मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वीणा झा
२०७६ बैशाख २ सोमबार ०९:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

मधेसमा पितृसत्ताको झिल्का

Read Time : > 2 मिनेट
वीणा झा
२०७६ बैशाख २ सोमबार ०९:०२:००

चाहे त्यो जुनसुकै सत्ता वा प्रणाली हुन् जसले असमानतालाई स्विकार्छ र प्रवद्र्धन गर्छ, त्यो समाजका लागि हितकारी हुन सक्दैन । त्यसैले पितृसत्ताको विकल्प मातृसत्ता त हुन सक्दैन । त्यसैले समानतामा आधारित सामाजिक न्याय अपरिहार्य बनाउन अब ढिलो गरिनुहुँदैन ।

घर, सडक र सदन जहाँ पनि पितृसत्ताको प्रभाव मिश्रित सोचको असरले ग्रसित मानसिकता बोकेका जोसुकै पनि महिलामाथि गरिने हिंसालाई सांस्कृतिक परम्परा वा अन्य केही नाम दिँदै सहजै पचाउँछ । मधेसको कुरा गर्ने हो भने नेपालका अन्य समाजभन्दा मधेसी समाज बढी पितृसत्तात्मक सोचले ग्रसित समाज हो । जहाँ एक आदर्श महिलाको चित्रण उसको सहनशीलता, सेवाभाव, त्याग र इच्छा दबाउन सक्ने क्षमताका आधारमा निर्माण गरिन्छ । त्यसैले प्रायः मधेसमा डाक्टर, इन्जिनियर, वकिल, बैंक म्यानेजरजस्ता ठूला पदमा आसीन पुरुषका दिदीबहिनी, छोरी, श्रीमती तथा आमाका रूपमा महिला नै भेटिन्छन् । तर, स्वयं त्यो पद र प्रतिष्ठामा पुग्न अवसर पाउने महिला बिरलै हुन्छन् । तिनको जीवन रक्षा र सम्मानका लागि पनि ऊसँग जोडिने पुरुषको पद र प्रतिष्ठाले अहं भूमिका खेल्ने हुनाले छोरीको शिक्षा र सशक्तीकरणलाई खासै महŒव दिइँदैन । जसको परिणाम, लैंगिक हिंसा हुँदै हत्यासम्म पुग्छ । यसको पछिल्लो उदाहरण सुनिता यादवको हत्या हो । 

गत साता सामाजिक सञ्जालमा राखिएको सुनिता यादवका दुई तस्बिर प्रायःले हे-यौँ र मन पनि दुख्यो । एकातिर निल डामले भरिएको शरीर र अर्को अन्त्येष्टिका लागि बेहुलीसरी सजिएको तिनको मृत शरीर । मनमा अनेक प्रश्न पीडासहित उब्जियो । हाम्रो समाजमा पतिकै अगाडि मर्ने महिलालाई भाग्यमानी मानिन्छ । तिनका आत्माले वैकुण्ठ वास गर्दै अर्को सात नयाँ जन्म लिई उही पति पाऊन् भन्ने विश्वासका साथ तिनलाई बेहुलीझँै सजाएर चितामा जलाइन्छ । सुनिता यादवले १४ वर्षसम्मको नारकीय जीवन पाएर मृत्युपछि पनि त्यही पतिको पत्नी बन्न पाऊँ भन्ने चाहना राखेकी होलिन् त ? यो कस्तो विडम्बना भन्दै तिनका आत्माले चित्कार गरे पनि कसैले सुन्ने कुरै भएन । बाचुन्जेल उनका चित्कार नसुन्ने परिवार, समाज र राज्यलाई केही असर पर्ने कुरै भएन ।  

अन्य समाजभन्दा मधेसी समाज बढी पितृसत्तात्मक सोचले ग्रसित समाज हो, जहाँ एक आदर्श महिलाको चित्रण उसको सहनशीलता, सेवाभाव, त्याग र इच्छा दबाउन सक्ने क्षमताका आधारमा निर्माण गरिन्छ

