१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किरणजंग कुँवर
२०७६ बैशाख ३ मंगलबार २०:२६:००
Read Time : > 6 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

प्रहरीः नागरिकका समस्याको ‘पानासिया’

Read Time : > 6 मिनेट
किरणजंग कुँवर
२०७६ बैशाख ३ मंगलबार २०:२६:००

०६३ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका किरणजंग कुँवर हाल प्रहरी नायब उपरीक्षक (डिएसपी)का रूपमा प्रहरी प्रधान कार्यालयमा छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘नागरिक मैत्री प्रहरी सेवा’ लाई उच्च सांगठनिक प्राथमिकतामा राखी ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा ल्याएपछि यस कार्यक्रमको व्यवस्थापन र मुल्याङ्कन गर्ने टिममा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन । राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लाइबेरियामा प्रहरी सल्लाहकारका रूपमा काम गर्दा उच्च कार्यक्षमताका आधारमा समन्वयकर्ताको जिम्मेवारी पाएका थिए । किरणजंगले नयाँ पत्रिकासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा:

प्रहरीसँग डराउने आम जनमानसको पृष्ठभूमिबाट उठेर प्रहरी नायव उपरीक्षक सम्मको यात्रामा आई पुग्दा प्रहरी सेवाप्रतिको मेरो  दृष्टिकोणमा निरन्तर परिवर्तन र विकास भईरहेको छ । सानो छँदा प्रहरीहरू लाठी लिएर गाउँमा गस्ती निस्केको देखिन्थ्यो । मेरो बाल मस्तिष्कमा प्रहरी आम मानिस भन्दा फरक र डर लाग्दो पात्रको रूपमा बिम्बित थियो । मैले कहिल्यै नभोगेको प्रहरी दैत्य कथामा सुनेको पात्र जस्तो लाग्थ्यो ।  

त्यसबेला मलाई थाहा थिएन कुनै दिन त्यही बिम्बलाई मैले ‘आदर्श सेवा’ को रूपमा पहिचान र अवलम्बन गर्छ‘ भनेर । प्रहरी सेवामा १२ वर्षको मेरो अनुभव सामान्य जागिरे मानसिकताबाट शुरु भई अपराध रोकथाम र अनुसन्धानका विविध जिम्मेवारीहरू सम्हाल्दै प्रहरी सेवाको संस्थागत र प्रणालीगत सुधारसम्म तथा  सांगठनिक नेतृत्वको दूरदृष्टि र प्राथमिकतालाई रणनीति र योजनामा रूपान्तरण गरी कार्यान्वयन गर्ने र साथ साथै आदर्श प्रहरी संगठनको लक्ष्य प्राप्तिका लागि स्वयं आफ्नो दृष्टिकोण विकास गर्ने क्रममा रहेको छ । 

आम बुझाइमा प्रहरी भनेको अपराध पत्ता लगाउने, अनुसन्धान गर्ने, अपराधीहरूलाई पक्राउ गर्ने र शान्ति सुरक्षा कायम गर्ने संयन्त्र हो । साधारण अर्थमा व्याख्या गरिएको यस वाक्यमा प्रहरीका असाधारण र असीमित जिम्मेवारीहरू, अधिकारहरू र जन अपेक्षाहरू जोडिएका छन् । भनिन्छ ‘गर्भदेखि चिहानसम्म’ आवश्यक पर्ने र सेवा दिने प्रहरी हो । अपराध रोकथाम र अनुसन्धान गर्ने ‘सुयोग्य साधन’ को रूपमा स्थापना भएको नेपाल प्रहरीको सन्दर्भमा पनि नेपालको संविधान र विभिन्न ऐन, कानुनहरूले एक हजार भन्दा बढी जिम्मेवारीहरू निर्दिष्ट गरेका छन् । मेरो अनुभवमा नेपाल प्रहरीले तीन प्रकारका जिम्मेवारीहरु निर्वाह गरिरहेको छन् । 

 पहिलो, नेपालको संविधान र प्रहरी ऐन तथा नियमहरुले निर्देशित गरेका जिम्मेवारीहरु ।  दोश्रो, राज्यका अन्य निकायहरुका जिम्मेवारीहरुलाई सहजिकरण गर्ने र त्यस्ता निकायहरुको अनुपस्थितिमा उल्लेखित जिम्मेवारीहरुलाई प्राथमिक सम्बोधन गर्ने । र तेश्रो, कसको जिम्मेवारी हो भन्ने प्रष्ट रुपमा नखुलेको अवस्थामा राज्यको प्रतिनिधिको रुपमा सम्बोधन गर्न‘पर्ने जनअपेक्षा अनुरुपका परिस्थितिजन्य जिम्मेवारीहरु । यस परिप्रेक्ष्यमा नेपाल प्रहरी आम नागरिकका अपेक्षाहरूको असीमितता र साधनश्रोतहरुको सीमितताका बीच आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

