मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रत्येक अवाले
२०७६ बैशाख १ आइतबार १२:०५:००
Read Time : > 3 मिनेट
सेयर बजार

२०७५ मा नेप्से अनलाइनदेखि आमरण अनशनसम्म

Read Time : > 3 मिनेट
प्रत्येक अवाले
२०७६ बैशाख १ आइतबार १२:०५:००

२०७५ मा नेपाली धितोपत्र बजारमा धेरै नीतिगत सुधारका कार्यहरू भए पनि बजारले भने गति लिन सकेन । वर्षको अधिकांश कारोबार दिन नेप्से नकारात्मक नै रह्यो । समय समयमा आएको नीतिगत परिवर्तनले पनि बजारको गतिलाई बढाउन सकेन । धितोपत्र बजार अनलाइन प्रणाली सञ्चालनमा आउनेदेखि लगानीकर्ता आमरण अनशन बस्नेसम्म कार्यहरू ०७५ सालमा भए । 

९३.५३ अंक घट्यो नेप्से 
१ वर्षमा नेप्से परिसूचक ९३ दशमलव ५३ अंक घटेर १ हजार १ सय ८४ दशमलव शून्य २ बिन्दुमा पुगेको छ । २०७४ चैत २९ गते नेप्से १ हजार १ सय ७७ दशमलव ५५ बिन्दुमा रहेको थियो । सो अवधिमा सेन्सेटिभ फ्लोट इन्डेक्स १८ दशमलव ८१ अंक घटेर २ सय ५३ दशमलव ६४ बिन्दुमा पुगेको छ ।

त्यसेैगरी, फ्लोट इन्डेक्स ५ दशमलव २१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ४५ अंक घटेको छ । लगानीकर्ताहरूले ०७५ मा ३५ अर्ब २८ करोड ८३ लाख गुमाएका छन् । ०७४ चैत मसान्तमा १४ खर्ब ९७ अर्ब ७९ करोड ६० लाख रहेको कुल बजार पुँजीकरण ०७५ को सोही अवधिमा घटेर १४ खर्ब ६२ अर्ब ५० करोड ७७ लाखमा सीमित भएको छ । फ्लोट बजार पुँजीकरण भने समीक्षा अवधिमा ८ अर्ब ९७ करोड ६२ लाख बढेर ५ खर्ब १४ अर्ब २ करोड १४ लाख पुगेको छ । 

समीक्षा अवधिमा नेप्सेका ११ समूहमध्ये व्यापार समूहको परिसूचकबाहेक अरू १० समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सो वर्ष ३५ दशमलव ५४ अंक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक सो अवधिमा सर्वाधिक ७ सय २५ दशमलव ३५ अंक घटेको छ । 

त्यसोैगरी, जलविद्युत् समूहको परिसूचक ३ सय ७३ दशमलव १३ अंक, उत्पादनमूलक समूहको २ सय ८२ दशमलव ५३ अंक, जीवन बिमा समूहको १ सय ६९ दशमलव ५५ अंक र होटेल समूहको १ सय ३० दशमलव ४७ अंक घटेको छ । कारोबारमा आएको लघुवित्त समूहको परिसूचक सो अवधिमा ८२ दशमलव ६८ अंक, वाणिज्य बैंक समूहको ८१ दशमलव ९२ अंक, वित्त समूहको ३० दशमलव ४८ अंक, विकास बैंक समूहको १२ दशमलव ४८ अंक र अन्य समूहको ७ दशमलव ९९ अंक घटेको छ । 

कारोबार रकम 
०७५ सालमा कुल ९१ अर्ब ११ करोड ८७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । सोमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको सेयर खरिदबिक्री भएको थियो । त्यसेैगरी, वैशाखमा सबैभन्दा बढी रकमबराबरको सेयर किनबेच भएको थियो । 

सेयर निष्कासनको अवस्था
आइपिओः नेपाल धितोपत्र बोर्ड (सेबोन) २०७५ मा कुल ३० कम्पनीहरूलाई ११ करोड ६८ लाख ९३ हजार २ सय ५८ कित्ता प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ । सोमध्ये ४ कम्पनीले वैशाखमा निष्कासन तथा बिक्री खुला गर्न आह्वान पत्र प्रकाशित गरिसकेको छ भने १ कम्पनी निष्कासनको तयारीमा रहेको छ । अन्य १५ कम्पनीहरू अझै पनि अनुमतिको पर्खाइमा रहेका छन् । 

एफपिओ : सो वर्ष ३ वाणिज्य बैंकहरूले कुल २ करोड ९५ लाख ६३ हजार ८ सय ४७ कित्ता थप सर्वाजनिक सेयर (एफपीओ) निष्कासन गरेका थिए ।  सो वर्ष नेपाल बैंक, एनएमबि बैंक र सिटिजन्स बैंक इन्टरनेशलले एफपीओ निष्कासन गरेका थिए ।

