प्रदूषणले समस्यै-समस्या

२०७५ चैत २९ शुक्रबार ११:१८:०० | काठमाडाै‌

डा. पंकज पन्त
छातीरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

काठमाडौंलगायत धेरै सहरमा वातावरण प्रदूषण छ । धुलो–धुवाँ आदिका कारण हुने यस्तो प्रदूषणले छातीसम्बन्धी विभिन्न समस्या देखापर्ने गरेका छन् । विशेषगरी, चैत–वैशाखमा अत्यधिक सुक्खापन हुन्छ । यसले झनै प्रदूषण बढ्ने गरेको छ । वायु प्रदूषणको दीर्घकालीन असरस्वरूप स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेका छन् । गाडीको चाप र यसबाट निस्कने फोहोरले सहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पु-याइरहेको छ । अब जानौँ, ती समस्याबारे ।   

प्राथमिक समस्या
वायु प्रदूषणका कारण सुरु–सुरुमा भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखापर्छन् । त्यस्तै, पछिल्लो समय श्वासप्रश्वास र दमका बिरामीको संख्यासमेत बढेको पाइन्छ । छाती कसिएको जस्तो हुने, सास फेर्न ग्राहो हुने, चाँडै रुघाखोकी लाग्ने, र नाक बन्द हुनेजस्ता लक्षण देखापरेमा सतर्क रहनुपर्छ ।

जटिल समस्या 
प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिने गरेको छ ।  यसको असरले लामो समयसम्म खोकी लागिरहने र निको नहुने हुन्छ । त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुन्छ । यस्तो भएमा पछि गएर फोक्सोमा क्यान्सर हुने सम्भावनासमेत हुन्छ । 

प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुने हुन्छ । बारम्बार अस्पताल गइराख्नुपर्नेजस्ता जटिलता थपिन्छन् । प्रदूषण र चिसोको सम्मिश्रणले बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिने गरेको छ । खासगरी ६० वर्षभन्दा माथिका मानिसमा यस्तो समस्या देखिएको छ ।

लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छन् । साथै, प्रदूषणले मुटुलाई समेत असर गर्छ । 

रोकथाम
प्रदूषणबाट बच्नु सबैभन्दा बुद्धिमानी हो । धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा माक्स लगाएर हिँड्ने । विभिन्न संक्रमणबाट बच्न धेरै भिडभाडमा नजाने ।

खानपान र जीवनशैलीमा ध्यान दिने । आफूवरपरको वातावरण सधैँ सफा राख्ने ।      

प्रतिकृया दिनुहोस