मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २ सोमबार ०७:५०:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पले क्षति पुगेका घरको प्रबलीकरण सुरु

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार ०७:५०:००

नमोबुद्ध नगरपालिका ५ कानपुर फलाटेबाट पुनर्निर्माण प्राधिकरणले घरको प्रबलीकरण (रेट्रोपिटि) सुरु गरेको छ । स्थानीय छत्रबहादुर परियारको घरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्याकारी अधिकृत सुशील ज्ञवालीले रिबन काटेर प्रबलीकरणको काम सुरुवात गरेका हुन् । परियारको घर नमुनाका रूपमा रेट्रोफिट गर्न लागिएको हो । भूकम्पले सामान्य क्षति पुगेको घर प्रबलीकरणपश्चात् भूकम्पप्रतिरोधी बन्ने ज्ञवालीले बताए ।

‘यो घर मुलुककै पहिलो नमुना प्रबलीकरण घर बन्नेछ,’ ज्ञवालीले भने, ‘केही समय त हामी पनि प्रबलीकरणको विषयमा अलमलमा थियौँ  । तीन वर्ष बितेर चार वर्ष लाग्ने वेलामा प्रबलीकरणको काम सुरु भएको छ । अब देशैभरि प्रबलीकरणको काम दु्रत रूपमा अघि बढ्नेछ ।’घर प्रबलीकरण गर्दा आफ्ना पुर्खाले बनाएको घर चिनोका रूपमा सुरक्षित पनि हुने र कम लागतमा बलियो घर पनि बन्ने ज्ञवालीले बताए  । घर प्रबलीकरणका लागि तालिम लिएर इन्जिनियर गाउँगाउँमा जाने उनको भनाइ छ । 
 एउटा घरमा तीन लाख खर्च हुने
भूकम्प प्रभावित जिल्लामा प्राधिकरणको सहजीकरणमा बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी) को आर्थिक सहयोगमा एक हजार घर प्रबलीकरण गर्ने कार्यक्रम छ । एउटा घर प्रबलीकरण गर्न करिब ३ लाख रुपैयाँ लाग्ने ज्ञवालीले बताए । देशभरि आंशिक क्षति भएका ६१ हजार आठ सय ९१ घर प्रबलीकरणको सूचीमा छन् । काभ्रे जिल्लामा मात्रै ६ हजार घर प्रबलीकरण सूचीमा परेका छन् । 

 सुरुमा एक हजार घर प्रबलीकरण गरिने
देशभर नमुनाका रूपमा एक हजार घर प्रबलीकरण गर्ने प्राधिकरणको तयारी छ । भूकम्प अति प्रभावित १४ जिल्लाका सबै स्थानीय तहमा एक हजार घर प्रबलीकरण गरिने ज्ञवालीले जानकारी दिए । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले पुनर्निर्माणपछि नगरपालिकालाई नमुना नगरका रूपमा विकास गरिने बताए ।