Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मीप्रसाद दास प्रमुख कार्यकारी अधिकृत, लाइफ इन्स्योरेन्स (कर्पोरेसन) नेपाल
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ११:५०:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

धनफिर्ता योजनामा बिमाशुल्क भुक्तानीको तनाव हुँदैन : लक्ष्मीप्रसाद दास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार ११:५०:००

सात प्रश्न

भारतीय सरकारको लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोेरेसन इन्डिया र नेपालीको संयुक्त लगानीमा ०५८ सालमा एलआइसी नेपालको स्थापना भएको हो । कम्पनीमा एलआइसी इन्डियाको ५५ प्रतिशत लगानी छ भने २५ प्रतिशत विशाल ग्रुपको लगानी रहेको छ । त्यस्तै, कम्पनीमा २० प्रतिशत हिस्सा सर्वसाधारणको छ । सबै खालको जोखिमलाई समेट्ने गरी कम्पनीले विभिन्न खालका २३ वटा बिमा योजना जारी गरिसकेको छ । त्यसैमध्ये कम्पनीले हालै मात्र जारी गरेको धनवृष्टि धनफिर्ता बिमा योजनाबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दाससँग गरिएको कुराकानीको सार :

एलआइसी नेपालले ल्याएको नयाँ बिमा योजना कस्तो खालको योजना हो ?
एलआइसी नेपालले नयाँ–नयाँ बिमा योजना जारी गर्दै आएको छ । यसै क्रममा हामीले धनवृष्टि धनफिर्ता बिमा योजना ल्याएका हौँ । हामीले यसअघि पनि धनफिर्ता योजना जारी गरिसकेका छौँ । तर, त्योभन्दा पनि अझै परिष्कृत रूपमा छोटो अवधिका लागि हामीले यो धनवृष्टि योजना ल्याएका छौँ ।

अहिले मानिसहरू छिटो प्रतिफल चाहन्छन् । मान्छेहरू घरमा पकाएर खानभन्दा होटेलमा खान रुचाउँछन् । फोटो धुलाउनुपर्ने विगतलाई सेल्फीले प्रतिस्थापन गरिसकेको छ । पाँचदिने टेस्ट किक्रेट टी–२० मा परिवर्तन भइसकेको छ । मानिसको बढ्दो परिवर्तित चाहनालाई मध्यनजर गरेर एलआइसी नेपालले तीन–तीन वर्षमा धनफिर्ता हुने योजना ल्याएको हो । 

धनवृष्टि धनफिर्ता योजनामा सुविधाहरू के–के छन् ?
धनवृष्टि धनफिर्ता बिमा योजना १० र १५ वर्षे छ । १० वर्षे अवधिको बिमा योजना खरिद गर्दा कम्पनीले प्रत्येक ३–३ वर्षमा निश्चित बिमांक रकम फिर्ता गर्दै जान्छ । तपाईंले १० वर्षे अवधिका लागि १ लाख रुपैयाँ बिमांकको बिमा गर्नुहुन्छ भने पहिलो ३ वर्षमा ३३ प्रतिशत, अर्को ३ वर्षमा ३३ प्रतिशत र बाँकी ३४ प्रतिशत बिमा अवधि समाप्त भएपछि भुक्तानी गर्छ । सो समयमा बोनस रकम पनि फिर्ता गर्छ ।

त्यस्तै, १५ वर्ष अवधिको बिमामा प्रत्येक ३–३ वर्षमा १५ प्रतिशतका दरले १२औँ वर्षसम्ममा ६० प्रतिशत र बाँकी ४० प्रतिशत १५औँ वर्षमा बोनस रकमसहित फिर्ता गर्छ । यो बिमा योजनामा बिमाशुल्क भुक्तानीको कुनै चिन्ता हुँदैन । बिमितले ३ वर्षसम्म बिमाशुल्क भुक्तानी गरेपछि फिर्ता आउने रकम नै बिमाशुल्क बुझाउन प्रयोग गर्न सक्छन् ।

