१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सम्पादकीय
२०७६ बैशाख २ सोमबार ०८:०९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

उच्च सम्भावना कमजोर सक्रियता

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७६ बैशाख २ सोमबार ०८:०९:००

नेपाल यतिवेला युवा वयमा छ । यहाँको कुल जनसंख्या तीन करोड पुग्नै लागेको छ । यीमध्ये श्रमयोग्य उमेरको सक्रिय जनसंख्या झन्डै ६३ प्रतिशत छ । अर्थात् दुई करोडभन्दा अलि कम संख्या १६ देखि ६४ वर्ष उमेर समूहमा पर्छ । यस्तो सक्रिय जनसंख्याले स्यहार गर्नुपर्ने बुढाबुढी या हुर्काउनुपर्ने केटाकेटीको संख्या भने कम छ ।

जब घरमा बसेर खानेभन्दा कमाउनेको संख्या बढी हुन्छ अनि त्यो घर खानाका दुःखले नमर्ने मात्र होइन, दुई–चार पैसा पुँडो सार्न सक्ने पनि हुन्छ । यसरी पुँडो सारिएको पैसाले केही जग्गाजमिन जोड्न, घर बनाउन, ओडापैह्री किन्न पुँजी जोगिन्छ । यसरी थपिँदै गयो भने त्यो घर बिस्तारै आफ्नो साविकको वर्गभन्दा माथि उक्लन्छ । यही हो सम्पन्नताको सिँढी । त्यसमाथि सरकार लोककल्याणकारी छ र समाजवादी विचारको छ भने त सरकारले शिक्षा, स्वास्थ्य र बुढ्यौलीको उपचार खर्च व्यहोर्ने सम्भावना पनि हुन्छ, जसले त्यस्तो परिवारको जीवन झन् सहज बनाउँछ । र, यो कुनै पनि देशको सन्दर्भमा लागू हुन्छ । 

अहिले नेपालको जनसंख्यामा सक्रिय जनसंख्याले भरथेग गरेर पाल्नुपर्ने उमेर समूहका बुढाबुढी र केटाकेटीको संख्या कम छ । यस्तो हुनु भनेको श्रमशक्ति प्रयोग गरेर गरिने आम्दानीबाट बचत गर्ने सम्भावना बढी हुनु हो । विश्वमा यसलाई जनसांख्यिक लाभ भनेर अर्थशास्त्रीले व्याख्या गर्ने गरेका छन् । जनसंख्याको यो लाभलाई हेरेर सरकारले आफ्ना आर्थिक नीति बनाउँछन् । कुनै देशको जनसांख्यिक बनोटलाई प्रभाव पार्ने तीन पक्ष हुन्छन्– जन्मदर, मृत्युदर र बसाइँसराइ । नेपालमा जन्म र मृत्युदरको प्रवृत्तिमा आएको परिवर्तनले यो अवस्था सिर्जना भएको हो । यस्तो लाभको अवस्था सधैँ रहने पनि होइन । कुल ५५ वर्ष नेपालले यस्तो अवस्थाबाट गुज्रने अवसर पाएको छ ।

उपलब्ध जनशक्तिको मानवीय पुँजी विस्तार गरी नयाँ–नयाँ प्रविधि र ज्ञानसँग परिचित गराउँदै युवासँग रहेको सम्पूर्ण सम्भावनाको उच्चतम प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ

त्यसमध्ये २७ वर्ष त खेर गइसकेको छ । अब २८ वर्ष बाँकी छ । यही अवधिमा नेपाललाई मध्यम आयको पासोबाट माथि नधकेल्ने हो भने हामीलाई दुनियाँको आर्थिकस्तरसँग नारिएर हिँड्न निकै कठिन हुनेछ । त्यो भनेको आउने २७ वर्षपछि नेपालमा ६४ वर्ष कटेको जनसंख्या बढ्दै जानेछ । त्यसो भनेको कमाउनेभन्दा खर्च गर्नेहरूको संख्या परिवारमा बढी हुने अवस्था हो । देशभरका युवा जनशक्तिलाई अधिकतम क्षमतासाथ प्रयोग गर्न सक्दा नेपालले अर्थतन्त्रका सबै क्षेत्रमा फड्को मार्ने सम्भावना छ ।

यसका लागि हामीसँग उपलब्ध जनशक्तिको मानवीय पुँजी विस्तार गर्ने, साधारण श्रम गर्नेहरूलाई नयाँ प्रविधि र ज्ञानसँग परिचित गराउन तालिम आयोजना गर्ने र एकजना युवासँग रहेको सम्पूर्ण सम्भावनाको उच्चतम प्रयोग गर्न सक्ने बनाउन आवश्यक छ । जजसले यस्तो लाभको उपयोग सही ढंगले गरे, तिनले विकासको उकालो सहजै चढे । जापानले सन् १९९० देखि नै यस्तो लाभ गुमाउन पुग्यो, त्यहीँदेखि नै त्यहाँको अर्थतन्त्र स्थिरताको सिकार भएको छ । यतिवेला त्यहाँ अरू देशबाट श्रम आयात गर्नुपर्ने बाध्यता छ । हामीले यो अवसर गुमायौँ भने हामी सधैँ अरूभन्दा गरिब रहने पक्का हुन्छ । अहिले नै यसलाई उपयोग गर्ने आधार तयार पारिहालौँ ।