यदाकदा केही प्रहरी कार्यहरु आलोचित नभएका पनि होईनन, तथापी असंख्य सकारात्मक योगदानको अगाडी गौण छन् । सुधार एक निरन्तर प्रक्रिया हो र नेपाल प्रहरीले पनि विगतका उत्कृष्ट अभ्यासहरुको पुनरावृत्ति गर्दै  निरन्तर रुपमा सुधारका नीतिहरु अवलम्बन गरिरहेको छ । केही अपवादहरूलाई लिएर समग्र संगठनप्रति नकारात्मक धारणा बनाउनु अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिएका पर्दा पछाडिका हजारौँ नायकहरुको लागि अन्यायपूर्ण हुन जान्छ । परिवर्तन व्यवस्थापन र सुधारको लागि गृह प्रशासन सुधार कार्ययोजना र प्रहरी महानिरीक्षकबाट जारी गरिएका सांगठनिक प्राथमिकताहरुको आधारमा नेपाल प्रहरीले निरन्तर रुपमा प्रगतिशिल अग्रसरता लिईरहेको छ ।  

अवसर
व्यापकता र विविधता प्रहरी सेवाको महत्वपूर्ण विशेषता हो । प्रहरी सेवामा क्षेत्रहरुको विविधता अनुरूप अवसरहरू पनि प्रचुर मात्रामा रहेका छन् । आधुनिक प्रहरी सेवाको दायरा आन्तरिक सुरक्षामा मात्र सीमित नभएर अन्तर्देशिय, क्षेत्रिय हुँदै अन्तर्रा्ष्ट्रिय स्तरसम्म विस्तार भएको छ । जिम्मेवारीको दृष्टिकोणले गौरव गर्न सकिने र अधिकतम पेशागत सन्तुष्टि प्राप्त गर्न सकिने सेवा प्रहरी सेवा नै हो । दुरदराजसम्मका आम नागरिकमा राज्यको उपस्थितिको आभाष गराउने तथा पीडितलाई न्याय पूर्ण राज्यको प्रथम अनुभूति गराउने संयन्त्र प्रहरी हो ।

अपराध अनुसन्धान तथा सूचना संकलन (लागूऔषध, आतंकवाद, संगठित अपराध, साईवर अपराध, मानव बेचबिखन, महिला तथा बालबालिका सेवा, अख्तियार दुरुपयोग अनुसन्धान, जनसम्पर्क) सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन,  विशिष्ट व्यक्तिको सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, दङ्गा नियन्त्रण, विपद व्यवस्थापन, सीमा तथा राजमार्ग सुरक्षा, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, र प्रशासन तथा व्यवस्थापनका विविध क्षेत्रहरु जस्तै कानून, आर्थिक प्रशासन, चिकित्सा, विधिविज्ञान, ईन्जिनियरिङ्ग, कम्प्युटर, सवारी आदि विविधतापूर्ण जिम्मेवारीहरु प्रहरी सेवामा रहेका छन् ।

सेवा प्रवेश पश्चात पनि आफ्नो अभिरुची अनुरुप प्रशिक्षण लिई विभिन्न समुह तथा उपसमुहमा रहेर सेवा गर्ने अवसर प्राप्त हुन्छ । व्यक्तिगत अनुभवमा मैले अपराध रोकथाम र अनुसन्धान, मानवश्रोत व्यवस्थापन, प्रशिक्षण, अख्तियार दुरुपयोग अनुसन्धान, प्रतिआतंकवाद तथा नेपाल प्रहरीको अन्वेषण, योजना तथा विकासको क्षेत्रमा जिम्मेवारीहरू वहन गर्ने अवसरहरु प्राप्त गरेको छु । प्रहरी सेवाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत योगदान गर्ने अवसर प्राप्त हुन्छ ।

