१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रोहित कौशिक
२०७६ बैशाख १ आइतबार ११:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतीय निर्वाचनमा गंगा नदीको मुद्दा 

करोडौँ खर्च गरी अनेक परियोजना तयार गर्दा पनि गंगालाई प्रदूषणमुक्त पार्ने दिशामा अपेक्षित सफलता हात लागेको छैन 

Read Time : > 2 मिनेट
रोहित कौशिक
२०७६ बैशाख १ आइतबार ११:३८:००

अघिल्लो लोकसभा चुनावमा भारतीय जनता पार्टीले हिन्दू धर्मावलम्बीको आस्था जोडिएको गंगा नदीको सफाइ कार्यक्रम घोषणापत्रमा समावेश गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसमा आयोजित चुनावी सभामा गंगालाई सफा र स्वच्छ राख्ने विषयमा बोलेका थिए । तैपनि, उनको कार्यकालमा गंगा प्रदूषणमुक्त हुन सकेन । समय–समयमा प्रदूषण नियन्त्रण बोर्डले सफाइ कार्यक्रम सञ्चालन गरे पनि यसबाट कुनै सकारात्मक परिणाम निस्केको छैन । तर, सत्य यही हो, करोडौँ रुपैयाँ खर्च गर्दा र अनेक परियोजना तयार गर्दा पनि गंगालाई प्रदूषणबाट मुक्त पार्ने दिशामा अपेक्षित सफलता हात लागेको छैन । प्रयागराजमा यसै वर्ष कुम्भ मेलाका क्रममा गंगा सफा गर्ने प्रयास नगरिएको होइन । तर, यो अस्थायी प्रयास मात्रै थियो । यसले नदीलाई प्रदूषणमुक्त गर्न सक्दैन, समस्या लुकाउने काम मात्रै गर्छ । गंगा नदीसँग भारतीय समाजको आस्था जोडिएको छ । तर, हामीले ध्यान दिनुपर्ने हुन्छ, अन्धआस्थाले अनेक नयाँ समस्या जन्माउँछ । गंगाप्रति भारतीय समाजको आस्था साँचो हुन्थ्यो भने न गंगा प्रदूषित हुन्थ्यो न हामीले गंगाको स्वच्छतालाई लिएर सरकारी नीतिकै भरोसामा बस्नुपर्ने दिन आउँथ्यो । 

राष्ट्रिय हरित अधिकरणले जवाफ मागेपछि राष्ट्रिय स्वच्छ गंगा मिसनले उत्तर प्रदेश, बिहार, झारखण्ड र पश्चिम बंगाल सरकारले उचित जानकारी उपलब्ध नगराएको जानकारी दिएको छ । जसका कारण कानपुरदेखि बक्सर र बक्सरदेखि गंगा सागरसम्मको रूपरेखा तयार गर्न समस्या आइरहेको छ । 

हरित अधिकरणले उत्तर प्रदेश तथा उत्तराखण्ड सरकारलाई गंगा जलको गुणस्तरका विषयमा हरेक महिना जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ । ३० अप्रिलसम्म गंगा कार्ययोजनाको रूपरेखा पेस नगरेको खण्डमा कडा कदम उठाउने चेतावनी पनि हरित अधिकरणले दिएको हो । केन्द्र सरकारले गंगा सफा गर्न ‘नमामि गंगे’ परियोजना सुरु गरेको थियो । तर, यस योजना पनि कम चुनौतीपूर्ण छैन । 

विगतका निर्वाचनझैँ यसपटकको लोकसभा निर्वाचनमा पनि स्वच्छ गंगाको मुद्दा उठेको छ । यस्तोमा प्रश्न उठ्छ– के गंगा नदीलाई चुनावी वैतरणी पार गर्ने माध्यम मात्रै बनाइएको हो ?

विज्ञान तथा वातावरण केन्द्र (सिएसई) का विशेषज्ञले केही समयअघि गंगाको सफाइ अभियान यस्तै मन्द गतिमा चल्यो भने आगामी ३० वर्षसम्म पनि यो नदी सफा हुन सक्दैन भनेका थिए । 

गंगाको किनारमा अनेक सहर र हजारौँ गाउँ छन् । यस आवादीले प्रतिदिन झन्डै १ दशमलव ३ अर्ब लिटर फोहोर गंगामा खन्याउँछ । आसपासका सयौँ उद्योगले पनि यस नदीलाई प्रदूषित गरिरहेका छन् । 

पछिल्लो केही दशकमा गंगा नदीको किनारमा जनसंख्या तीव्र गतिमा बढिरहेको छ । गंगा किनारमा बसेको यस आवादीले नदी सफा राख्न ध्यान दिएन, उल्टै प्रदूषित बनायो । यस प्रदूषणका कारण आज हैजा, पिलिया, पेचिस र टाइफाइडजस्ता अनेक रोग फैलिएका छन् । 

एकातर्फ गंगाको प्रदूषण बढिरहेको छ । अर्कातर्फ यसको उद्गमस्थल पनि प्रदूषणको चपेटामा छ । वाडिया हिमालय भू–विज्ञान संस्थानको ग्लेसियर अध्ययन केन्द्रका वैज्ञानिकहरूका अनुसार गंगोत्री ग्लेसियरको माइक्रो क्लाइमेटमा तीव्र परिवर्तन भइरहेको छ ।

यसको सतहमा कार्बन र फोहोरको कालो पत्र जम्मा भएको छ । वल्र्ड वाइल्डलाइफ फन्डका अनुसार गंगा विश्वका त्यस्ता १० नदीमध्ये एक हो, जहाँ ठूलो खतरा मडारिइरहेको छ । विगतका निर्वाचनझैँ यसपटकको लोकसभा निर्वाचनमा पनि स्वच्छ गंगाको मुद्दा उठेको छ । यस्तोमा प्रश्न उठ्छ– के गंगा नदीलाई चुनावी वैतरणी पार गर्ने माध्यम मात्रै बनाइएको हो ?

गंगा चुनावी मुद्दा बनोस् वा नबनोस् । हामीले यो सम्झन जरुरी छ, सरकारी परियोजनाकै आडमा मात्र यसलाई स्वच्छ राख्न सकिन्न । 

अमर उजालाबाट