, पहाडबासी, नेपालीभाषी र हिन्दूधर्म मान्ने ‘श्रेष्ठ’ भयो । थारु, मधेसी र महिलासमेत पनि ‘तुच्छ’ भए । आफूलाई श्रेष्ठ देखाउनका लागि तपाईंले केही तुच्छ चिजको निर्माण गर्नुपर्छ । त्यसैले यो नश्लवादी छ । 
तेस्रो, राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ । तर सार र परिणाममा राष्ट्रवाद विखण्डनकारी छ । राष्ट्रवादले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ । त्यसले विखण्डन गर्छ । 
संविधान निर्माण प्रकृयाका बारेमा अलिकति चर्चा गरौँ । संविधान कसरी बन्यो ? एकथरीले एउटा जात अथवा नश्लले अर्को समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाएर संविधान बनेको थियो । पृष्ठभूमिमा भूकम्प थियो, भूकम्पले हल्लिएको नेपाली थियो । फास्टट्रयाक भनियो, संविधान निर्माणका अन्तरिम संविधानमा जे जे विधि प्रक्रियाहरु छन्, सबै उल्लंघन गरिए । त्यसलाई पाखा पारियो ।

मधेसमा लगभग ६० जना मानिस मारिँदा मिडिया र बौद्धिक समाजले मान्छे मर्‍यो भन्ने कहिँ कल्पना गरेन । को मर्‍यो ? कोही विदेशी दलाल मर्‍यो भन्ने भयो ।

संविधान निर्माण ज्यादतिका बीचमा भएको छ । खासगरी म दुईटा ज्यादतिको उल्लेख गर्छु । टीकापुर घटना घट्यो । टीकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्ल र समुहले थारुहरुको समानताको आकांक्षा र दाबीलाई उपेक्षित गर्दै, किनारा लगाउँदै अखण्डको नारा लगायो । त्यो पृष्ठभूमिमा टीकापुर घटना घट्यो । घटनामा केही प्रहरी अफिसर र जवान मारिए, एउटा बालक मारियो । यी जो जो मारिए यिनीहरु सबै पहाडी थिए । त्यसपछि के भयो ? थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोपर्यो । तिनका पसल लुटिए, घरमा आगो लगाइयो, महिलाहरुलाई अपमान गरियो । तर हामीले काठमाडौँबाट के देख्यौँ ? जो पहाडी मारिए, तिनीहरु श्रेष्ठ थिए । त्यसैले हाम्रो सम्पुर्ण मिडियाका निम्ति समाचार त्यही बन्यो । थारुहरुमाथि थोपरिएको हिंसाको कहीँ पनि चर्चा भएन । किनकि त्यो थारु थियो । त्यो खसआर्य होइन, नेपाली भाषी होइन, सनातनी शासक वर्गको सदस्य र समुदायपनि त्यो होइन । 


मधेसको कुरा गरौं, संविधान निर्माण भइरहेका बेला मधेसी नेतृत्वका केही असहमतिहरु थिए । अन्तरिम संविधानका स्थापित जे जति मानक र मापदण्ड छन्, त्यसका आधारमा संविधान बन्नुपर्छ भन्ने आग्रह र दाबी थियो । गरियो के ? एउटा नश्ल र समुदायले संविधान निर्माण गर्यो । मधेस संविधान निर्माण प्रकृयामा बाहिर पर्‍यो । उ संलग्न भएन, संलग्न गराइएन । संविधान निर्माण प्रकृयाप्रति असहमति राख्ने झण्डै ६० जना मधेसी नागरिकहरु मारिए । ६० जना मानिसको रगत लतपतिएको रक्तरञ्जित संविधान निर्माण गरियो ।

संघीय संविधानको प्रयोजन के हो ? ऐतिहासिक दृष्टिकोणले राज्यवाट पाखा परेकाहरु, अवसरबाट वञ्चित भएकाहरु, अपमानितहरु, इज्जत नभएकाहरुलाई संविधानको फोल्डभित्र ल्याउने कुरा थियो । त्यसले समावेशिता कल्पना गरेको थियो । संविधानले के गर्यो ? समावेशिताविरुद्ध एउटा ठूलो जनसमुदाय, झण्डै देशको आधा जनसंख्यालाई निर्णय प्रक्रियाभन्दा बाहिर राखेर त्यसमाथि जघन्य हिंसा थोपरियो । मानिस मार्दै संविधान बनाइयो । त्यसैले संविधान निर्माण प्रकृया विशुद्ध नश्लवादी छ ।

नेपाल त विविधता युक्त देश हो । यहाँ विविध जातिहरु छन् । धार्मिक सम्प्रदायहरु छन् । भाषिक सम्प्रदायहरु छन् । लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो ।

