चीनको उदय र नयाँ विश्वव्यवस्थाका संकेत

२०७६ बैशाख २ सोमबार ०९:२०:००

एउटा प्राचीन चिनियाँ भनाइ छ– ‘जब परिवर्तनको हावा चल्छ, केही मानिस पर्खाल बनाउन थाल्छन्, तर अर्काथरी फिरफिरे बनाउँछन् ।’ 

२१औँ शताब्दीको प्रथम दुई दशकमा विश्व राजनीति, अर्थतन्त्र र शक्ति सन्तुलनमा अनुमान गरिएभन्दा द्रुत परिवर्तन आएको छ । चिन्तकबीच पश्चिमप्रधान एक ध्रुवीयबाट बहुध्रुवीय बनिसकेको विश्वमा अब कसको वर्चस्व कायम होला भन्ने प्रश्नको जवाफ खोज्ने होड देखिन्छ । १३४ देशमा गरिएको सर्वेक्षणमा आधारित हालै सार्वजनिक ‘ग्यालप्स रेटिङ वल्र्ड लिडर्स–२०१९’ले विश्व नेतृत्वका लागि अमेरिकाभन्दा चीन उपयुक्त ठान्ने मानिस संसारमा बढी रहेको देखाएको छ । यो रेटिङमा चीनले सन् २००९ यताकै बढी ३४ प्रतिशत मत प्राप्त गर्दा अमेरिका भने ३१% मा खुम्चिएको छ । लाग्छ, इटालियन सम्राट नेपोलियन बोनापार्टले चीनलाई ‘सुतेको सिंह’सँग तुलना गर्दै ब्युँझिएमा संसार हल्लाउने भनेर गरेको भविष्यवाणी दुई शताब्दीपछि सत्यसाबित हुँदैछ। 

अमेरिकामा डोनाल्ड ट्रम्प र चीनमा सी जिन पिङको उदयलाई पश्चिमा विश्व व्यवस्थाको अवसान र चिनियाँ नेतृत्वको युग सुरुवातको कडी मान्ने प्रशस्त छन् । र, यस्तो विश्लेषणका लागि केही आधार पनि देखिन्छन् । अघिल्लो दशकसम्म चिनियाँ नेतृत्वलाई ‘भूमण्डलीकरण’ भन्ने शब्दावलीसँग खासै लगाव थिएन । तर, एक दशकमा समयले यसरी कोल्टे फेरेको छ कि भूमण्डलीकरणको प्रवक्ता तथा खुला बजार अर्थतन्त्रको प्रणेता अमेरिकालाई चीनले ‘ग्लोबलिज्म’ र ‘फ्री ट्रेड’ मात्र होइन, ‘मल्टिल्याटरालिज्म’को पाठ पढाउन थालेको छ ।

विश्व महाशक्ति अमेरिका एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट पछि हट्दै छ र त्यहाँका राष्ट्रपति ‘अमेरिका फस्र्ट’ नारा सार्थक पार्न ट्विटरबाट संस्थापनइतर शासनको अभ्यासमा खुम्चिएका छन् । उता, चीन भने प्राप्त हरेक मोर्चालाई आफ्नो नेतृत्व क्षमता प्रदर्शनका रूपमा बदल्दै विश्व नेतृत्वको केन्द्रीय मञ्चतर्फ अघि बढिरहेको छ । अमेरिकाले पेरिस सम्झौता, इरान आणविक वार्ता र राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट हात झिकेर बजेट कटौती गर्ने बाटो रोजिरहँदा सन् २०१९ देखि २०२१ को बीचमा राष्ट्रसंघीय बजेटमा चीनको योगदान १२ प्रतिशतले बढ्नेछ, सँगै विश्व मामिलामा प्रभाव पनि । ‘कम्युनिटी विथ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ भन्ने नारासहित चिनियाँ राष्ट्रपति सीले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) दोस्रो विश्वयुद्धपछि अमेरिकाले अघि सारेको ‘मार्सल प्लान’भन्दा ठूलो र रणनीतिक तथा सामरिक महत्वकाे दृष्टिले अभूतपूर्व परियोजना हो । सन् २०४९ सम्म पूरा हुने ठानिएको परियोजनाको सफलतासँगै चीन विश्व अर्थव्यवस्था र कूटनीतिको केन्द्रमा हुने विश्लेषकको आँकलन छ । राष्ट्रपति सीलाई उद्धृत गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी दोहो-याइरहन्छन्– चीन विश्व मञ्चको केन्द्रमा अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको छ । 

