१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हरि शर्मा
२०७५ पौष १० मंगलबार १६:०७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

मानव इतिहासमा प्रभुत्वसँगै प्रतिरोध छ 

Read Time : > 4 मिनेट
हरि शर्मा
२०७५ पौष १० मंगलबार १६:०७:००

पढ्ने काम एकांगी अभ्यास हो । पाठक लेखकसँग खेल्न थाल्छ । त्यसको प्लटमा पस्न थाल्छ । किताब संरचनात्मक वस्तु हो । सुरु हुन्छ, अन्त्य हुन्छ, यसका विभिन्न पात्र हुन्छन् । विचारपनि त्यही किसिमबाट बनेको हुन्छ । पुस्तक समातेपछि कि आफु इन्गेज हुनुपर्‍यो, कि उसले इन्गेज गर्नुप¥यो । पठन सामूहिक र एकांगी दुवै हुनसक्छ । 


बाहुनको छोराले नपढी हुँदैन भन्ने परिवेशमा हुर्किएँ म । बाहुनका ६ कर्ममध्ये एउटाचाहिँ पढ्नु र पढाउनु हो भन्ने मान्यता  छ । मेरो हुर्काइ ब्रिटिस आर्मीमा भएको हो, जहाँ बाहुनहरु थोरै हुन्थे । अरुले छाती नाप्न जान सक्थे, मैले पढेरै गरिखानु पथ्र्यो । त्यसैले कता कता मेरो पठनको सन्दर्भ समाजशास्त्रीय पनि छ । अहिले समानताको जमानामा बाहुनहरु किन पढेलेखेका छन् ? किन टाठाबाठा छन् ? कायस्थहरु किन लेख्न जान्दछन् ? किनभने यहाँ सामाजिक संरचना र राजनीतिक अर्थशास्त्रका कारण छन् । त्यसैले बाहुनको छोरो, पढ्नुको बिम्ब नै ‘टुप्पी ठाडो पारेर पढ्नु’ हो भनिसकेपछि अरुको टुप्पी थिएन, बाहुनकै छोराको टुप्पी थियो । म त्यो परिवेशमा हुर्किएको हुनाले पढ्नुको विकल्प नै भएन । फुटबल खेल्नुभन्दा किताब समाउनुनै मेरो उपयुक्त विकल्प भयो । 


किताबसँग प्रजातन्त्र अथवा लोकतन्त्रको ‘पोजेटिभ कोरिलेसन’ देखिन्छ । तर, किताबले नै लोकतन्त्र धराशायी पारेका उदाहरण पनि छन् । किताबै देखाएर धेरै ठूला दमनहरु भएका छन् । धार्मिक रुढी या ‘पोलिटिकल डकुमेन्ट’ का कुरा गरौँ, सफाया गर्ने नाममा ‘पोलिटिकल डकुमेन्ट’ हरुको प्रयोग भएको छ । त्यसैले किताब र प्रजातन्त्रको दुई अर्थ लाग्छ । जसरी पात्रहरु फरकफरक हुन्छन्, किताब छाप्ने, लेख्ने र पढ्ने मान्छेहरु पनि फरकफरक हुन्छन् । किताबलाई विविधताको प्रतिकका रुपमा हे-यो भने पुस्तक र लोकतन्त्रको सम्बन्ध म त्यहाँ देख्छु । विरोध र समर्थनको भावका रुपमा पुस्तकलाई हेर्‍यो भने म त्यहाँ सम्बन्ध देख्छु । तर, किताबलाई एकोहोरो रुपमाचाहिँ हेर्नुभएन । 


समय बदलिए अनुसार राजनीतिक-सामाजिक व्यवस्थाले के पढ्नुहुन्छ ? के पढ्नु हुँदैन ? कस्तो पढ्नुपर्छ ? भन्ने कुरा निर्धारण गर्न खोज्छ । त्यो कोणबाट हेर्दा मलाई श्रुती परम्परा अझ प्रजातान्त्रिक रहेछजस्तो लाग्छ । श्वरबाट अक्षरमा आएपछि बन्देज लाग्न थाल्यो । बोल्दा शुद्धता थिएन होला तर लेख्दा संरचना उपस्थित भयो । त्यसैले लेखनको संसार(करिकुलम र सेलेबस) मा निश्चय पनि केहि बन्देजहरु हुन्छन् । तर, श्रुतीपरम्परामा संवादको भूमिका भएकाले त्यो कालखण्ड बढि डेमोक्र्याटिक थियोजस्तो लाग्छ मलाई । 
मुद्राको उत्पतिपछि छपाइका काम हुनथाले । पाठ्यक्रममा बारबन्देज लगाएपनि उपलब्ध ज्ञानप्रति मान्छेको आकर्षण हुनु स्वभाविकै हो । नेपालमा पुस्तक र म्यागजिन बन्द हुँदापनि दिनमान पढेकै हो, सर्वेश्वर दयाल सक्सेनाका कविता पढेकै हो । बन्देज हुँदाहुँदै पनि त्यसको प्रतिरोध गर्ने समय हामीले देखेको हो । कलेज वा विद्यालयका पाठ्यपुस्तकमा गुणगान गाएको भएपनि त्यसको प्यारोडी बनाएको हामीले सुनेकै हो । 