राष्ट्रवाद अतितमुखी हुन्छ । राष्ट्रवादले भविष्यको कल्पना गर्दैन । अतितका मूल्यहरुको गौरवगान गरिन्छ । जस्तो ‘असली हिन्दूस्ताना’ । पृथ्वीनारायणले नेपालका यस भेगका भूगोलका टुक्रा जोडेपछि एउटा नारा ल्याइएको थियो, ‘असली हिन्दूस्ताना’ । हिन्दूत्वलाई राज्यको धर्मको एउटा अंश बनाइयो । हिन्दुत्वलाई देशको पहिचान बनाइयो । हिन्दू बाहेक बाँकी अरु जो थिए, त्यही बेलादेखि नै बहिष्करणमा परेका हुन् । दोस्रो ‘हाम्रा साना दुःखले आज्र्याको मुलुक होइन’ । हाम्रा भनेको कसका ? राणाजीहरुका र शाहजीहरुका । पूर्खा त हाम्रा पनि थिए । मधेसीका पनि पुर्खा थिए । थारुका पनि पुर्खा थिए । तर राज्य कल्ले बनायो ? राज्य तिनले बनाए जसको हातमा सत्ता थियो । परम्परा थियो । बन्दुक र वर्चश्व थियो । ‘कत्रा दुख्ले आज्र्याको मुलुक’ भन्दा कस्तो लाग्छ भने पृथ्वीनारायण ती वीर नायक हुन् जो गोर्खादेखि सारा वन फाँड्दै, बस्ती बसाउँदै, जग्गा आवाद गर्दै आएका हुन् । सबै तिनले गरेका हुन् । बाँकी तपाईंका पूर्खाहरु त्योबेला के जुम्रा मारेर बसिरहेका थिए ? मदिरा पान गरेर लठ्ठीएका थिए ? वा कुम्भकर्णजस्तो के तिनीहरु ६ महिनाको निद्रामा थिए ?

नेपाललाई बहुजातीय देश भनिन्छ । प्रत्येक जातिको यो देशको निर्माणमा आफ्ना योगदान छन् । तिनका योगदानका प्रकृतिहरु फरक होलान् । योगदानका मात्रा फरक होलान् । तर मधेस आवाद गरेको कसले हो ? पहाडीले हो ? मधेसीले हो । नेपालको सबैभन्दा पुरानो, आदिवासी भन्न लायकको त थारु समुदाय नै हो । नेपालको इतिहास, सभ्यता, संस्कृतिको निर्माणमा तिनको पनि योगदान छ । सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, भाषा र धर्मलाई श्रेष्ठ मानियो, बाँकीका योगदानलाई उपेक्षा गरियो, तिनलाई डाँडा कटाइयो । 
मैले पहिल्यै भनें, राष्ट्रवादले अतितका मात्रै कुरा गर्छ । राष्ट्रवादले भन्छ, ‘साम्राज्य दुई हारे हारेन शान हाम्रो’ । कुन–कुन साम्राज्य कसरी हारे ? तपाईंको सानचाहिँ कसरी हारेन ? आफ्नो काल्पनिक श्रेष्ठता स्थापित गर्नका निम्ति यस्ता केहि चिजहरु बनाइए, केही मिथकहरु रचना गरिए, केही प्रतिकहरु निर्माण गरिए । त्यसका आधारमा एउटा श्रेष्ठ भयो अर्को अश्रेष्ठ । एउटालाई श्रेष्ठ मानिनका निम्ति, भनिनका निम्ति बाँकीलाई अश्रेष्ठको दर्जामा राख्नुपर्ने भो । 


देशप्रेम फरक कुरा हो । राष्ट्रवाद र देशप्रेम सर्वथा विपरीत कुरा हुन् । एउटा देशको भूगोलभित्र तपाईं कहीँ जन्मनु हुन्छ । तपाईंले त्यहाँको माटो टेक्नु हुन्छ । आमाको दूध चुस्नु हुन्छ । कसैले तपाईंलाई डोर्याएर आँगनको पल्लो छेउमा पुर्याइदिन्छ । कसैले ठूलो भेलमा डुंगाले तारिदिन्छ । त्यो परिवेश र संस्कृतिले एउटा सम्बन्धको निर्माण गर्छ । आफूलाई जन्माउने आमाप्रति सबैमा ममता हुन्छ । आफूले टेकेको माटोप्रति सबैमा ममता हुन्छ । त्यो भूमि जसले तपाईंलाई अन्न दियो, त्यो आकास जसले तपाईंलाई हावा दियो, त्यो प्रकृति जसले तपाईंमा सौन्दर्य चेतनाको निर्माण गरिदियो । त्यसप्रति मान्छेमा स्वभाविक ममता र अपनत्व हुन्छ । त्यो अपनत्व र ममताको प्रतिउत्तरमा कृतज्ञ नागरिकले आफ्नो देश र समाजका निम्ति केही न केही चेस्टा गर्छ । देशप्रेम ममतापूर्ण हुन्छ । कृतज्ञतायुक्त हुन्छ । देशप्रेम यो नश्लीय छैन । यसले विभाजन गर्दैन । यो श्रेष्ठ, त्यो तुच्छ भन्ने हुँदैन । भुगोलभित्र जति मान्छे बसेका हुन्छन्, तिनीहरु सबैमा माटोप्रति माया हुन्छ । मलाई पनि माटोप्रति माया छ । त्यसैले देशप्रेम विखण्डनकारी हुँदैन । विभेदकारी हुँदैन । त्यहाँ श्रेष्ठ र अश्रेष्ठको कुरापनि हुँदैन । त्यो माटोप्रतिको, आमाप्रतिको, आफ्नो सभ्यता र परम्पराप्रतिको ममता हो । त्यसप्रतिको कृतज्ञताभाव हो । 