हकप्रद सेयर : सेबोनले गत वर्ष २९ कम्पनीहरूलाई कुल ९ करोड १७ लाख ६१ हजार ८ सय ८२ दशमलव ५८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो । सोमध्ये २ कम्पनीको सेयर निष्कासन तथा विक्री खुला रहेको छ । दुई कम्पनीहरू भने निष्कासनको तयारीमा रहेका छन् । अन्य ८ कम्पनीहरू अझै पनि बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । 

बोनस सेयर : सो अवधिमा १ सय ६ कम्पनीहरूले कुल ३१ करोड ३४ लाख ६७ हजार ६ सय ४१ दशमलव १० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरेका छन् । 

ऋणपत्र : १ वर्षको अवधिमा ७ कम्पनीहरूले कुल ५ लाख १६ हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएका थिए । सोमध्ये ६ कम्पनीहरूले ऋणपत्र निष्कासन गरिसकेका छन् भने १ कम्पनीको निष्कासन जारी छ । ऋणपत्र निष्कासनका लागि अन्य २ कम्पनीहरूले सेबोनमा आवेदन दिएका छन् । 

बजारलाई प्रभाव पर्ने मुख्य घटनालगानीकर्ताको आन्दोलन
सो वर्ष नेपाली धितोपत्र बजारमा इतिहासमै पहिलोपटक पुँजीबजार विस्तार तथा सुधारका लागि लगानीकर्ताहरूले आमरण अनशन बसे । बजार निरन्तर ओरालो लागे पनि नियामक निकायहरू मौन रहेको भन्दै बजार सुधारका लागि दबाब दिन सेयर लगानीकर्ता दबाब समूहका प्रतिनिधिहरूले आमरण अनशन बसेका थिए । अनशनपछि पनि उक्त समूहले नियामक निकायलाई दबाब दिन नेप्सेको कार्यालय अघि कालो बेलुन उडाउनेदेखि नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाउनेसम्मका कार्य गरे । 

सेबोन र ब्रोकरबीच विवाद
२०७५ मा नेपाल धितोपत्र बोर्ड (सेबोन) र ब्रोकरहरूबीच बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा विवाद भएको थियो । 

बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी गरेपछि ब्रोकरहरू आक्रोशित भएका थिए । जसले गर्दा बोर्ड र ब्रोकरबीचको सम्बन्ध चिस्याएको छ ।

तरलता अभाव 
बजारमा धेरैपटक तरलता अभाव भएको थियो । जसका कारण पुँजीबजार ओरालो लाग्न दबाब सिर्जना भएको थियो । बैंकहरूले लगानी गर्न पुँजी नभएका कारण कर्जा प्रवाह गर्न पाएनन् । यसले बजारलाई नकारात्मक प्रभाव पा-यो ।

अनलाइन प्रणाली 
नेपाली धितोपत्र बजारमा बहुप्रतिक्षित अनलाइन प्रणालीलाई यही वर्ष लगानीकर्ताहरूले स्वागत गरे । अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते सो प्रणालीको उद्घाटन गरेका थिए । अनलाइन प्रणाली आएपछि बजारले नयाँ उचाइ कायम गर्ने लगानीकर्ताहरूको अपेक्षा रहेका थिए । तर, सञ्चालनमा आएको अनलाइन प्रणाली लगानीकर्तामैत्री हुन सकेन । अनलाइनका कारण नेप्सेको आधिकारिक वेभसाइटमा समस्या आउने, लगानीकर्ताहरूले लाइभ ट्रेडिङ विवरण हेर्न नपाउने र कारोबार नै अवरुद्ध हुने अवस्था आएपछि लगानीकर्ताहरू निराश भएका छन् । अझै पनि अनलाइन कारोबारका लागि चाहिने युजरनेम र पासवर्ड सहज रूपमा नपाउँदा अधिकांश लगानीकर्ताहरूका लागि यो प्रणाली नाम मात्र बनेको छ । १  साउनदेखि परीक्षण गरी सञ्चालनमा ल्याए पनि अझै लगानीकर्ताहरूले सो प्रणाली पूर्णरूपमा प्रयोग गर्न सकेका छैनन् । 

बैंकहरूको ब्याजदर प्रतिस्पर्धा
०७५ को वर्षभरिी नै बैंकहरू ब्याजदर प्रतिस्पर्धामा उत्रिएका थिए । जसले गर्दा बजारलाई ओरालो लाग्न दबाब दिएको थियो । बैंकहरूले लगानीयोग्य पुँजीको अभाव भएको भन्दै ब्याजदर बढाएका थिए । बजारसँग उल्टो सम्बन्ध रहने ब्याजदर बढेपछि बजार ओरालो लागेको थियो । वाणिज्य बैंकहरूले नै यो वर्ष १२ दशमलव ५ प्रतिशतसम्म निक्षेपमा ब्याजदर घोषणा गरेका थिए । बजार तीव्र गतिमा ओरालो लागेपछि लगानीकर्ताहरूले बैंकको ब्याजदर घटाउन राष्ट्र बैंक र अर्थमन्त्रालय गुहारेका थिए । अर्थ मन्त्रालयको निर्देशनमा बैंकरहरूले १ अंकको ब्याजदर कायम गर्ने भद्र सहमति गरेका थिए ।