मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २ सोमबार १३:२०:००
Read Time : > 1 मिनेट
समाचार

ढलान भएको दुई दिन नपुग्दै भत्कियो पुल 

पाँच घाइते

Read Time : > 1 मिनेट
२०७६ बैशाख २ सोमबार १३:२०:००

बडिगाढ खोलाको पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । गुल्मीको मुसिकोट नगरपालिका ३ वडागाउँ र ७ वामी जोड्ने झेदीको पुल आइतबार साँझ भत्किएको हो । गत शुक्रबार ढलान गरिएको पुलको तत्कालिन जिल्ला प्राविधिक कार्यालयमार्फत वाइटी जय बुद्ध कन्सट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो । 

पुलको बिच भागमा पिल्लर नराखि आधुनिक तरिकाबाट निर्माण गरिएको ५५ मिटरको लम्बाई भएको पुल २०७३ सालमा सम्झौता भएपछि ०७४ सालबाट निर्माण थालिएको तत्कालिन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियीर पारस पन्थीले बताए । 

प्रदेश नं ५ अन्तर्गतको भौतिक पुर्वाधार कार्यालय मातहतमा रहेको उक्त पुलको ढलान गर्दा लगाइएका टेकसाहरु भाँसिएको कारण पुल भत्किएको हुन सक्ने कार्यालय प्रमुख बिनोद चौधरीले बताए । पुलको स्थलगत अनुगमन गरेपछि मात्रै भाँचिएको कारण खुल्ने उनले बताए । बरिब पाँच करोड लागतमा निर्माण थालिएको पुलको बिमा गरिएकाले निर्माण व्यावसायीलेनै पुनः पुल निर्माण गर्नुपर्ने उनी बताउँछन् । 

पुल भत्किदा पाँच जना घाइते
पुल भत्किदा च्यापिएर निर्माण व्यावसायीहरु पाँच जना घाइते भएका छन् । जसमा क्रृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै अन्य घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ३ का २३ वर्षीय राम बहादुर कुमाल, ३३ वर्षीय गणेश कुमाल, वडा नं ४ का ५१ वर्षीय रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना घाइते रहेका छन् । 

पुल भत्किएपछि स्थानीय आक्रोशित
कच्ची संरचनाको कारण पुल भत्किएको भन्दै स्थानीय आक्रोशित भएका छन् । मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले सरकारी निकायको लापरवाहीको कारण यस्तो हुन पुगेको बताए । ‘यो पुल बन्न लागेको झण्डै दुई वर्ष हुन लाग्यो, सरकारी ईन्जिनियर प्राविधिकले एक पटक हेरेनन,’ उनले भने,‘त्यसकारण यो समस्या आयो ।’