मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विप्लव ढकाल कवि
२०७५ चैत २९ शुक्रबार ०९:११:००
Read Time : > 2 मिनेट
साहित्य

वैशाख १ मेरो जन्मदिन : विप्लव ढकाल

Read Time : > 2 मिनेट
२०७५ चैत २९ शुक्रबार ०९:११:००

नयाँ वर्ष संवाद

नयाँ वर्षमा मेरो जन्मदिन पर्छ । त्यसैले नयाँ वर्ष परिवारको साथमै बिताउनेछु । कुनै सार्वजनिक कार्यक्रममा जान्न । व्यक्तिगत जीवनसँग जोडिएको दिन भएकाले एकदम निजी जीवन बाँच्छु । हरेक नयाँ वर्षको दिन परिवारले मलाई सरप्राइज दिन्छन् । छोरा र श्रीमतीबाट सोच्दै नसोचेको उपहार पाउँछु । खासमा मेरो जन्मदिन श्रीमती र छोराले मनाइदिन्छन् । अब त बानी नै लागेछ क्यार, म उनीहरूको सरप्राइज नै कुरिरहेको हुन्छु ।

यस्तो हुनेछ मेरो ०७६ साल
नयाँ वर्षमा सबैले वर्षभरिको योजना बनाउँछन् । मैले पनि यो–यो गर्छु भनेर सोचेका काम टन्नै छन् । नेपाली साहित्यमा मातृ भाषासहितको समावेशीकृत इतिहास लेखनको काम लगभग पूरा गर्न लागेको छु । त्यसलाई म पहिलो प्राथमिकतामा राख्नेछु । भौगोलिक र सांस्कृतिक रूपमा माझ किरातलाई केन्द्रमा राखेर लेखनको काम गरिरहेको छु । 

मैले यो काम गर्नुको उद्देश्य नेपाली साहित्यको बृहत् इतिहास लेखनको आधारभूमि निर्माण नै हो । विगत ६ महिनादेखि गुप्तबास बसेर लेखिरहेको छु । शीर्षकचाहिँ जुराइसकेको छैन । यसमा धेरै मातृभाषा समेटिएका छन् । सबैलाई एउटै कभरभित्र सुन्दर ढंगले प्रस्तुत गर्ने योजनामा छु । गत वर्ष कविताको कोरियोग्राफीमा पिएचडी गरेँ । पिएचडीको थेसिसलाई किताबको रूपमा ल्याउने योजनामा छु । मेरो नयाँ कविता संग्रह पनि तयारी अवस्थामा छ । त्यसमा केही काम गर्न भने बाँकी छ । आफ्ना कविताको पुनः सम्पादनमा लाग्नेछु । सम्भवतः एकदम निर्मम भएर सम्पादन गर्नेछु । प्रकाशनमा पनि ल्याउनेछु । मभित्रको समालोचकलाई पनि ब्युँझाएर सम्पादन गरेर प्रकाशन गर्ने योजनामा छु ।

संवत ०७५ उपलब्धिको वर्ष
०७५ ले मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि बोकेर आइदियो । पिएचडी गर्ने सानैदेखिको सपना थियो । यो औपचारिक शिक्षाको अन्तिम खुड्किलो पनि हो । अनि ०७५ साल मेरो विवाह भएको २५औं वर्ष पनि हो । रजत जयन्ती । तर, मेरो धेरै समय पिएचडीको अनुसन्धान पूरा गर्नमै बित्यो । कविता पनि प्रसस्त लेखेँ । 

साथीभाइ/पाठकले खुब रुचाएका भ्यागुताको बिहे, सिलिकन सुन्दरी, सेक्सी चुनरी झ्याप्प–झ्याप्प, गालीलगायत कविता यही वर्ष लेखेको हुँ । ०७५ मा अलि बढी नै कविता लेखेँजस्तो लाग्छ । मलाई नै एकदम मन परेको कविता भने ‘तिमी आएपछि’ भन्ने हो । 

मैले नबिर्सने नयाँ वर्ष
मलाई हरेक नयाँ वर्ष विशेष लाग्छ । तर, एउटा नयाँ वर्ष भने मैले दिनभर रोएर बिताएको छु । त्यो म ४० वर्ष पुगेको नयाँ वर्ष हो । ४० वर्षसँग जोडिएका अनेक किस्सा छन् हाम्रो समाजमा । त्यही भएर पनि मलाई ४० को मानसिकताले चिथेको थियो । ‘म ४० पुगेँ’ भन्दा एकदम अत्यास लागेको थियो । ठूलो लडाइ छिचोलेर आएको र बुढो भएको महसुस भएको थियो । एकैपटक अनेकौँ प्रश्नको आक्रमणबाट गुज्रिएको थिएँ । 

त्यो वर्ष मलाई श्रीमतीले ज्याकेट या घडी उपहारस्वरूप दिएकी थिइन् । जन्मदिन पनि राम्रैसँग मनाइएको थियो । तर, मैले सबै बिर्सिएँ । मलाई उपहारको मतलब नै थिएन । बुढो भएको पिरलोले खुब किचेको थियो । 

नयाँ वर्षबारे कविता लेख्नै सकिनँ 
निकै वर्ष पहिले मैले नयाँ वर्षबारे कविता लेख्छु भनेर कोसिस गरेँ । तर, जबरजस्ती सिर्जना नहुने । जति कोसिस गरे पनि लेख्नै सकिनँ । केरकार त पारेँ, तर गतिलो नै भएन । एउटा खास घटनाले कविलाई हिर्काएपछि कविता लेख्ने हो । त्यसले समयको पनि माग गर्छ । कविता लेखनमा मेरो एक–दुई कमजोरी छन् । आमाका बारेमा, जन्मदिनका बारेमा र नयाँ वर्षका बारेमा कविता लेख्न कहिल्यै सकिनँ ।