मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रवीण बुढाथोकी
२०७६ बैशाख २ सोमबार २२:३९:००
Read Time : > 5 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

रंगमञ्चको आवाज

समृद्धिका युवा सारथि

Read Time : > 5 मिनेट
प्रवीण बुढाथोकी
२०७६ बैशाख २ सोमबार २२:३९:००

विमल सुवेदी थिएटर भिलेज, नेपालका संस्थापक तथा कला निर्देशक हुन् । उनी भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा थिएटर टेक्निक, डिजाइन र निर्देशनको क्षेत्रमा विशिष्टीकृत अध्ययनको मौका पाउने नेपाली हुन् । संसारभरका चर्चित निर्देशक र नाटक डिजाइनरसँग काम गरेको अनुभव उनीसँग छ । उनले साउथब्यांक सेन्टर, लन्डन, भारत रङ्ग महोत्सव, पाकिस्तान, चीन र जर्मनीका नाटक महोत्सवमा भाग लिएका छन् । विमलले नयाँ पत्रिकाकाप्रवीण बुढाथोकीसँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा:


नाटक, समाजको कथा टिपेर समाजलाई पस्किने विधा हो । नाटककारका लागि स्रोत र उपभोक्ता दुवै समाज नै हो । तर, कतिपय विषयको कलात्मक महत्वलाई जीवित राख्ने कि धेरै नै व्यवसायीकरण गर्ने भन्ने चुनौती छ । किनभने यो पेसामा लागेर आत्मनिर्भर पनि हुनुपर्ने छ । विश्वव्यापीकरणको समयमा हामीले एउटा सानो ठाउँमा सानो तरिकाले मात्र सोचेर हुँदैन । विश्व हिँडिरहेको बाटोबारे अपडेट हुनुपर्छ । 
हाम्रो नाटक अरूले किन हेर्ने ? यसका लागि आफ्नो पहिचान समेट्दै मौलिक बनाउन जरुरी छ । यसका लागि नाटकमा आफ्नो ग्रामीण संस्कृति छोड्नुहुँदैन र विश्व कहाँ छ भन्ने पनि भुल्नुहुँदैन । 
आफ्नो पहिचानसँगै हामीले आफ्नो कामलाई अन्तर्राष्ट्रियकरण गर्न सक्यौँ भने गाउँ पनि जोडिने भयो, नेपाल पनि जोडिने भयो । समग्रमा भन्दा विश्व नै जोडिने भयो । नेपालमा अन्तर्राष्ट्रिय स्तरको काम गर्न सम्भव छ, हामी त्यसको सुरुवातका लागि सक्षम छौँ । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई जुन दृष्टिकोणले हेरिन्छ, त्यो अब परिवर्तन हुनुपर्छ । राजनीति केन्द्रबिन्दुमा रहे पनि ‘आर्ट मुभमेन्ट’बाट मात्र यो सम्भव छ । 
नेपालीको साख अन्तर्राष्ट्रिय रूपमा त्यति राम्रो छैन । खाडी, मलेसियामा मात्र होइन, युरोप अमेरिकातिर पनि नेपाललाई ‘श्रमिक पठाउने देश’को रूपमा लिइन्छ । उनीहरूको लेभलबाट हामी पनि प्रतिस्पर्धा गर्न सक्छौँ भनेर बुझाउन कनेक्टिभिटीलाई अझ बढाउन जरुरी छ । नाटक साटासाट गरेर पनि एकअर्कालाई नयाँ आयाममा सम्बन्ध विस्तार गर्न र सँगसँगै अघि बढ्न मद्दत गर्छ । हामीले भर्खरै अन्तर्राष्ट्रिय नाटक महोत्सव ग¥यौँ । पाँच–सात थिएटर सेन्टर मिलेर गरेका थियौँ । थिएटर भिलेज पनि आयोजक थियो । नाटकलाई काठमाडौंबाट नेपालका अरू भागमा पनि कसरी जोड्न सकिन्छ भनेर पहिलोपटक अभ्यास गरेका थियौँ । काठमाडौंसँगै पोखरा, विराटनगर र जनकपुरमा समानान्तर रुपमा महोत्सव ग¥यौँ । महोत्सवमा नेपालसहित १० देशका नाटक देखाइएको थियो । त्यसमा रहेका एक–डेढ सय विदेशी कलाकार पहिलोपटक नेपाल आएका थिए । ती विदेशी कलाकारमा नेपालप्रतिको बुझाइमा पक्कै परिवर्तन भयो होला भन्ने हामीले विश्वास लिएका छौँ । 
मैले नाटक सुरु गर्दा (सन् २००३) राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रतिष्ठान मात्र थियो । निजी क्षेत्रका नाटकघर थिएनन् । सर्वनाम त थियो, तर उसको आफ्नै नाटकघर थिएन । त्यो समय सांस्कृतिक संस्थान र प्रज्ञा प्रतिष्ठानले वर्षमा एक–दुईवटा नाटक महोत्सव गर्थे । त्यहीँ हामी नाटक देखाउँथ्यौँ । त्यसबाहेक हामीले गर्ने भनेको सडक नाटक नै थियो । अहिले भने काठमाडौंमै निजी क्षेत्रका ६÷७ नाटकघर खुलिसकेका छन् । तर, नाट्यमा अझै भविष्य सुरक्षित छैन, स्ट्रगलकै चरणमा छ । देशको अहिलेको परिस्थितिमा व्यक्ति आपैmँले पैसा हालेर नाटक चलाउनु भनेको विश्वकै नमुना उदाहरण हो । हामी ५–१० वर्ष लागेपछि बल्ल कामको ‘रिजल्ट’ खोज्थ्यौँ । तर, अहिलेका मान्छेलाई दुई–चार महिनाभित्रै रिजल्ट चाहिन्छ । उनीहरूमा धैर्य नै छैन । किनभने उनीहरूसँग विकल्प पनि धेरै छ । जुन चरणमा मैले स्ट्रगल गरेको थिएँ (सन् २००३), अथवा मभन्दा अघिल्लो पुस्ताहरूले पनि जसरी सुरु गर्नुभयो, त्यो भन्दा मेरो समयमा केही राम्रो थियो होला । तर, अहिले तुलना गर्दा मेरो संघर्षको समय खराब नै लाग्छ । अँध्यारो समयजस्तै लाग्छ । तर, त्यही समयमा पनि म गर्छु भनेर लागेको हुनाले अहिले कति नराम्रो भयो भन्ने विषयले खासै निराश गराउँदैन । कारण हो, म पहिल्यै तयार थिएँ । अहिले त धेरै नै राम्रो छ, सोचेभन्दा धेरै राम्रो । 