एक दशकमा समयले यसरी कोल्टे फेरेको छ कि भूमण्डलीकरणको प्रवक्ता तथा खुला बजार अर्थतन्त्रको प्रणेता अमेरिकालाई चीनले ‘ग्लोबलिज्म’ र ‘फ्री ट्रेड’ मात्र होइन, ‘मल्टिल्याटरालिज्म’को पाठ पढाउन थालेको छ

चीन अर्थात् चमत्कार 
सन् १९७८ सम्म विश्वका विपन्न मुलुकको सूचीमा रहेको र ९० को दशकसम्म सबैभन्दा बढी अनुदान स्विकार्ने चीनले विगत ४ दशकमा गरेको प्रगति मानव इतिहासमै दुर्लभ चमत्कार हो । विश्वभर प्रत्यक्ष वैदेशिक लगानीमा नेतृत्व गरिसकेको चीनले बर्सेनि ४ खर्ब युआन दानमै खर्च गर्न थालेको छ । सन् २०१० मा दोस्रो अर्थतन्त्रमा दरिएको चीनका नागरिकसँग एक दशकअघिको तुलनामा चार गुणा बढी सम्पत्ति छ । पूर्वाधार निर्माणको क्षेत्रमा चीनले संसारलाई जादु नै देखाएको छ । विश्वभरमा प्रयोग हुने स्टिल र सिमेन्टको कुल हिस्सामध्ये आधा चीनमा मात्र प्रयोग हुन्छ । सन् २०११ देखि २०१४ सम्ममा चीनले ६ दशमलव ६ गिगाटन सिमेन्ट प्रयोग गरेको छ, जुन पूरै २०औँ शताब्दीमा अमेरिकाले प्रयोग गरेको परिमाण बराबर हो । 

चीनमा हरेक पाँच दिनमा एउटा गगनचुम्बी भवन निर्माण भइसक्छ । सबैभन्दा ठूलो जलविद्युत् परियोजना २३ हजार मेगावाट क्षमताको थ्री गर्जेज ड्यामदेखि सांघाईस्थित विश्वकै दोस्रो अग्लो १२८ तले टावरसम्म, विश्वकै सर्वाधिक लामो (२७ हजार किलोमिटर) बुलेट रेल सञ्जालदेखि चीन र ताइवान जोड्ने समुद्रमाथिको लामो पुलसम्म २१औँ शताब्दीका मानवनिर्मित आश्चर्य नै मानिन्छन् । चीनमा विद्यमान रेलमार्गको लम्बाइ पृथ्वीलाई दुई फन्को लगाउन पुग्नेजति छ । एक सेकेन्डमा ५० हजार मानिसले चुरोट सल्काउने चीनमा हरेक मिनेट २६ जना गरिबीको रेखाबाटमाथि आइरहेका छन् । आगामी विश्व अर्थतन्त्रको निर्धारक मानिएका ‘आर्टिफिसियल इन्टेलिजेन्स’, रोबोटिक्स, सेमिकन्डक्टर्स, ड्रोन, हाइपरसोनिक तथा थ्री डी पेन्टिङमा चीन नेतृत्व गर्ने चरणमा छ । खुला बजारको खास अर्थ बुझ्न चिनियाँ बजार विस्तार हेरे पुग्छ । चिनियाँ सुपथ मूल्यका उत्पादनका कारण सन् १९९९ देखि २०११ बीचको अवधिमा अमेरिकी कपडा उद्योगमा काम गर्ने १० लाख मानिसले जागिर गुमाएको अध्ययनले देखाएको छ । अमेरिकी टेक्स्टाइल कम्पनी मात्र होइन, जापानका सर्किट बोर्ड र इटालीका फेसन डिजाइनिङलाई पनि चिनियाँ उत्पादनले विस्थापन गर्दै छन् ।