संयुक्त राष्ट्र संघीय मिशनहरुका विभिन्न पदहरुमा छनौट भई अन्तर्रा्ष्ट्रिय प्रहरी सल्लाहकारको रुपमा द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनार्थ र स्थानीय प्रहरी र कानून कार्यान्वयन गर्ने ईकाईहरुको क्षमता अभिवृद्धिको लागि योगदान गर्ने अवसर समेत प्राप्त हुन्छ । मिशनको जिम्मेवारी अन्तर्रा्ष्ट्रिय अनुभव र सम्मानका साथै आर्थिक दृष्टिकोणबाट पनि आकर्षक मानिन्छ ।

ईन्टरपोल लगायतका अन्तर्रा्ष्ट्रिय तथा क्षेत्रिय सुरक्षा संगठनहरुमा सहभागी भई अन्तर्दे्शिय सुरक्षा व्यवस्थापनमा कार्य गर्ने अवसरहरु समेत प्रहरी सेवामा विद्यमान छन । मैले संयुक्त राष्ट्रसंघीय मिशन, लाईबेरीयामा करिब ३० महिना प्रहरी सल्लाहकारको रुपमा कार्यरत रही सुरक्षा संक्रमण व्यवस्थापन, लाईबेरीयाको राष्ट्रिय प्रहरी र अध्यागमनको क्षमता अभिवृद्धिको क्षेत्रमा योगदान गर्ने अवसर प्राप्त गरेँ ।

व्यवसायिक सन्दर्भमा अमेरिका, बेलायत, आयरल्याण्ड, फ्रान्स, जापान, लाईबेरिया, घाना र भारतको भ्रमण गर्ने अवसर समेत प्राप्त गरेको छु । मेरो राष्ट्रिय अन्तर्रा्ष्ट्रिय अनुभवमा हरेक राष्ट्रले प्रहरी सेवालाई अत्यन्त महत्व र उच्च प्राथमिकताका साथ राज्यको सुशासनको प्रतिकको रुपमा अवलम्बन गरेको पाएको छु र आम नागरिकहरुले पनि प्रहरी जुनसुकै समस्याको पनि समाधान गर्ने “पानासिआ” को रूपमा विश्वास गरेको पाएको छु ।


राज्यको नीति र प्रहरी
नेपाल प्रहरी निरन्तरका राजनैतिक संक्रमणको क्रममा राज्य प्रणाली र जनअपेक्षा अनुरुप परिष्कृत हुँदै निरन्तर रुपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ  । यस क्रममा परिवर्तनलाई आत्मसात र व्यवस्थापन गरी समयानुकुल सुधार गर्ने क्षमता निरन्तर रुपमा प्रदर्शित गर्दै आएको छ । राणा शासनकाल, २००७ सालमा प्रजातन्त्रको स्थापना, निर्द्लिय पञ्चायति व्यवस्था, बहुदलिय प्रजातन्त्रको पुनर्स्थापना, दशबर्षे सशस्त्र द्वन्द्व, दोश्रो जनआन्दोलन र तत्पश्चात स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र लामो संक्रमणकाल पश्चातको नेपालको संविधान, २०७२ सम्मको राजनीतिक संक्रमणहरुको निरन्तरतामा नेपाल प्रहरी विभिन्न आरोह अवरोह हरु छिचोल्दै अगाडी बढिरहेको छ ।

बर्तमान परिप्रेक्ष्यमा केन्द्रिकृत शासन प्रणालीबाट राज्यको पुनर्संरचना अनुरुप संघीय प्रणालीमा रुपान्तरणको प्रक्रियामा रहेको छ । बहुदलिय प्रजातन्त्रको पुनर्स्थापनापछि प्रजातान्त्रिक प्रहरीको अवधारणा अनुरुप गतिशिल भैरहेको संगठन १ दशक लामो सशस्त्र द्वन्द्वको क्रममा परिस्थिति अनुरुप “सैन्य भुमिका” मा केन्द्रित हुन बाध्य भयो र सुधार र सुदृढीकरणका अन्य पाटाहरू गौण रहन पुगे ।

त्यस पश्चातको ‘नेपालको अन्तरिम संविधान, २०६३’ देखि ‘नेपालको संविधान, २०७२’ सम्मको अर्को १ दशकको संक्रमणकालिन अवस्थामा सुरक्षा व्यवस्थापनको क्रमसँगै महानगरीय प्रहरीको अवधारणा, प्रविधि र “ईन्टेलिजेन्स” मा आधारित विशिष्टिकृत अनुसन्धान प्रणालीहरुको स्थापना र विकास भएतापनि नविनतम अपराध प्रवृत्तिहरु र सुरक्षा चुनौतिहरु को सन्दर्भमा सांगठनिक क्षमता अझै पनि असमान रूपले पछाडि छ । तथापी, संगठित अपराध, विभिन्न भूमिगत सशस्त्र गतिविधिहरु, जघन्य र व्यवसायिक अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले उल्लेखनीय सफलता प्राप्त गरेको छ जुन विकसित देशका प्रहरी संगठनहरुको सफलताको दर सँग तुलना योग्य रहेको तथ्याङ्कले दर्शाउँदछ । 