जुनबेला संविधान निर्माण भइरहेको थियो, मधेस आन्दोलन र टिकापुर घटना भइरहेको थियो, मधेसी समुदाय आन्दोलनमा थियो । त्यो बेला बिडम्बना के भयो भने सिंगो मिडिया सत्तामा विलय भएको थियो । मिडिया यति भयानक राष्ट्रवादी भएको थियो कि अहिलेका राष्ट्रवादका जो नायकहरु हुन्, उत्पाती–वित्पाती आकासको जून सून बनाएर तपाईंको आँगनमा खसाइदिने । जो उत्पाती–वित्पाती नेतृत्व छ, त्यसको रचना कसले गर्‍यो ? त्यसको रचना आधारभूतरुपमा मिडियाले गरेको हो । टिकापुरमा पहाडी मारिए, तीनको श्रेष्ठताको गाथा गाइयो । थारुहरुमाथिको दमन भयो, तिनको तुच्छताको मिडियामा कहीँ चर्चै भएन । मधेसमा त्यति धेरै मानिसहरु मारिँदा पनि मिडियाले कतै आपत्ति गरेन । ति घटनालाई मिडियाले यसरी प्रस्तुत ग¥यो मानौं संविधान निर्माण प्रक्रियामा मधेसीहरु मारिनु गौरवको विषय हो । पौरखको विषय हो । त्यस्तो किन गरियो होला ? 


किनभने सनातनी दृष्टिकोणबाट यो देश कसले बनाएको हो ? खसआर्यहरुले । लामो समयदेखि सत्तामा खसआर्यहरु नै थिए । तिनको वर्चश्व थियो । अख्तियारमा, साधन–स्रोतमा, परम्परागत शक्तिमा, राज्यका यावत उपकरणमा तिनको एकलौटी वर्चश्व थियो । मैले जुनबेला राष्ट्रवाद सिकिरहेको थिएँ त्यसबेलादेखि अहिलेसम्म मधेसीहरुलाई मधेसलाई कस्तो व्यवहार गरिन्छ भने मधेस सिंहदरवारका मालिकहरुको हो र मधेसी पारिको । विहारको ।  उत्तर प्रदेशको । त्यसको वर्ण कालो छ, नेपाली भाषा त्यसको मातृभाषा होइन, त्यसको बस्त्र फरक छ र भुगोल फरक छ । उसको सीमानापारि अर्कै छ । मेरो बाल्यकालमा जुनबेला महेन्द्रीय शासनको जगजगी थियो, मैले त्यही शासनमा पढेँ र त्यही शासनमा पढाएँ । राष्ट्रवादको शिक्षा मैले त्यही बेला लिएको हुँ । अहिले केही कुराहरु फेरिएका छन् । काठमाडौँमा मधेसी, मस्र्या, धोती, काले आजकल कम भनिन्छ ।

कम्युनिष्ट आन्दोलनको इतिहासले पनि मलाई त्यही कुरा सिकाएको थियो । हामी वीर पृथ्वीनारायणका सन्तानहरु हौँ, मधेसी कायर हुन् भनेर सिकाए । देशभक्त नागरिकको कुरौ नगर्नुस्, ती मान्छे हुन् भन्ने कुरामा पनि शंका गरिन्थ्यो ।

त्यसैले मधेसमा लगभग ६० जना मानिस मारिँदा मिडिया र बौद्धिक समाजले मान्छे म¥यो भन्ने कहिँ कल्पना गरेन । को मर्‍यो ? कोही विदेशी दलाल मर्यो भन्ने भयो । मधेसको भूमिलाई कुनैपनि बेला विदेशीलाई बुझाउन सक्ने पात्र मर्यो । संविधान जुन पृष्ठभुमिमा जुन प्रकृयाबाट निर्माण गरियो, त्यो अपराधका बीचमा गरियो । एक किसिमले यो संविधान एउटा अपराधिक दस्तावेजका रुपमा निर्माण गरिएको छ ।


