१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०८० बैशाख २० बुधबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०८० बैशाख २० बुधबार १०:०८:००

संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट– २ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका– ५ आमाराङस्थित अडिट– २ को सुरुङभित्र माथिबाट ढुंगा खसेर सिलिचोङ गाउँपालिका– ५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु– ५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीय साइमुदिन अली रहेका छन् ।  

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।  

अरुण तेस्रो जलविद्युतकाे आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ । मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था छ । आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् ।

विद्युतगृहस्थलमा ‘पटेल इन्जिनियरिङ’ र ड्यामसाइडमा ‘जयप्रकाश एसाेसिएट्स कम्पनी’ले काम गरिरहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ ।