कञ्चनपुरको उत्तरी चुरे भेगमा रहेको ‘झिलिमिला ताल’लाई अनौठो तालका रूपमा लिइन्छ । जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २५ किलोमिटर दूरीमा झिलिमिला दिनमा तीनपटक रंग फेर्ने तालका रूपमा चिनिन्छ । दैवीशक्ति भएको पीठका रूपमा लिइने यो तालको दर्शनका लागि स्थानीय मात्र नभई भारतीय दर्शनार्थी पनि आउने गरेका छन् । घरमा अशान्ति, दुःख, कष्ट भएमा वा व्यापार घाटामा गएमा पनि तालमा पूजा गर्न आउनेको संख्या बढेको छ ।
समुद्री सतहदेखि ६ सय ८० मिटर उचाइमा रहेको तालको चारैतिर जंगल छ । प्राकृतिकरूपमै सफा रहने तालको पानी निकास हुने ठाउँ भने छैन । हिउँद र वर्षात्को मौसममा पनि ताल सफा रहने गरेको बताउँछन् झिलिमिला ताल संरक्षण समितिका उपाध्यक्ष लालबहादुर विष्ट । ‘एउटै रंग, एकै जात एकै साइजका माछाको झुन्ड वषौँदेखि तालमा देखिन्छ, ताल सधैँ सफा हुन्छ,’ उपाध्यक्ष विष्टले भने ।
उनले भने, ‘एक दिनमा बिहान, दिउँसो र साँझ तालले रूप परिर्वतन गर्छ ।’ उनका अनुसार ताल बिहान निलो, दिउँसो रातो र राति सेतो देखिन्छ । मनोकामना पूरा होस् भन्ने मान्यताका साथ वार्षिक पाँच हजारदेखि ६ हजारसम्म भारतीय दर्शनार्थी यहाँ आउने गरेको उनले बताए । पूर्णागिरि र सिद्धबाबाको दर्शन गर्न आउने केही पर्यटक यहाँ पनि आउने गरेका छन् । हरेक वर्ष फागुपूर्णिमादेखि असारको औँसीसम्म पूर्णागिरिको धार्मिक मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको समेत दर्शन गर्ने गरिन्छ ।
झिलिमिला तालको ठीक पश्चिम महाकालीपारि पूर्णागिरि मन्दिर छ । स्थानीय जानकार गगन नाथका अनुसार पूर्णागिरि र झिलिमिला दिदीबहिनी हुन् ।नाथले भने, ‘पूर्णागिरि र झिलिमिला दिदीबहिनी भएको किंवदन्ती रहेको छ ।’ नाथका अनुुसार झिलिमिलाको बारेमा नेपालीभन्दा भारतीयलाई बढी जानकारी छ ।