प्रहरीको सञ्चालन, सुपरीवेक्षण, समन्वय र समायोजन सम्बन्धी संघीय कानूनहरु निर्माणको चरणमा रहेकोले अझै पनि नेपाल प्रहरी एक प्रकारको संक्रमणकालको अवस्थामा रहेको छ । ६ दशक भन्दा अगाडीको ‘प्रहरी ऐन’ को अधिनमा सञ्चालन भईरहेको नेपाल प्रहरीलाई अब बन्ने नयाँ संघीय कानूनहरुले सुधार र सुदृढिकरणको अग्रगमन तर्फ डोर्याउने आधारको रुपमा मार्ग्निर्देशन गर्नेछन । बैज्ञानिक र भौतिक प्रमाणमुखी अनुसन्धानको अनिवार्यता, मानव अधिकारको पालना, संरक्षण र प्रबर्धनको जिम्मेवारी तथा पीडित, पीडक, जोखिममा रहेका समुह, महिला, बालबालितका तथा समग्र समुदायलाई निश्चित मापदण्ड र अपेक्षा अनुरुपको सेवा प्रवाह गर्न‘पर्ने जिम्मेवारी र अवस्थितिमा रहेको प्रहरी संगठन राष्ट्र निर्माणको सन्दर्भमा तीनै तहका सरकारहरुको पहिलो प्राथमिकतामा पर्दछ ।
समग्र सपना
मेरो दृष्टिकोणमा साँगठनिक क्षमता, जनशक्तिको मनोबल र समाजसँगको अन्तरक्रिया प्रहरी सँगठन सुधारका तीन महत्वपूर्ण र व्यापक आधारहरु हुन । यी आधारहरुको अस्तित्व र प्रभावकारिता पृथक नभै एक अर्कामा अन्तर्निर्भर रहेको हुन्छ । संख्यात्मक वृद्धि मात्र सांगठनिक क्षमताको मापक किमार्थ हुन सक्दैन ।

विद्यमान आवश्यकता सम्बोधन गर्ने प्रकृतिको गुणात्मक, विशिष्टिकृत, साधनश्रोत, प्रविधि युक्त र कार्यगत स्वायत्तता सहितको प्रहरी आधुनिक समाजको आवश्यकता हो । जसरी प्रहरीले “कानूनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सिद्धान्त अनुरुप कानून कार्यान्वयन गर्दछ प्रहरी कार्य र अनुसन्धानको क्रममा “कुनै पनि साधनश्रोत वा क्षमताको अभावमा प्रहरी निष्क्रियता वा असफलता क्षम्य हुँदैन” । यस्तो विरोधाभाषपूर्ण परिस्थितिमा पनि प्रहरी पूर्ण रुपमा जबाफदेही हुनै पर्दछ र भएको पनि छ । यसर्थ, अन्तर्दे्शिय, संगठित, जटिल र उच्च प्रविधियुक्त अपराधका नव प्रवृत्तिहरू विरुद्ध उच्च मनोबलपूर्ण, विशिष्टिकृत र आधुनिक प्रहरी सेवाको तादम्यता अत्यावश्यक छ ।

प्रहरी जनशक्तिको उच्च मनोबल संगठनको प्रभावकारिताको लागि अमूर्त तर अपरिहार्य तत्व हो । अधिकांश प्रहरी कर्मचारीहरुको उत्प्रेरणाको श्रोत आफ्नो पेशागत सम्मान र आश्रित परिवारको आधारभूत आवश्यकता (गास, बास, कपास, स्वास्थ्य र शिक्षा) को परिपूर्ति नै हो । न्यूनतम तलब राशनको भरमा २४ घण्टा जुन मनोबल जुटाएर प्रहरी जनशक्ति परिचालित छ त्यसमा सेवाभाव र राष्ट्रप्रेमको उल्लेखनिय भूमिका रहेको छ ।