अक्षर ब्रह्म हो भन्दाभन्दै पनि त्यसलाई चुनौति दिने सम्भावना बढेर गएको छ । अहिले त झन् इन्टरनेटको जमाना छ । हुन त ‘प्यारेन्टल गाइड’ भनेर टेलिभिजन र मोबाइलमा राखेको हुन्छ तर अहिलेको समयका मान्छे त्यो बन्देजमा रहिरहँदैनन् । मसँग कसैले तपाईँलाई पढ्न मन लागेको पुस्तक कुन हो ? पढ्न मन लागेका पुस्तक पाउनुभएको छ कि छैन भनेर सोध्यो भने मेरो उत्तर हुन्छ- आजभोली नपाइने केहि छैन । यो डिजिटल प्रविधिको संसारले पठनमा धेरै फरक पारेको छ । हाम्रो भन्दा अहिलेको समय निश्चय पनि फरक छ । त्यसैले करिकुलमले बन्देज गर्दागर्दै पनि त्यसलाई भत्काउँदै जाने मानवीय प्रवृत्तिको अर्को पक्ष हुन्छ । पठनको सबभन्दा ठूलो सिकाइ त्यहाँ ‘प्लेफुलनेस’ हुन्छ । म कताकता रागमा पनि विश्वास गर्छु । लेखकले जतिसुकै कठोर कुरा लेखेपनि, आँशु बगेपनि, हाँसो लागेपनि यो उसको पक्ष हो, मलाई रुवायो तर त्यसलाई समातेर बौँलाउँदै हिँड्नुपर्ने जरुरी छैन । लेखकसँग पाठकको त्यो सम्बन्ध हो, यसलाई आफैँले परिभाषित गर्नुपर्ने हुन्छ । 

प्रतिरोध नभएको भए मानव सभ्यता यसअघि नै कतै अड्किसक्थ्यो । हामी किन अघि बढिरहेका छौँ भने हामीले प्रश्न गरिरहेका छौँ । 


सिके लालले समकालिन राजनीतिलाई पनि जोड्ने गरेर कसरी विद्रोह र समर्पणको कुरा आउँछ भन्ने विषयमा आफ्नो धारणा राख्नुभयो । संरचनात्मक कुरामा हेर्दा पुस्तक अथवा लिपी वा समग्र वाङमयको पनि ठूलो देन छ । बेनेडिक्ट एन्डरसनले राष्ट्र कल्पनाको समाज हो भन्दा त्यसलाई ‘फेसिलेटेड’ गर्ने छापा पुँजिवाद हो । तुलसिकृत रामायण हिजो बोल्ने परम्परामा थियो, गीता प्रेस आइसकेपछि तुलसिचरित्र मानस छापिन थाल्यो । भानुभक्तको रामायण कुनै कालखण्डमा हातले लेखियो । तर, पुस्तक बनिसकेपछि नेपाली समाज ‘बिल्ड अप’ गर्न त्यसले भुमिका खेल्यो । म केहि समयअघि बर्मा पुगेको थिएँ, धार्मिक विद्यालयहरुमा अझैपनि रामायण पढाइ हुन्छ । रामायण पढ्नका निम्ति नेपाली भाषा पढिन्छ । मैथिलीमा पनि त्यस्तै केहि होला । त्यसैले संरचनागत रुपमा हेर्दा पुस्तकले एक ठाउँमा ल्याउने प्रयास गरेको छ । एक ठाउँमा ल्याउने प्रयास गर्दा पुस्तकले सामुहिक कल्पना (कलेक्टिभ इमाइजिनेसन) लाई प्रवद्र्धन गरेको छ । त्यसैले समाजलाई एक किसिमबाट संरचनागत गर्नपनि किताबको प्रयोग भएको छ । किताब बिम्बका रुपमा प्रयोग हुन्छ, किताबभित्रको ज्ञानको प्रयोग भएको हो । किताबले चेतना फैलाउने कामपनि गरेको छ । लेखक र पाठकका बिचमा, समुदाय र समुदायका कल्पनाका बीचमा र द्वन्द्वहरुका बीचमा पनि किताबले ठूलो भुमिका खेलेको हुन्छ । त्यसैले पुस्तकलाई म ‘इन्ट्रेस्टिङ पोलिटिकल अब्जेक्ट’ का रुपमा पनि हेर्छु । 


