कालिकोटको सदरमुकाम मन्मामा खानेपानी अभाव

२०७६ बैशाख २ सोमबार १३:३८:००

जिल्ला सदरमुकाम मान्ममा उचित वितरण प्रणली नहुँदा विगत दुई महिनादेखि खानेपानीको अभाव भएको छ । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेको कारण पानीकाे अभाव भएकाे स्थानीय बताउँछन् । 

खानेपानीको अभाव हुदाँ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको सामाना होटेलका सञ्चालक रत्नबहादुर शाहीले बताए । ‘सदरमुकाममा नै खानेपानीको अभाव छ ।’ उनले भने, ‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारणले हामीले खानेपानी पाएनौं ।’

खानेपानी समस्याबारे खानेपानी कार्यालय र उपभोक्ता समितिलाई जिल्ला प्रशासन कार्यालयबाट पत्रचार गरेर समस्या हल गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख चन्द्रबहादुर कार्कीले बताए । 

जिल्लाकै सबै भन्दा बढी  खानेपानीको समस्या पलाताँमा
पलाँता गाउँपालिका–२ को बान्जाडा जिल्लाकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र रहेको वाटर एडले गरेको अनुसन्धानबाट खुलेको छ । बान्जाडाका एक सय ८२ घरधुरीका लागि गाउँमा एउटा मात्र खानेपानी धारा रहेको सहभागीता मुलक कार्य अनुसन्धानमा सहभागी सनोज तुलाचनले बताए ।

गाउँपालिकाले वडा नं. २ लाई लक्षित गर्दै २३ किलोमिटर टाढाबाट खानेपानी ल्याउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘त्यहाँको खानेपानी आयोजनाका लागि गाउँपालिकाले १० करोडभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।’ उनले भने,‘खानेपानीको समस्या चाँडै हल गर्ने तयारीमा लागेका छौं ।’ 

प्रतिकृया दिनुहोस