त्यसपश्चात् विभिन्न कोणबाट सम्पूर्ण दोष ‘दाइजो प्रथा’लाई दिँदै सम्बन्धित सबै पक्ष आफू उम्किन तम्तयार भए । के साँच्चै उनको हत्याको सम्पूर्ण कारण दाइजो मात्रै हो ? तिनको शिक्षा, सशक्तीकरण, आत्मनिर्भरता र विकल्पसहितको समाजले केही फरक पार्दैनथ्यो होला ? किन डाक्टर ज्वाइँप्रति लालायित तिनका परिवारले तिनलाई डाक्टर बनाउन उपयुक्त ठानेनन् ? किन ०६२ जेठ २१ गते घरमै थुनेर आगो लगाई गरिएको हत्या प्रयासको खबरले तिनको जीवन जोखिममा छ भनेर संवेदनशील भइएन ? बिहेपश्चात् माइती पक्षको जिम्मेवारी सकियो ? यसो हेर्दा माइती पक्ष कति क्रूर होला ? जस्तो लागे पनि मुख्य कारण पितृसत्ता हो, जसका कारण तिनका माइती पक्षले समेत तिनलाई लोग्नेकै घरमा बस्न बाध्य बनाए । राज्यका सुरक्षा निकाय घटना घटेपछि अनुसन्धानका लागि मात्र गठन गरिएका हुँदैनन् । तिनको मुख्य उद्देश्य समाजमा दुर्घटना नहोऊन् भन्नेमा पनि केन्द्रित हुनुपर्ने हो । तर, ०६२ असार २ मा तिनका पतिले अबउप्रान्त गल्ती नदोह-याउने प्रतिबद्धता गरेको भए पनि यस्तो संवेदनशील उजुरीउपर किन निगरानी राखिएन ? 

त्यस्तै, बहुविवाहजस्तो अपराधलाई पनि पञ्चायती गरेर पुनः पतिकै घरमा पठाउने निर्णय कति उचित थियो ? यस्तो निर्णयका पछाडि कुन सामाजिक मनोविज्ञानले काम गरेको हुन्छ ? दाइजो प्रथा राम्रो होइन, यसमा दुई मत छैन । तर, दाइजो नदिनु मात्रै समाधान होइन । यसमा स्पस्ट हुनु जरुरी छ । सुनिता यादवका पति डाक्टर थिए, तर सुनिता के थिइन् ? तिनको शैक्षिक योग्यता, क्षमता र पहिचान के थियो ? यदि उनलाई डाक्टर बनाइदिएको भए उनको जीवन के यसरी अन्त्य हुन्थ्यो ? दाइजो आफैँमा समस्या होइन ।

दाइजो छोरीलाई दिने भनिए पनि त्यसमाथि उसको अधिकार हुँदैन । दाइजोको ठाउँमा उसलाई पैतृक सम्पत्तिमा उसको भागमा आउने अंश दिए हुन्छ । मुख्य समस्या भनेको असमानता हो । क्षमता अभिवृद्धिको अवसर, साधन–स्रोतमाथिको पहुँच र शक्ति बाँडफाँडबीचको असमानता । समान क्षमता भएका केटा र केटीबीच विवाह हुन्छ भने हिंसाको सम्भावना न्यून रहन्छ । एउटा महिला पटक–पटक हिंसा सहन बाध्य हुन्छिन् भने त्यसको कारण परनिर्भरता नै हो । जाने त कहाँ जाने ? बाँच्ने त कसरी बाँच्ने ? जस्ता प्रश्नको जवाफ जबसम्म मधेसका छोरीसँग हुँदैन, तबसम्म मधेसमा सुनिताहरू मारिनु सामान्य भइरहन्छ ।
(लेखक समाजशास्त्री हुन्)