१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २ सोमबार ११:१८:००
Read Time : > 1 मिनेट
समाचार

झिमरुकमा रकगार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदन  तयार पार्न २० लाख विनियोजन

Read Time : > 1 मिनेट
२०७६ बैशाख २ सोमबार ११:१८:००

झिमरुक गाउँपालिका– ५ ढाडमा झिमरुक रकगार्डेन निर्माण हुने भएको छ । रक गार्डेन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाभित्र पर्यटकीय सम्भावनाका क्षेत्र प्रशस्त रहेको र त्यसमध्ये गाउँपालिका– ५ ढाँडमा रकगार्डेन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष तिलक जिसीले जानकारी दिए । उनले रकगार्डेन निर्माणका लागि डिपिआर तयार पार्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै डिपिआर अन्तिम चरणमा पुगेको पनि बताए । 

चट्टान नै चट्टानको गार्डेनमा पर्यटकीयस्थलका लागि आवश्यक विभिन्न भौतिक पूर्वाधार निर्माण गरिने उनले बताए । प्राविधिक रूपमा आयोजना कस्तो बनाउने भनेर निर्माण पूर्वतयार गरिने आर्थिक, भौतिक, सामाजिकलगायत सबै विषय डिपिआरमा समावेश हुने उनको भनाइ छ ।पर्यटन मन्त्रालयले देशभर एक सय पर्यटन गन्तव्य घोषणा गरेकोमा प्युठानका ऐतिहासिक धार्मिकस्थल स्वर्गद्वारी र झिमरुक रकगार्डेन सूचीमा परेको छ । सूचीमा परेसँगै डिपिआर तयार गर्न काम थालिएको गाउँपालिकाका अध्यक्ष जिसीले बताए ।

अध्ययनका लागि मिनी रकगार्डेन
नेपालका विभिन्न स्थानमा नदीको बहावले खियाएका विभिन्न आकृतिका ढुंगा भेटिन्छन् । ती ढुंगाहरू निकै आकर्षक देखिन्छन् । तर झिमरुकका ढुंगा भने विभिन्न आकृतिका मात्र होइन हेर्दै आकर्षक पनि लाग्छन् । परापूर्वकालमा पहिरो गएर ढुंगा थुप्रिएको हुन सक्ने स्थानीयले बताएका छन् । सत्य जे भए पनि झिमरुकका चट्टान साँच्चै आकर्षक देखिन्छन् । 

रकगार्डेनलाई आउटडोर र इनडोर गरी दुई भागमा विभाजन गरिनेछ । आउटडोरमा शौचालय, पार्किङ, टिकट काउन्टर, परामर्श कक्षलगायत रहनेछ भने इन्डोरमा आराम कक्ष, ढुंगा कुदेर तयार पारिएको प्रतीक्षालय रहनेछ । त्यस्तै नेपालमा पाइने ढुंगाको अध्ययन गर्न मिनी रकगार्डेन पनि निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिए । त्यस्तै, रक गार्डेनमा बालबालिकाका लागि चिल्ड्रेन पार्क, अत्याधुनिक प्रविधियुक्त सभाहल र भ्यू टावर होटल पनि निर्माण गरिने उनको भनाइ छ ।

पर्यटक घुमाउने पालिकाको योजना
झिमरुक गाउँपालिकाले पर्यटकलाई घुमाउने योजनासहित बगैँचा निर्माण गर्न लागेको हो । प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न रक गार्डेन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष जिसीले बताए । ‘पर्यटकलाई घुमाउने र लोभ्याउने गरी चट्टानको बगैँचा बनाउन लागेका छौँ,’ उनले भने, ‘चट्टानमा प्राकृतिक रूपमा कुँदिएका चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न सहज हुने विश्वास लिएका छौँ ।’