Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख ४ बुधबार १७:१२:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
२०७६ बैशाख ४ बुधबार १७:१२:००

कौशिलाकुमारी भट्ट डडेल्धुरा भागेश्वर गाउँपालिकाकी अध्यक्ष हुन् । नेपाल विद्यार्थी संघको राजनीति गरिरहेकी भट्ट गाउँ फर्केर गाउँपालिका अध्यक्ष निर्वाचित भएकी छिन् । सहरमा रहेका युवालाई गाउँ लैजाने, गाउँका युवालाई रोजगार र स्वरोजगार हुँदै आत्मनिर्भर बनाउने उनको सपना छ । कौशिलाले नयाँ पत्रिकाका रमेश सापकोटासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :


०७२ मा नेविसंघको केन्द्रीय सदस्य भएँ । अहिले गाउँ फर्केकी छु । युवाहरू गाउँबाट पढ्न काठमाडौं जान्छन् । उनीहरू काठमाडौंमै बस्छन्, गाउँ फर्किंदैनन् भन्ने आमबुझाइ छ । अवस्था पनि त्यस्तै छ । चाडपर्वबाहेक गाउँ नजाने युवाकै कारण पनि गाउँघर पछाडि परेको हो । शिक्षा, चेतना, विकास र समृद्धिलाई आधार मान्दा हाम्राजस्ता गाउँपालिका धेरै पछाडि परेका छन् । सहर पसेर आर्जन गरेको ज्ञान र सीपलाई गाउँको हितमा लगाउन सकिएको छैन । राजनीति गर्नेहरू आखिर फर्केर आउने गाउँमै हो । ढिलो आउने कि चाँडै भन्ने मात्रै हो । सांसद वा अरू अवसरका लागि गाउँमै आउनुपर्छ । अरू ढिलो गाउँ आउँथे, तर म छिटै आएँ । 

सहर पसेका युवा गाउँ आऊन्, आफ्नो सीप र क्षमता गाउँको हितका लागि प्रयोग गरून् भन्ने गाउँवासीको सपना छ । सानो मिहिनेतले उनीहरूका स–साना सपना पूरा हुन्छन् । सकेजति जनताको हितमा काम गर्न भनेर पनि आएको छु । गाउँका लागि सोच्नुपर्छ र परिश्रम गर्नुपर्छ भन्ने लागेको छ । यहाँ आएपछि गाउँवासीको माया पाएँ, अध्यक्ष चुनिएँ । राजनीति गर्ने जो–कोहीको पनि गाउँ, प्रदेश हुँदै केन्द्रको चुनाव लड्ने र प्रधानमन्त्री हुने सपना हुन्छ । तर, मानिस परिस्थितिको दास हो भन्छन् । यो समयको कुरा हो । स्थानीय तहमा अध्यक्ष हुने मौका पाएपछि शिक्षा, रोजगारी र समग्र विकासका लागि केही योजना बनाएको छु । 

गाउँमा कृषि र शिक्षा
ग्रामीण भेगको गाउँपालिका भएकाले शिक्षा र चेतनामूलक गतिविधिलाई प्रमुख विषय मानेर काम गरिरहेको छु । गुणस्तरीय शिक्षाका लागि २० जना स्वयंसेवी शिक्षकको व्यवस्था गरिएको छ । १० वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिएको छ । यस शैक्षिक वर्षदेखि कक्षा ९ बाट कृषिमा प्राविधिक शिक्षा थाल्दै छौँ । कृषि पढाउन सम्बन्धन दिएका छौँ । रकम विनियोजन गरेका छौँ । वैशाखदेखि कृषिकक्षा सुरु गर्दै छौँ । आधुनिक कृषि प्रणालीमा जोड दिएका छौँ । उत्पादन बढाएर र आम्दानी बढाउनुपर्छ भन्ने सोच छ । व्यावसायिक रूपमा कृषि–व्यवसायलाई अघि बढाउन स्थानीय तहबाट सहजीकरण गरिरहेका छौँ । पकेट एरिया विस्तार गर्ने, कृषकलाई आधुनिक प्रविधि हस्तान्तरण गर्दै जाने र व्यावसायिक कृषि प्रणालीमा कृषकलाई तालिम दिन सुरु गरेका छौँ । 

