Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

माधव नेपालको प्रस्तावमा ओली लचिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०६:१३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली साबिकको कमिटीबाट वरिष्ठताका आधारमा जिल्ला नेतृत्वको सूची टुंग्याउन लचक भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल मापदण्डविना जिल्ला नेतृत्व टुंग्याउन नहुने अडानबाट पछि नहटेपछि ओली लचिलो बनेका हुन् । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियाबारे बुधबार नेता नेपालसँग छलफल गरेका हुन् ।

यसअघि उनीहरूले अरू नेतासँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार छलफलमा अध्यक्ष ओलीले आफू वरिष्ठताको मापदण्डबाटै नेतृत्व टुंग्याउन तयार रहेको, तर सबै जिल्लामा एउटै मापदण्ड लागू गर्न भने नसक्ने प्रस्ताव गरेका छन् । सबै पक्षलाई विचार गरेर निर्णय गर्नुपर्ने उनको प्रस्ताव छ । सबै जिल्लामा साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई नेतृत्व दिनुपर्ने नेपालको अडान सम्बोधन गर्ने गरी एक दर्जनजति जिल्लामा उनीनिकटलाई अध्यक्ष÷सचिव बनाउन ओली लचिलो बनेको स्रोतले बतायो । पूर्वएमालेले ४५ र माओवादीले ३२ जिल्लाको नेतृत्व लिने समझदारी भइसके पनि ओली र नेपालबीच पूर्वएमालेले लिने जिल्ला नेतृत्वमा भागबन्डा मिलेको छैन । 

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सचिवालयले यसअघि पारित गरेको मापदण्डमाथि पुनर्विचार गरेर नयाँ मापदण्डका आधारमा टुंगो लगाउन सकिने धारणा राखेका छन् । राजकीय मामिला र जनप्रतिनिधिको जिम्मेवारीमा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी दिन नसकिने सचिवालयको निर्णयमा पुनर्विचार गर्दै आवश्यक पर्दा उनीहरूलाई पनि समेट्न सकिने गरी नयाँ मापदण्ड बनाउन सकिने प्रचण्डको प्रस्ताव छ । 

९ वैशाखभित्र एकीकरणको बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता नेपालसहित सचिवालयका नेताहरूसँग बेग्लाबेग्लै छलफल गर्दै आएका छन् । गत सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षले नेपालसँग छलफल गरेका थिए । पछिल्ला छलफल सकारात्मक बन्दै गएको नेताहरूको दाबी छ । 

नेपालसँग छलफलअघि अध्यक्षद्वय ओली र प्रचण्डले गत २९ चैतमा चन्द्रागिरि हिल्स रिसोर्टमा २३ घन्टे आवासीय बैठक गरेका थिए । छलफलमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । पूर्वएमाले र माओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ । यही मोडलभित्र रहेर एकता र कार्यविभाजनसमेत प्याकेजमै टुंग्याउने गरी नेकपा शीर्ष नेताहरूले छलफल गर्दै आएका छन् ।

तीन नेताका तीन प्रस्ताव
केपी ओलीको प्रस्ताव :वरिष्ठताका आधारमा एकताको मापदण्ड तय गर्न सकिन्छ । तर, सबै जिल्लाको हकमा एउटै मापदण्ड उपयुक्त हुँदैन, सबै पक्ष विचार गरेर एकता टुंग्याउनुपर्छ । 
प्रचण्डको प्रस्ताव : राजकीय मामिला र जनप्रतिनिधिलाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने गरी सहमति भएको मापदण्डमा पुनर्विचार गर्न सकिन्छ । एकता सहज हुन्छ भने उनीहरूलाई पनि जिल्ला नेतृत्वमा जिम्मेवारी दिन सकिने नयाँ मापदण्ड बनाउन सकिन्छ । 
माधव नेपालको माग : साबिकको कमिटीमा वरिष्ठ रहेकालाई जिल्ला कमिटीको नेतृत्व दिने गरी मापदण्ड बनाएर एकता टुंग्याऔँ ।