धनवृष्टि धनफिर्ता बिमा योजना १० र १५ वर्षे छ । तपाईंले १० वर्षे अवधिका लागि १ लाख रुपैयाँ बिमांकको बिमा गर्नुहुन्छ भने पहिलो ३ वर्षमा ३३ प्रतिशत, अर्को ३ वर्षमा ३३ प्रतिशत र बाँकी ३४ प्रतिशत बिमा अवधि समाप्त भएपछि भुक्तानी गर्छ । सो समयमा बोनस रकम पनि फिर्ता गर्छ ।

यो योजनामा भुक्तानी प्रक्रिया, योजना खरिद गर्न पाउने उमेरलगायतका कुरा के–कस्ता छन् ?
यो बिमा योजनामा १३ देखि ६० वर्षसम्मका मानिस सहभागी हुन सक्नेछन् । बिमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा पनि बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् । यस योजनाको न्यूनतम बिमांक रकम १ लाख रुपैयाँ छ भने अधिकतम बिमितको क्षमताअनुसार गर्न सकिन्छ । यो मुनाफामा सरिक हुने योजना हो । यस योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभ उपलब्ध छ । बिमितले कम्पनीबाट फिर्ता पाउने रकम पाइसकेको भए पनि बिमा अवधि बाँकी छँदै बिमितको मृत्यु भयो भने इच्छाइएको व्यक्तिले पूरै बिमांक रकम र बोनस रकम फिर्ता पाउँछ ।

यो योजनाको लक्षित समूह कुन हो ?
यो योजना विशेषगरी उद्योगी–व्यवसायीका लागि उपयुक्त हुन्छ । जसलाई वेला–वेलामा रकम आवश्यक भइरहन्छ । सामान्यतया अन्य जीवन बीमा योजनामा बिमा अवधि समाप्त भएपछि मात्र बिमांक रकम र बोनस रकम फिर्ता आउँछ । तर, यो योजनामा बीच–बीचमा रकम फिर्ता हुन्छ । बचत पनि हुने र चाहिएको समयमा पैसा फिर्ता पनि आउने भएकाले आफ्नो गर्जो टार्न सकिन्छ । दुई वर्षपछि बिमा पोलिसी धितो राखेर कर्जा पनि लिन सकिन्छ ।

लआइसीमै बिमा गर्नुपर्ने निश्चित कारण छन् कि ?
एलआइसी भारतको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । भारतमा यसको बजार हिस्सा ७५ प्रतिशत छ । जब कि भारतमा २५ वटा जीवन बिमा कम्पनी छन् । नेपालमा पनि यसको बजार हिस्सा राम्रो छ । कम्पनीले हालसम्म २३ वटा जीवन बिमा योजना बिक्री गरिरहेको छ । त्यस्तै, कम्पनीले बिमितलाई बोनस दर पनि उच्च प्रदान गरिरहेको छ । बिमितको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेकाले एलआइसीमै बिमा गर्नु राम्रो हो भन्ने हाम्रो भनाइ छ ।

कम्पनीको शाखा सञ्जाल कस्तो रहेको छ ?
कम्पनीको हाल देशभर ६२ वटा शाखा छन् भने हालै मात्र बिमा समितिबाट ३९ वटा थप शाखा सञ्चालनको अनुमति पाएको छ । ग्रामीण क्षेत्रलाई लक्षित गरेको कम्पनीले जुम्ला, मुस्ताङ, कालिकोटसम्म शाखा विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ वर्षमा कुनै नयाँ विशेष योजना छन् कि ?
हामी थप दुई–तीनवटा नयाँ योजना ल्याउने तयारीमा छौँ । यसका लागि आन्तरिक गृहकार्य भइरहेको छ । हाम्रो मुख्य योजना भनेकै देशभरका सबै क्षेत्रका मानिसम्म पुग्ने हो । हामीले लघुबिमालाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ । आगामी दिनमा यसलाई अझै प्रभावकारी रूपमा परिचालन गर्नेछौँ ।