थाङ्कामा व्यापकताको खोजी

२०७६ बैशाख २ सोमबार १०:२०:००

नेपाल आउने अधिकांश बौद्धमार्गी पर्यटकले नेपालको चिनोस्वरूप थाङ्का लाने गर्छन् । अरू पर्यटक पनि थाङ्काप्रति लोभिन्छन् । तिब्बतियन तथा नेवारी परम्पराका थाङ्कामा विभिन्न आकृतिका बुद्ध भेटिन्छ । पछिल्लो समय भने स्थानीय देवी देवता र चर्चित मौलिक चित्र पनि थाङ्कामा अटाउने गरेका छन् । 

विदेशमा लोकप्रिय थाङ्कासँग नेपालको सयौँ वर्ष पुरानो सम्बन्ध रहेको बताइन्छ । थाङ्का बनाइने गरेको पनि लामै समय भयो । तर, बुद्ध धर्मावलम्बीले बाहेक अन्य धर्मावलम्बीले थाङ्का खरिद गर्न हिच्किचाउने थाङ्काव्यापारी किसन सिंह बताउँछन् । भन्छन्, ‘नेपालका सबै जातजाति र धर्मावलम्बीले मन पराइदिऊन् भनेर अहिले हामीले मौलिक चित्रलाई पनि थाङ्कामा समेट्ने कोसिस गरेका छौँ ।’ 

किसन सिंहले भनेजस्तै थाङ्कालाई बौद्धकलामा मात्रै नभएर व्यापार विस्तारका लागि अहिले अन्य विषय पनि समेटिने गरेको छ । इतिहास र मौलिक कला झल्किने खालका थाङ्काको निर्माणमा जुटिरहेका किसन भन्छन्, ‘आमनेपालीले बुझ्न सक्ने थाङ्का उत्पादन गर्ने कोसिसमा छु ।’

थाङ्कामाथि राज्यको दृष्टि अझै राम्रोसँग पुगिसकेको छैन । सरकारी तवरबाट थाङ्कालाई कुनै महŒव नदिइएको किसनको भनाइ छ । उनी भन्छन्, ‘थाङ्का ग्यालरी फस्टाउन सके यसले नेपालको पर्यटनमा थप टेवा पुग्थ्यो ।’ अबको थाङ्कालाई सबै नेपालीको प्रिय बनाएर आयआर्जनको गतिलो स्रोत बनाउन लागिपर्ने किसनको सोच छ । 

नेपाली पौबा (थाङ्का) कलाको इतिहासमा १९८०—९० को दशकलाई थाङ्काको सुनौलो युग मानिन्छ । जापान, कोरिया, चीन, अमेरिकालगायत १० मुलुकमा पौबा चित्र पठाइरहेका व्यापारी किसनको छाया कम्प्लेक्सस्थित ड्रायगन थाङ्का आर्ट ग्यालरीमा पाँच सयदेखि तीन लाख रुपैयाँसम्मका थाङ्का छन् । थाङ्काको व्यापारमा उनले ६ करोड लगानी गरेका छन् । उनले सयभन्दा बढी कलाकारलाई रोजगारी दिएका छन् । 

प्रतिकृया दिनुहोस