सस्तोमा नाटक 
विदेशमा फिल्मको भन्दा नाटकको टिकट धेरै महँगो हुन्छ । र, महँगो नाटकको टिकट दर पनि महँगो नै हुन्छ । त्यहाँ स्तरअनुसारको थिएटर हल र टिकट दर हुन्छ । तर, हामीकहाँ जति नै महँगोमा नाटक बनाए पनि अर्थात् जति क्वालिटीको नाटक भए पनि टिकट दर एउटै हुन्छ । त्यसले क्वालिटी कन्ट्रोल हुने भयो । बाध्यता छ, सस्तोमा नाटक बनाउनुपर्छ ।
युरोपतिर सिनेमा हल मज्जाले चल्दैनन्, तर नाटकघर सधैँ हाउसफुल हुन्छ । गल्लीगल्लीमा नाटकघर छन्, तै पनि  टिकट पाउन एकदमै गाह्रो पर्छ । त्यहाँ प्रायः सबैले नाटक हेर्छन् । किनभने, नाटक मनोरञ्जनको साधन होइन, बौद्धिक कला हो, चेतनाको स्तर वृद्धि गर्छ भन्ने उनीहरूले बुझेका छन् । 
नेपालमा पनि अहिले कलाकार, समाज र दर्शकको चेतनाको स्तर बढेको छ, यसकारण पनि नाटकको भविष्य छ । युवा संलग्न हरेक क्षेत्रले विस्तारै विकास गर्छ, त्यो स्थानान्तरण पनि हुन्छ र परिवर्तित पनि । युवा संलग्न नभएको क्षेत्र विस्तारै एउटा कालखण्डमा पुगेर मर्छ । थिएटरमा अहिले यति धेरै युवाका सहभागिता छ कि त्यसैले गर्दा नेपालमा थिएटरको भविष्य ‘गोल्डेन’ छ । 