प्रहरी सेवालाई यसको कार्य प्रकृति र जोखिम अनुरुप राज्यप्रणालीका सामान्य प्रशासनिक प्रणाली भन्दा विशिष्ट ढंगले सम्बोधन गर्न‘पर्ने आवश्यकता छ । नेपाल प्रहरीले सांगठनिक क्षमता अनुरुप अमर र अशक्त परिवार, पूर्व प्रहरी र बहालवाला प्रहरी कर्मचारी र परिवारहरुको लागि विभिन्न कल्याणकारी योजनाहरु सञ्चालन गरिरहेको छ । शिक्षा, स्वास्थ्य र आधारभूत आवासका न्यूनतम सुविधाहरु विस्तार गरी प्रहरी र तिनमा आश्रित परिवारहरूको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकेमा उच्च मनोबलयुक्त र पेशागत सुरक्षा सहितको प्रहरी सेवाको परिकल्पना साकार गर्न सकिन्छ । 

तेश्रो र महत्वपूर्ण आधार प्रहरी र समुदाय बिचको अन्तर्क्िरया हो । प्रहरी सँगठनको सुधार संगसंगै समुदायको सुरक्षा सचेतना र कर्तव्य पालनाको संस्कार पनि सँगसँगै विकसित हुनुपर्दछ तबमात्र शान्तिपूर्ण र सुरक्षित समाजको परिकल्पना गर्न सकिन्छ । बर्तमान परिप्रेक्ष्यमा यो आयाममा केही असमानता देखिएका छन । प्रहरी कार्य र अनुसन्धानलाई यस संगठनको एकल जिम्मेवारीको रुपमा बुझ्ने प्रयास गर्न‘ सुरक्षा प्रणालीको अवमुल्यन मात्र हुनेछ ।

समुदायको रचनात्मक सहयोग, सहभागिता र साझेदारी बिना अपराध रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान हुन सक्दैन । यही परिप्रेक्ष्यमा ‘सुरक्षा व्यवस्थापनमा जनसाझेदारी अभिवृद्धि गर्ने’ राष्ट्रिय सुरक्षा नीति, गृह प्रशासन सुधार कार्ययोजना र प्रहरी महानिरीक्षकबाट जारी गरिएका सांगठनिक प्राथमिकता अनुरूप नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरेको छ । कार्यक्रम सञ्चालनको छोटो अवधिमा देशभर स्थानीय तह, नेपाल प्रहरी, सामाजिक संघसंस्था, विद्यालय र समुदायको सहभागितामा १७,००० भन्दा धेरै साझेदारीका संरचनाहरु जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरसम्म स्थापना भई क्रियाशिल रहिआएका छन ।

अपराध रोकथाम र सामुदायिक सुरक्षा सचेतना अभिवृद्धिको लागि सञ्चालित यस कार्यक्रमले विकास र सुरक्षालाई अन्तर निर्भर अवधारणाको रूपमा आत्मसात् गरेको छ । यसको मौलिकता र व्यापकताको कारण यस कार्यक्रमले अन्य प्रहरी संगठनहरुका लागि सामुदायिक प्रहरीको ‘नमुना’ रणनीतिको रुपमा स्थापित हुने सम्भाव्यता बोकेको छ ।

परिवर्तन चुनौतीपूर्ण हुनुका साथै सुधार र विकासका प्रचुर सम्भाव्यताहरू समेत बोकेको हुन्छ । नेपाल प्रहरीको सन्दर्भमा पनि संघीयता र नयाँ मुलुकी फौजदारी कानूनहरुको कार्यान्वयनले यस्तै सम्भाव्यताहरू बोकेको छ । अवको परिप्रेक्ष्यमा ‘अपराधी’ होईन ‘अपराध’ नै समस्या हो र आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुलाई समुदाय समेतको सहभागिता, सहकार्य र साझेदारीमा सामाजिकीकरणको माध्यमबाट असल नागरिकको रूपमा समाजमा रूपान्तरण गर्ने सुधारात्मक प्रणाली अवलम्वन गरेको हाम्रो फौजदारी न्याय प्रणालीको कार्यान्वयनमा नेपाल प्रहरीलाई थप जिम्मेवार बनाएको छ ।

नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” अवधारणाको आधारभूत पूर्वाधार नै सुदृढ आन्तरिक सुरक्षा व्यवस्था हो । प्रहरी शान्ति सुव्यवस्था कायम गर्ने संयन्त्र मात्र नभएर राज्य प्रणालीको समग्र सञ्चालनको वातावरण तयार गर्ने संयन्त्र भएकोले प्रहरीको सुधार र क्षमता अभिवृद्धिलाई सुशासनको प्राथमिकतामा राख्नु अपरिहार्य रहेको छ ।