कस्तो होला चीनको नेतृत्व ?
चीन विगत चार दशकमा तीव्र आर्थिक वृद्धिमा सफल भएर उसले विश्वका अर्थशास्त्रीलाई नराम्रोसँग असफल तुल्यायो । अबको एक दशकमै विश्वको पहिलो अर्थतन्त्र बन्ने ठानिएको चीनबारेको भविष्यवाणीमा विश्व अर्थव्यवस्थाका अर्थविद्समेत चुकेका छन् । तर, भविष्यवाणी रोकिएका छैनन्, बरु फेरिएका छन् । कतिपय विश्लेषकले आगामी दिनमा प्रयोगकर्ताले गुगलको सट्टा चीनको ‘बइडु’ र फेसबुकको सट्टा ‘वुइबो’ले अग्रता लिन सक्ने अवस्थाको कल्पना गरेका छन् । बदलिँदो विश्वव्यवस्थाबारे हालै सार्वजनिक भएका केही पुस्तकका निष्कर्ष चर्चायोग्य छन् । पोर्चुगिस राजनीतिक वैज्ञानिक एवं पूर्वकूटनीतिज्ञ बुर्नो माकेजले लेखेको ‘बेल्ट एन्ड रोडः ए चाइनिज वल्र्ड अर्डर’, सिंगापुरका प्राध्यापक किसोर माह्बुबानीको ‘ह्याज द वेस्ट लस्ट इट ?’ तथा नवरुढिवादी अमेरिकी इतिहासकार रोबर्ट कागनले लेखेको ‘अमेरिका एन्ड आवर इन्डेजर्ड वल्र्ड’ उपशीर्षकको ‘दी जंगल ग्रोज ब्याक’ नामक पुस्तकले विषयवस्तुप्रतिको दृष्टिमा विविधताका बाबजुद समान निष्कर्ष दिन्छन्– ‘अमेरिका नेतृत्वको पश्चिमा विश्वले संसारको नेतृत्व गर्ने हैसियत गुमाउँदै गएको छ र यसको परिपूर्ति अरू कोही नभएर चीनबाट हुँदै छ ।’ माकेजको प्रक्षेपणअनुसार ‘बिआरआई’को सफलतासँगै अबको ३० वर्षमा चीनले विश्वको नेतृत्व सम्हाल्नेछ । उनको विचारमा चीनको विश्वदृष्टि पश्चिमा विकल्पभन्दा कैयौँ गुणा परिवर्तनकारी र व्यावहारिक छ ।

मुह्बुबानी र कागनको निष्कर्ष पनि पश्चिमा शक्ति रक्षात्मक अवस्थामा पुगेको र चीन हरेक मोर्चामा खरो भइरहेको भन्ने छ, तर उही विकासक्रमप्रति दुई लेखकको मनोदशा भने ठीक विपरीत देखिन्छ । मुह्बुबानी चीनको उदयप्रति पुलकित छन्, किनकि उनी यसलाई १९औँ शताब्दीको पूर्वाद्र्धपछि गुमेको एसियाली वैभवको पुनर्जागरणको रूपमा लिन्छन्, तर कागनलाई चीन महाशक्ति बन्न लागेको विषय पाच्य हुन सकेको छैन । चीनको उदय उदारवादी प्रजातान्त्रिक मान्यताविरुद्धको परिघटना मान्ने उनको केन्द्रीय आकांक्षा चीनको उदय निस्तेज तुल्याएर पश्चिमी उच्चता कायम राख्ने देखिन्छ ।