धैर्य छैन
दुई–चार महिना, एक–दुई वर्ष नाटक गर्दैमा स्थायित्व खोजेर हुन्छ ? इन्जिनियर बन्न कति वर्ष पढ्नुपर्छ ? २०–२२ वर्ष त पढ्नुपर्छ । पढाइ सक्दैमा इन्जिनियर बन्ने ग्यारेन्टी हुन्छ त ? अनि नाटकमा दुई–चार वर्ष हल्लिँदैमा कसरी स्थापित भइएला र ? कुनै पनि फिल्डमा स्थापित हुन तपाईंसँग धैर्य हुनुप¥यो, त्यो विषयमा विशेषज्ञता हुनुप¥यो । एक–दुई वर्ष लाग्दैमा स्थापित हुने क्षेत्र दुनियाँमा कहीँ  पनि छैन ।
आफूलाई भन्न मन लागेको कुरा वा असन्तुष्टिहरू थिएटरको माध्यमबाट पोख्न सकिन्छ । त्यसैले थिएटर थेरापी पनि हो । कसैले थिएटरलाई थेरापीका रूपमा, कसैले सोखका रूपमा त कसैले व्यवसायका रूपमा हेरिरहेका हुन्छन् । 
हरेक चिज आफैँमा बाँच्नुपर्छ, अरूले धेरै दिन बचाउन सक्दैन । विदेशी सहायता, एनजिओ÷आइएनजिओले दिने पैसाले नाटक धेरै दिन चल्दैन । धेरै उदाहरणहरू छन्, डोनरहरूले सहायता गरुन्जेल चल्ने त्यसपछि बन्द हुने । यस्तो भएपछि हामी केका लागि र कसका लागि काम गरिरहेका छौँ त ?

नाटकमा राज्यको नजर
नाटक न त उद्योग हो, न त सरकारले बजेट दिएर ‘सर्भाइभ’ हुने पेसा हो । आफैँ स्थापित हुनुपर्ने, तर उद्योग पनि होइन । व्यवसायसँग सम्बन्धित भएन, सामाजिक आर्ट फर्म भयो । 
विदेशतिर कलासँग जोडिन पाउनु निजी क्षेत्रका लागि ठूलो गर्वको विषय हुन्छ । उनीहरूले नै नाटकको संरक्षण गरिरहेका छन् । राज्यले पनि बजेट दिन्छ । तर, हामीकहाँ निजी क्षेत्रले कलाप्रति खासै जिम्मेवारी महसुस गर्दैनन् र महत्व पनि दिँदैनन् । 
राज्यले पनि नाटकलाई अरू क्षेत्रलाई जस्तै महत्व दिनुपर्छ र सम्मानका साथ हेर्नुपर्छ । हाम्रो लागि नाटक शक्तिशाली माध्यम हो भनेर बुझिदिए मात्रै उसको दृष्टिकोण फरक हुन्छ । दृष्टिकोण फेरिए मात्रै नाटकलाई गर्ने ‘रेस्पोन्स’ नै फरक हुन्छ । तर, राज्यलाई यसबारे खासै मतलब नै छैन । उसलाई नाटकले ठूलो परिवर्तन गर्न सक्छ भन्ने विश्वास पनि छैन । त्यसैले एउटा संगीत नाट्य एकेडेमी खोलिदिएको छ । उनीहरूले चाहे, खोलिदिऊँ न त भनेजस्तो छ । त्यसमा बजेट पनि छैन, अनुगमन पनि हुँदैन । उपयुक्त मान्छे ल्याउँदा पनि ल्याउँदैनन् । दक्षलाई भन्दा पनि आफन्त वा कार्यकर्ता भर्ने ठाउँ मात्रै बनाएको छ । तर, खुसीको कुरा, अहिलेसम्म निजी थिएटरमा भने राजनीति छिरेको छैन । 

