मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २९ शुक्रबार ०९:४२:००
Read Time : > 2 मिनेट
अर्थ

हवाई इन्धन चोरीमा संलग्नलाई ‘क्लिन चिट’

सुरक्षागार्ड भन्छन्– खाली १० ड्रम झार भन्दा ट्रक ड्राइभरले मानेन

Read Time : > 2 मिनेट
२०७५ चैत २९ शुक्रबार ०९:४२:००

आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोबाट चैत १९ गते दिउँसो २ बजे २ हजार लिटर हवाई इन्धन चोरी भएको घटनाको छानबिन सकिएको छ । छानबिन टोलीले तयार गरेको प्रतिवेदनमा इन्धन चोरी नभएको र कसैलाई पनि दोषी भन्न नमिल्ने निकर्ष निकालेको छ । 

ग्यास तथा एभिएसन विभाग प्रमुख दीपक बराल, उपनिर्देशक अशोह साह र वरिष्ठ सहायक श्यामकृष्ण महर्जन सम्मिलित छानबिन टोलीले निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेललाई बुझाएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनमा विमान कम्पनी श्रीएयरलायन्सले ६ हजार लिटर इन्धन लिन आउँदा १० वटा ड्रममा तेल भरिएकै अवस्था रहेको निष्कर्ष निकालेको छ । सोही १० ड्रममा २ हजार लिटर इन्धन चोरी भएको आशंकामा छानबिन गरिएको थियो ।

श्रीएयरलायन्सले हेलिकोप्टर सेवाका लागि ६ हजार लिटर हवाई इन्धन खरिद गर्न निगमबाट स्वीकृति लिएको थियो । त्यसका लागि २ सय लिटर क्षमताका ३० ड्रम कन्टेनरमा हालेर डिपोभित्र जान अनुमति दिइएको थियो । तर,  कन्टेनर बाहिरिनेक्रममा सुरक्षागार्डले चेकजाँच गर्दा ४० ड्रम फेला परेपछि चोरीको आशंकामा छानबिन गरिएको हो । भरिएको ४० वटै ड्रममा ८ हजार लिटर इन्धन अटाउँछ । थप गरिएका १० ड्रममा स्वीकृति लिएभन्दा २ हजार लिटर बढी इन्धन लोड गरेर कन्टेनरमा हालिएको थियो । 

स्वीकृति लिएभन्दा बढी इन्धन श्रीएयरलायन्सले लैजाँदै गरेको अवस्थामा कन्टेनर नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको थियो । त्यसक्रममा श्रीएयरलायन्सले धादिङको सल्यानटारबाट बाँकी रहेको १० ड्रममा २ हजार लिटर तेल बोकेर आएको र सोही तेल बढी देखिएको छानबिन टोलीको निष्कर्ष छ । ‘१९ चैतमा निमगले श्रीएयरलायन्सलाई ड्रममा ६ हजार लिटरभन्दा बढी हवाई इन्धन भरी पठाएको पुष्टि हुने कुनै आधार देखिँदैन,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले प्रतिवेदन पाएपछि थप छानबिन अघि बढाएका छन् । स्रोतका अनुसार उनले चोरीमा संलग्न कर्मचारीलाई थप स्पष्टीकरण पेस गर्न निर्देशन दिइसकेका छन् । 

सबैसँग बयान
छानबिन टोलीले तेल लिन ट्रक नम्बर ९८९० का चालक तेन्जिङ शेर्पा र श्रीएयरलायन्सका कर्मचारीहरू राजनविक्रम शाह र गौरव रानामगर, सिनामंगल डिपोका सुरक्षागार्ड तिलकुमार नगरकोटी, डिपोका ब्राउजर अपरेटर गोपाल नकर्मी, उपबन्धक विदुर कोइराला र कार्यालय प्रमुख मनोज ठाकुरलाई बयान लिएको थियो । 

ट्रकका चालक शेर्पाले ३० को स्थानमा ४० आफैँले लेखेको बयान दिएका छन् । श्रीएयरलायन्सका कर्मचारीहरू शाह र रानामगरले संयुक्त बयान दिँदै १० ड्रम भरिएकै अवस्थामा निगमभित्र गएको दाबी गर्दै ६ हजार लिटरको पैसा तिरेर निगम कर्मचारीका रोहबरमा ३० ड्रममा तेल हालेको बताएका छन् । ‘३० ड्रममा इन्धन लिन १० वटा भरिएको ड्रमसहित ४० राखेको गाडी नम्बर बा.१ख ९८९० लिएर आएको हो । केरमेट सम्बन्धमा भुलवश हाम्रोतर्फबाट भएको हो ।’ उनीहरूले माग भएको विवरणभन्दा बढी तेल नदिएको जिकिर गरेका छन् ।

सुरक्षागार्ड भन्छन्– खाली १० ड्रम झार भन्दा ट्रक ड्राइभरले मानेन
सुरक्षागार्ड तिलकुमार नगरकोटीले छानबिन टोलीलाई दिएको बयानमा भने श्रीएयरलायन्सले ८ हजार लिटर तेल लैजाने मनसायले नै ४० ड्रम लगेको बयान दिएका छन् । उनले छानबिन टोलीसँगको बयानमा भनेका छन्, ‘१९ चैतको गाडी नम्बर ९८९० मा इन्ट्री पासअनुसार ६ हजार लिटर तेल लाने भनेको र त्यसपछि गेट पास हेर्दा ३० को ठाउँमा केरमेट गरी ४० गरेको र ड्रम गन्दा ४० वटा भएको । १० वटा ड्रम झार भन्दा होइन भनेर ८ हजार लिटर लाने भनेको र आफैँले गेटपास केरमेट गरेको देखेको । र, ४० वटा ड्रम नै लिएर भित्र गएको । मैले ड्रम गन्दा भएको र ड्रममा तेल भएको–नभएको जाँच मैले नगरेको । तेल लिन आउनेले पनि जानकारी नदिएको । इन्ट्री पासमा केरमेट गाडीवालाले नै गरेको हो ।’