छिमेक प्रभाव 

चीन विश्व व्यवस्थाको केन्द्रमा आउँदा नेपालजस्ता साना र अल्पविकशित देशलाई पर्ने प्रभाव हाम्रा लागि प्रमुख चासोको विषय हो । चीनको कुटनीतिमा आएका बदलावको संकेत बुझ्न केही समय अघि काठमाडौंमा देखिएका दुई परिदृष्य प्रयाप्त छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीतमा गरेको नृत्य र त्यसको केही समय अघि अमेरिकी सहायक रक्षामन्त्री जो एच फेल्टरले काठमाडौं भ्रमणका क्रममा विआरआईबारे गरेको टिप्पणीप्रति चिनियाँ दूताबासले जनाएको प्रतिक्रियाले अन्तर्राष्ट्रिय कुटनीतिमा चीनले अख्तियार गर्न थालेको मुखर रणनीति र तीव्ररुपमा विस्तार भैरहेको ‘सफ्टपावर डिप्लोमेसी’बारे एकसाथ धेरै कुरा बताउँछन् । महाशक्ति बनिसक्दा व्यवहार बदलिएन भने नेपाल जस्ता छिमेकीका लागि चीनको उदयका सकारात्मक पाटा धेरैछन् ।

भूगोल र जनसंख्याले ठूलोमात्र होइन आर्थिक र सामरिक क्षमताको दृष्टिले विश्व शक्ति भए पनि चीनले आज प्रयन्त कुनैखाले ‘विस्तारवादी’ र ‘साम्राज्यवादी’ व्यवहार प्रदर्शन गरेको छैन । सबैभन्दा उल्लेखनीय कुरा चीनले दशकौं यता अन्तर्राष्ट्रिय र छिमेक मामिलामा आफ्नो मान्यतामा एकरुपता कायम राखेको छ । मित्रता र बन्धुत्वका कुरामा जोड दिइरहने चीनले कमजोर राष्ट्रको फितलो कुटनीतिबाट फाइदा लिन खोजेको अनुभूति पनि नेपालीले अहिलेसम्म गरेका छैनन् । हेपिएको तितो विगत नभुलेको चिनियाँ पृथ्वीनारायण शाहले भने जस्तै जाई कटकमा विश्वास नगर्ने तर झिकी कटक नछोड्नेमा दृढ देखिन्छन् ।

आफ्नो पुरानो शक्ति र बैभव पुनर्जागृत गर्ने विषयमा चीन यति दृढ छ कि त्यहाँ स्कुले बालबालिकाहरुलाई चीनले विगतमा देश र जनताले भोगेको अपमानबारे पढाउने गरिन्छ । पश्चिमाहरुले आवधिक निर्वाचनसहितको शासन पद्धतिलाई आदर्शकोरुपमा संसारभर प्रवद्र्धन गरेको कुरालाई नरुचाएको र शासन व्यवस्थालाई मोडलकोरुपमा निर्यात नगर्ने मान्यतामा दृढ देखिने चीनले १९७८ मा अंगालेको खुलापनपछिका चार दशकमा संसारलाई बैकल्पिक आर्थिक तथा सामाजिक विकासको नमूना भने पस्किएको छ । बीआरआई बढ्दो चिनियाँ आत्मविश्वास र संसारकै द्रुतगतिको भौतिक पूर्वाधार विकासको अनुभव बाँढ्ने एउटा ‘प्लेटफर्म’कारुपमा प्रवद्र्धन गरेको देखिन्छ जसको फाइदा नेपाल जस्ता अतिकम विकशित छिमेकीले प्रयाप्त मात्रामा उठाउन सक्छन् ।

विश्व व्यवस्थाको केन्द्रमा चीनको उदय हुँदैगर्दा रणनीतिक महत्वको भूगोलमा रहेका नेपाल जस्ता साना चिनियाँ छिमेकीमाथि विद्यमान विश्वशक्तिबाट दवाव बढ्नु अनपेक्षित कुरा होइन । तर, यहाँ चुनौति मात्र होइन कुशल कुटनीति अख्तियार गर्न सक्दा सबैतिरको लाभलिने अवसर पनि उत्तिकै छन् । विश्व व्यवस्थामा परिवर्तनको हावा चलेको छ । नेपालसँग फिरफिरे बनाएर परिवर्तनको हावालाई उपयोग गर्ने विकल्प पनि छ, तर त्यसका लागि कूटनीतिक कौशल भने पहिलो र अनिवार्य शर्त हुनेछ । 

 

प्रतिकृया दिनुहोस