नो मोर होम डेलिभरी 
‘नो मोर होम डेलिभरी’ भन्ने उद्धरण नै राखेर हामीले होम डेलिभरीलाई न्यूनीकरण गर्ने अवस्था सिर्जना गरेका छौँ । सुरक्षित रूपमा सुत्केरी गराउन संवेदनशील अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा दिएका छौँ । गर्भवती भएका चारपटक चेकअप गर्न अस्पताल आउँदा एकपटकमा २० वटा अन्डा दिने व्यवस्था मिलाएका छौँ । स्वास्थ्य चौकीमा महिलाहरू नियमित आऊन्, गर्भावस्थाको नियमित परीक्षण होस् भनेर यो व्यवस्था गरेका हौँ । ‘भागेश्वर गाउँपालिकाको कोसेली गर्भवती महिलालाई’ हाम्रो अर्को कार्यक्रम हो । यो सरकारले व्यवस्था गरेभन्दा पृथक् कार्यक्रम हो । १५ सयबराबरको एक केजी घिउ, ज्वानोसहितका मसला सुत्केरीलाई दिन थालेका छौँ । स्थानीय तहमा शिक्षा र चेतनाको अझै कमी छ । लोभ देखाएर भए पनि उनीहरूकै स्वास्थ्यसँग जोडिएका विषयमा बानी पार्न लागेका हौँ । हेल्थपोस्टसम्म आउन सकून्, हेल्थपोस्टसम्मै आएर सुरक्षित रूपमा सुत्केरी गराउन सकून् भन्ने हाम्रो प्रयत्न हो । 

स्वयंसेविकालाई मोबाइल वितरण गरेर महिलाको गर्भको अवस्थाबारे जानकारी लिने व्यवस्था मिलाएका छौँ । मोबाइलबाट गर्भवती भएकाको मिति, नियमित चेकअप भए–नभएको, नगरेको भए किन नगरेको, डेलिभरी कहिले हुने हो भन्ने मेसेज दिने व्यवस्था मिलाएका छौँ । नियमित चेकअपमा कोही आएनन् भने स्वयंसेवीले उनीहरूलाई बोलाउनेछन् । नियमित फलोअप गर्ने र उनीहरूलाई चेकअपमा आउने वातावरणका लागि प्रशिक्षण दिइसकेका छौँ । यसमा प्रदेश सरकारको पनि सहयोग छ ।

हाम्रै देशको पूर्वी भेगमा महिला र पुरुष बराबर भन्ने विषय आइसक्यो । तर, पश्चिमको समाजमा महिला भनेको महिला नै हो भन्ने मानसिकता छ । यसमा सुधार ल्याउन सक्रिय छौँ ।

छाउपडीविरुद्ध अभियान
जातीय छुवाछुत मात्रै होइन, महिनावारी (छाउ)मा पनि उस्तै छुवाछुत छ । महिनावारी भएका महिला बाटोमा निर्धक्क हिँड्न नसक्ने मनोविज्ञानमा छन् । डराएर र लजाएर हिँड्नुपर्ने अवस्था छ । हामीले ‘मर्यादित छुई वर्ष अभियान– २०७५’ नामक होर्डिङ बोर्ड बनाएर सचेतना फैलाएका छौँ । यस वर्ष गरेको फरक अभ्यासले निकै चर्चा पायो । छाउप्रथाका विषयमा रेडियो कार्यक्रम बनाएर चेतना फैलाउँदै छौँ । चेतनामूलक वृत्तचित्र बनाउन एउटा संस्थासँग सहमति गरिसकेका छौँ । 