सिके लालले भनेजस्तो मानव इतिहासलाई शक्तिको कोणबाट हेर्दा त्यहाँ प्रभुत्वको विषय पनि आउँछ । तर, मानव इतिहासमा प्रभुत्वमात्रै छैन, प्रतिरोधपनि सँगसँगै छ । त्यस्तो हुँदैनथ्यो भने यत्रा ठूल्ठूला विद्रोहहरु कसरी हुन्थे ? आजभोलि विहानै उठेर खगेन्द्र दाइको ट्वीट हेर्‍यो भने दिनभरीको नेपाली समाजको बिम्ब प्राप्त हुन्छ । एउटा मान्छेले फ्यास्स ट्वीट फाल्दैमा त्यो कसरी चल्छ ? हाम्रो प्रतिरोधात्मक शक्तिलाई पाठकले चिन्न सक्नुपर्‍यो, प्रश्न गर्न सक्नुपर्‍यो । सिके लालले भनेजस्तै एउटा ठूलो ट्रेन्डचाहिँ छ, आफुले सोचेजस्तै अर्कोलाई सोच्न लगाउने, आफुले गरेजस्तै अर्कोलाई गर्न लगाउने । तर, त्यसप्रति प्रतिरोध नभएको भए मानव सभ्यता यसअघि नै कतै अड्किसक्थ्यो । हामी किन अघि बढिरहेका छौँ भने हामीले प्रश्न गरिरहेका छौँ । 


पठनपाठनको अवस्था हेर्दा प्रश्न गर्ने हाम्रो क्षमतामा ह्रास आएको हो कि जस्तोपनि लाग्छ । तर, त्यस्तो होइन । शासकले पनि आफुलाई ‘रिइन्भेन्ट’ गरिरहेको हुन्छ । त्यसैले प्रश्न गर्ने क्षमतापनि त्यतिकै छ । मानव चेतना शुन्य भएको छैन । हामीलाई जस्तोसुकै ‘पोथी’ पढाएपनि, जस्तोसुकै रामनामी गराएपनि प्रश्न गर्नसक्ने सामथ्र्य भएकै कारण आज यो ठाउँमा उभिएका छौँ । त्यसैले मानव सभ्यतालाई हेर्दा त्यहाँ एउटा बनाउन सक्ने चेतना हुन्छ र भत्काउने चेतनापनि सँगसँगै हुन्छ । द्वन्द्ववाद शायद त्यही होला ।


छनोटको स्वतन्त्रता भयो भने ‘एजेन्सी’ बलियो भएरै जान्छ । तर, अर्को तर्क पनि गर्न सकिन्छ की पुँजिवाद वा बजारले छनोटलाई पनि खुम्च्याउन सक्छ । तर, छनोट खुम्चिनासाथ त्यहाँ पुनः अर्को उर्जा निस्किन्छ । कुनै संरचनाले अवरोध ग¥यो भने मान्छे त्यसलाई भत्काउनतर्फ लाग्छ । मानवको इच्छा, आकांक्षा, चाहना, सपनालाई कुनैपनि पर्खालले रोक्न सक्दैन । कुनैपनि संयन्त्रले छेक्न सक्दैन । ‘इन्डिभिजुअल एजेन्सी डिस्करभर’ गर्न समय लाग्ला, सामुहिक अभ्यासपनि होला । आधारभुत रुपमा मान्छेको खोज स्वतन्त्रताको हो । संरचनाले त नियन्त्रणमा राख्न खोज्छ । 


हाम्रोजस्तो ठाउँमा लोकतन्त्रको सम्भावना किन छ भने यहाँ विविधता छ । प्रश्न गर्ने शक्ति छ । फरकफरक परम्परा छन् । त्यसैले हामी साह्रै कठिन अवस्थामा छौँ जस्तो लाग्दैन ।  
समय, प्रविधि र बजार व्यवस्थाका कारण अहिलेको अवस्था फरक छ । हिजो सामान्य मान्छेले कथा, कविता लेख्नुपर्‍यो भने माध्यम धेरै थिएनन् । अहिले कम्प्युटर र प्रविधि आइसकेपछि त्यही संरचनाभित्र धेरै सुविधा प्राप्त छन् । मान्छेको पहुँच बढेको छ । छाप्ने मान्छेहरु निस्किएका छन् । हिजो रत्न पुस्तक भण्डार बाहेक काठमाडौँमा अर्को प्रकाशनगृह थिएन । आज ठाउँठाउँमा प्रकाशनगृह खुलेका छन् । ती किताबहरुले पुँजिवादकै कुरा गरिरहेका होलान्, हेजेमोनीकै कुरा गरिरहेका होलान् तर विविधता छ । महिला आज लेख्न सक्ने भएका छन् । आवाजहरुलाई विविधतायुक्त स्थान प्राप्त भएका छन् । त्यसैले चुनौति पेस गर्नसक्ने, प्रतिद्वन्द्विता गर्न सक्ने अवस्थामा छन् मान्छेहरु । तर, जोसँग प्रविधि छ, जो सँग पहुँच छ, त्यसले मान्छेलाई निर्देशित गर्नपनि खोजेको छ । तर, मैदान फराकिलो भएको छ । 


(पोखरामा आयोजित लिटरेचर फेस्टिवलमा शर्माद्वारा व्यक्त धारणामा आधारित)