हामी संघियतामा गएको किन हो ? नेपालमा विभेद छ र त्यो विभेदलाई न्युनीकरण गर्न विभिन्न समुदयाबीचको समानता, सद्भाव, प्रेम र सहकार्यको निर्माण गर्न हामी संघीयतामा गएका हौँ । राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो र प्राविधिक किसिमको संघीयतामात्र बाँकी रह्यो । यो सबैको साझा भएन । अझै पनि देशको आधा जनसंख्या यो संविधानसँग असन्तुष्ट छ । हामलाई पाखा पारेर, हामीमाथि बन्दुक र गोली प्रयोग गरेर तिमीले संविधान बनायौ भन्ने असन्तुष्टि छ ।  संविधानमा तिमीले आफ्नो स्वार्थलाई सर्वोपरी राख्यौ । आफ्नो परम्परागत वर्चश्वलाई तिमीले कायमै राख्यौ । हामी त संविधान बन्नुअघि पनि पाखा परेकै थियौँ, अहिले पनि पाखा परेका छौँ । त्यसैले तिम्रो संविधानसँग हाम्रो असहमति छ । यो उनीहरुको गुनासो हो । यो परिस्थिती के ले निर्माण गर्‍यो ? राष्ट्रवादले । 

राष्ट्रवाद नश्लीय प्रकृतिको छ, यसले विभेद गर्छ । कसैले कसैमाथि विभेद, घृणा नगरिकन राष्ट्रवाद बन्दैन । भन्दाखेरी अखण्ड नेपालको कुरा गरिन्छ । अखण्ड नेपाल त हामीलाई पनि चाहिएको छ । नेपालको भुगोल र सार्वभौमसत्ता खण्डित हुनुपर्छ कस्ले भन्छ ? हामी सबै त्यसैको पक्षमा छौँ । भन्नलाई अखण्ड नेपालको रक्षा भनियो । अखण्ड नेपालको रक्षा गर्नका निम्ति निम्ति थारु र मधेसीमाथि हिंसा थोपरियो । परिणाम के भो ? यो चिन्तनले, संविधान निर्माणको यो प्रक्रियाले र संविधान स्वयमले पनि नेपाललाई खण्डित गर्‍यो । हाम्रो समस्या समाधान भएन । समानताको धरातलमा, पारस्परिक सम्मानको धरातलमा, इतिहासमा भएका भुलहरुलाई, त्रुटीहरुलाई सच्याउँदै खासखास समूदायमाथि भएका अपमान र ज्यादतिहरुमा गर्नेले पश्चताप गर्ने । जो अन्यायमा पर्‍यो त्यसले माफी दिने । एकीकरणको प्रकृया त त्यो होला । एक हुनका निम्ति आधारभूत कुरा भनेको समानता हो । राज्यमा समान किसिमको पहुँच, संस्कृतिमा समान स्तरको पहिचान, प्रतिष्ठा, गौरव त्यसको आधारमा मात्रै कुनै पनि समाज एकताको जगमाथि उभिन्छ । संविधानले हामीलाई एकताको जगमा उभ्याएन । यसले विखण्डनतर्फ नै लगिरहेको छ । 


कांग्रेस कांग्रेसजस्तो रहेन । कम्युनिस्ट कम्युनिस्टजस्तो रहेन । नेकपा डबलका नेताको चरित्र, संस्कार, जीवनशैली, सम्बन्ध कांग्रेसका नेताहरुको संस्कार, शैली र चरित्र मण्डलेहरुको चिन्तन, दर्शन र सम्बन्धमा फरक के छ ? मलाई एउटा फरक बताइदिनुस् ।  सबैभन्दा ठूलो समस्या के हो भने यो राज्यको चरित्र बदलिएन । राज्यको चरित्र बदल्नका निम्ति जसले आँधीबेहेरी उठाएका थिए ति के भए ? पुष्पकमल दाहाल, जसको निर्वाचनमा म त सडकसडकमा हिँडेको थिएँ, म जसलाई नेता मान्थें, ठूल्ठूला मुद्धा उठाएका पुष्पकमल आज ओलीमा विलय भए ।
सारमा मेरो कुरा के हो भने यो राष्ट्रवाद नश्लवादी छ । यो राष्ट्रवाद गणतन्त्रविरोधि छ ।  समाजवादविरोधी छ । यो राष्ट्रवाद असमावेशी र विभेदपूर्ण छ । परम्पराका सबै रोगहरु यसले बोकेर हिँडेको छ । त्यसैले माफ गर्नुहोला, म चाहिँ राष्ट्रवादी होइन ।


(पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको ‘म किन राष्ट्रवादी भइनँ ?’ शिर्षकमा संग्रौलाले राखेको मन्तव्यको सम्पादित अंश)