नाटकमा ‘दुःख’को पैसा छ
नितान्त क्रिएटिभ काम गरेर स्थापित हुन गाह्रो नै छ । म आफैँ पनि पढ्नुपर्ने विषय सबै सिध्याएँ, तैपनि पढाएर गुजारा चलाउँछु । थिएटरबाट म ‘सर्भाइभ’ हुन सक्दिनँ, सम्भव नै छैन ।
आर्ट सेन्टर खोल्न जति चुनौती छ, सञ्चालन गर्न त्यति नै कठिनाइ छ । त्यसैले अब थिएटर ‘मल्टिप्रपोज’ योजना लिएर खुल्नुपर्छ जहाँ बाहिर क्याफेटरिया र भित्र सिनेमा, संगीत, फुट कल्चरलगायत थिएटरसँग जोडिएका हरेक काम होस् । त्यसपछि थिएटर पनि ‘रन’ हुन्छ, नाटकबाटै कलाकार पनि ‘सर्भाइभ’ गर्छन् ।
नाटकबाटै ‘सर्भाइभ’ हुने स्थिति आए अहिले फिल्मका लागि दौडिरहेका आधा जति नाटकमै फर्किन्छन् । धेरैले नाटकलाई नै माया गर्छन् । मलाई लाग्छ, केही व्यक्तिहरूले, नाटकबाटै आएका कलाकारहरूले पनि कहिलेकाहीँ फिल्म खेलेर, यताउता गरेर फेरि नाटक खेल्नुभएको छ । कम्तीमा पलायत भएका छैनन्, यतै छन् । 

९५ प्रतिशतको लक्ष्य फिल्म
थिएटरबाट बाँच्न गाह्रो छ, असम्भव नै छ । नाटकमा दुःखको पैसा त छ, तर पर्याप्त होइन । त्यसैले कहिलेसम्म संघर्ष गर्ने, कहिलेसम्म सित्तैमा काम गर्ने ? अनि एउटा नाटककार फिल्म क्षेत्रमा नगएर कहाँ जाओस् ? 
फिल्म पनि एउटा आर्ट फर्म नै हो । माध्यम मात्र फरक हो । धेरै चिज फरक हुँदाहुँदै पनि धेरै चिज फरक हुँदैनन् । नाटकबाट आएका कलाकारले फिल्ममा राम्रै प्रगति गर्नुभएको छ । त्यसैले पनि नाटकमा युवाको सहभागिता धेरै छ । नाटकमा जति पनि कलाकार छन्, उनीहरूमध्ये ९५ प्रतिशत युवाको आकर्षण फिल्ममा जानैका लागि हो । 
फिल्म एक–दुई महिना लगाएर छायांकन गरिन्छ । त्यसपछि त्यो फिल्म जिन्दगीभर देखाउन सकिन्छ, एकैचोटि हजारौँ मल्टिप्लेक्समा रिलिज हुन्छ । इन्टरनेटमा 
आइफ्लिक्सदेखि नेटफ्लिक्ससम्मको दुनियाँ छ, त्यसबाट अलिअलि पैसा पनि आउँछ । तर, नाटक दुई–तीन महिना लगाएर रिहर्सल ग¥यो, एक दिनमै ‘सो’ सकिन्छ । नाटक एक ठाउँमा एकचोटि देखाउन माध्यम हो, त्यसैले धेरै मान्छेको पहुँचमा पनि पुग्दैन । 

पाप पखाल्न थिएटरमा दान
भ्रष्टाचारले विश्व ग्रस्त छ । जतिसुकै सम्पन्न राष्ट्रमा पनि अलिअलि भ्रष्टाचार त हुन्छ नै । ती भ्रष्टाचारीहरू 
आफ्नो पाप पखाल्न आर्ट÷थिएटर सेन्टरहरूलाई अलिअलि दान गर्छन् । तर, हामीकहाँ यति धेरै भ्रष्टाचारीहरू छन्, उनीहरू पाप पखाल्नेतिर सोच्दै सोच्दैनन् । उनीहरूले पनि थिएटरमा आएर पाप पखाले हुन्थ्यो नि । चन्दा/दान दिन कोही आउँदैनन् । न उनीहरूको पाप पखाल्ने तरिका फरक पो छ कि !