यो महिनाभित्रै एटिएम सिस्टमबाट स्यानिटरी प्याड वितरण गर्दै छौँ । गाउँपालिकानजिकको विद्यालयमा प्याड वितरणका लागि मेसिन मगाएका छौँ । एक महिनाभित्रै यो कार्यक्रम सुरु हुन्छ । गाउँपालिका र हेल्थपोस्टनजिकको विद्यालयमा नमुना कार्यक्रमका रूपमा सुरु गर्दै छौँ । यहाँ सफल भयौँ भने अन्य ठाउँमा पनि विस्तार गर्छौँ । महिलाले सधैँ प्याड बोकेर नहिँड्दा समस्या नपरोस् भनेर एटिएम सिस्टमबाट स्यानिटी प्याड वितरण गर्न लागेका हौँ । 

उद्यमशील बनाउने पहल
महिला र पुरुषलाई उद्यमशील बनाउने सोच छ । महिलाका नाममा उद्योग दर्ता गर्दा कर कम तिनुपर्ने लोभले मात्रै केही उद्योग महिलाको नाममा दर्ता भएका छन् । तर, कृषिबाहेक अरू उद्यममा महिला छैनन् । अल्लोको झोला, कोटसहितका सामग्री बनाउन केही सक्रिय छन् । युवाहरूलाई मोबाइल मर्मत, मोटरसाइकल मर्मत, वाइरिङ, सिलाइको तालिम पनि दिएका छौँ । तालिम लिन आउने, तर उद्यमशील बन्न नचाहनेको संख्या ठूलो छ । गाउँपालिकामा यस्ता स्वरोजगारका कार्यक्रम विभिन्न संस्थामार्फत सरकारले नै गरेको छ । तर, यसको नतिजा राम्रो आइरहेको छैन । 

युवा रोजगारीको सपना
हाम्रो प्राथमिकता शिक्षा र चेतनामा मात्र सीमित छैन । बाटोघाटो निर्माण हाम्रो प्राथमिकतामा छ । गाउँगाउँसम्म राम्रा सडक पु¥याउन लागिपरेका छौँ । योसँगै राम्रो पठनपाठन गर्ने विद्यालय, राम्रा सडक पूर्वाधार, व्यवस्थित बस्ती, सबैलाई रोजगार बनाउने लक्ष्य पूरा गर्न सक्रिय छौँ । 

आवश्यकता असीमित र साधन–स्रोत सीमित हुन्छन् । भागेश्वर गाउँपालिकालाई समृद्ध बनाउन यहाँका बासिन्दा आर्थिक रूपमा बलियो हुनुपर्छ । तर, मलाई थाहा छ, ‘यो देशका प्रधानमन्त्रीले पूरा गर्न नसकेका सबै काम गाउँपालिकाको एउटा अध्यक्षले पूरा गर्न सक्दैन ।’ हामीले आफ्नो तहबाट सकेको प्रयत्न गर्दै छौँ । हाम्रोमा सबैभन्दा ठूलो समस्या बेरोजगारीको छ । पढेकाले पनि प्रमाणपत्र सिरानी हालेर सुत्नुपर्ने अवस्था छ । गाउँका मान्छे अमेरिका र अस्ट्रेलिया जान आर्थिक क्षमताले सम्भव छैन । साउदी, कतारमा मात्र राम्रो आय छैन । भारतलगायत खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने अवस्था छ ।

अझै पनि बालबालिका चार–पाँच घन्टा हिँडेर विद्यालय जानुपर्ने विवशता छ । विद्यालय टाढा भएकाले समयमा पढाइ पूरा नगर्ने र छोड्ने क्रम घटेको छैन । यति हुँदाहुँदै पनि युवाहरूलाई रोजगारी दिने, गाउँमै राख्नुपर्छ भन्ने सोच छ । हामी राजनीति गर्ने मान्छे समयमै र छिटै सेवाग्राहीका काम गर्न पाए हुन्थ्योजस्तो लाग्छ । तर, केन्द्र, प्रदेश, स्थानीय तहले प्रयोग गर्ने अधिकारका विषय टुंगिसकेको छैन । यो टुंगिएपछि हामीलाई काम गर्न थप सहज हुने अपेक्षा गरेका छौँ । गाउँ फर्केर मैले बुताले भ्याएसम्म गर्न खोजिरहेको छु ।