मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तवलीन सिंह
२०७५ चैत २९ शुक्रबार ०८:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतीय आमनिर्वाचनमा सामन्तवादको मुद्दा 

Read Time : > 2 मिनेट
तवलीन सिंह
२०७५ चैत २९ शुक्रबार ०८:५३:००

बिहीबारदेखि भारतको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा बिहीबार कुल पाँच सय ४५ मध्ये ९१ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भयो । अब बाँकी ६ चरणमा मतदान हुनेछ । अप्रिल १८, २३, २९ तथा मे ६, १२ र १९ मा देशका विभिन्न भूभागमा मतदान हुने कार्यतालिका छ । 
निर्वाचनमा मैले सुझाएको सबैभन्दा ठूलो मुद्दा सायद मुद्दा नै नबन्न सक्छ । यो मुद्दा हो सामन्तवाद, जो दशकौँदेखि कंग्रेसको परम्परा बनेको छ । सामन्तवादलाई निःसंकोच समाजवादको कपडाले ढाकिएको छ, तर राहुल गान्धीले भर्खरै दिएको भाषणमा थोरै मात्र ध्यान दिनुभयो भने तपाईंले सामन्तवादको झल्को पाउनुहुन्छ । 

ध्यान दिनुस्, कसरी उनले न्यूनतम आय योजना भारतका गरिबलाई दिने वाचा गरेका छन् । कंग्रेस अध्यक्षले आफ्नो गरिबी हटाउने नयाँ योजनाको घोषणा यसरी गरेका छन्, जसरी उनले हरेक वर्ष गरिबलाई आफ्नो खल्तीबाट ७२ हजार रुपैयाँ निकालेर दिनेछन् । यो पैसा यस देशका करदाताको हो, तर हामी यसलाई सरकारी पैसा भन्छौँ । त्यसैले हामी यो पैसा कसको हो भुल्ने गर्छौं । जनताले पनि यसलाई भुल्ने गर्छन्, किनकि उनीहरू सदियौँदेखि गरिब र अशिक्षित रहँदै आएका छन् । 

लोकतान्त्रिक प्रतिस्पर्धामा कंग्रेसका नेता सत्तामा फर्कन गरिबलाई लोभ्याउने गरी काल्पनिक ढुकुटी खोल्ने दाबी गरिरहेका छन् 

कुनै वेला राजा–महाराजा अकाल या अन्य कुनै संकटको समयमा आफ्नो ढुकुटी खोलेर पैसा बाँड्थे । त्यसै बहानामा उनीहरूले नयाँ महल बनाउने गरेको कमैले देख्थे, किनकि उनीहरू अकालको समयमा किसानलाई रोजगारी दिने राम्रो माध्यम हुने गर्थे । आज त्यसैगरी लोकतान्त्रिक प्रतिस्पर्धामा कंग्रेसका नेता सत्तामा फर्कन गरिबलाई लोभ्याउने गरी काल्पनिक ढुकुटी खोल्ने दाबी गरिरहेका छन् ।

कंग्रेसको सामन्तवादी चरित्रको एक उदाहरण यो पनि हो कि यस दलका समर्थक प्रियंका गान्धीलाई आफ्नो ‘ब्रह्मास्त्र’ भन्छन् । त्यसैले नरेन्द्र मोदीलाई हराउन कंग्रेस अध्यक्षले परिवारवादको यो ब्रह्मास्त्र निकालेका छन् । तर, हामी पत्रकार कंग्रेसको ‘धर्म निरपेक्ष’ चरित्रलाई भारतीय जनता पार्टी (भाजपा) को ‘साम्प्रदायिक’ चरित्रभन्दा धेरै मन पराउँछौँ । यस्तोमा धेरै कम विश्लेषक छन्, जसले कंग्रेसलाई सामन्तवादी भनेका छन् । कंग्रेसका ४४ मध्ये अधिकांश सांसद कुनै न कुनै राजनेताका उत्तराधिकारी हुन् । तर, निरपेक्षताको बहानामा हामी यसमा धेरै ध्यान आकर्षित गर्न सक्दैनौँ । 

कास्मिरदेखि कन्याकुमारीसम्म महागठबन्धनमा जति पनि दल सामेल छन्, सबै वंशवादका विरासतमा चलेका छन् । यो सामन्तवाद होइन भने के हो ?

भारतले लाज मान्नुपर्छ, स्वतन्त्रताको ७० वर्षमध्ये ५५ वर्ष हामीमाथि एकै परिवारले शासन ग¥यो । भारतले लाज मान्नुपर्छ, यस चुनावमा पनि प्रतिपक्षको पैरवी त्यही परिवारले गर्दै छ । अझ यस्तो गठबन्धनले गर्दै छ, जहाँ सामन्तवादी प्रवृत्तिका राजनीतिक दलहरू बाँधिएका छन् । कास्मिरदेखि कन्याकुमारीसम्म यस महागठबन्धनमा जति पनि दल छन्, सबै वंशवादका बिरासतमा चलेका छन् । यो सामन्तवाद होइन भने के हो ?

चुनावी भ्रमणमा म पछिल्ला दिन जहाँ पनि पुग्छु, गाउँबस्तीमा अधिकतम यस्ता व्यक्ति भेटिन्छन्, जसले खुलेर नरेन्द्र मोदीको समर्थन गर्छन् किनकि उनले देशका लागि काम गरिरहेका छन्, आफ्नो परिवारका लागि होइन । सर्वेक्षणले पनि देखाएको छ, अधिकांश भारतीय दोस्रोपटक मोदी प्रधानमन्त्री बनेको हेर्न चाहन्छन् । मोदीका गल्ती हामीलाई ठूलो लाग्छ, हामी उनका ठूला उपलब्धिलाई बेवास्ता गरेर त्यसको गणना गर्छौं । मेरो दृष्टिमा मोदीको पछिल्लो पाँचवर्षे कार्यकालमा उनको परिवारका कुनै एक सदस्य पनि सत्ताको मस्ती लुट्न अगाडि आएनन् । यही नै उनको ठूलो उपलब्धि हो । आज पनि उनकी बुढीआमा त्यही सानो घरमा बस्छिन्, जहाँ पहिले बस्ने गर्थिन् । प्रधानमन्त्री निवासमा उनी अतिथि बनेर मात्रै आउँछिन् । वास्तविक लोकतान्त्रिक देशमा मात्र यस्तो हुन्छ । 

(सिंह राजनीतिक लेखिका तथा साहित्यकार हुन्) 
अमर उजाला दैनिकबाट