हिट गीतका गुमनाम संगीतकार

२०७५ चैत २८ बिहीबार १०:०८:०० | काठमाडाैं

आशिषको खोजीमा युट्युब चहारेपछि थाहा भयो– उनको नाममा हिट गीतहरूको लामो सूची रहेछ । अहिले चर्चाको शिखरमा रहेको लोकगीत ‘सालको पात टपरी हुने’ उनैले एरेन्ज गरेका हुन् । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको यो गीतले पार्टीहरूमा घन्कने हिन्दी गीत नै विस्थापन गरिदिएको छ । सार्वजनिक सवारीसाधनमा बजिरहेकै छ ।

उनले कम्पोज गरेका ‘तिमीविनाको जीवन सोच्नसम्म नि म सक्दिनँ,’ ‘तिमीले दिने माया अजम्बरी छ भने’ जस्ता कालजयी गीत अहिले पनि उत्तिकै सुनिन्छन् । यी गीतका गायक नरेन्द्र प्यासीलाई सबैले सम्झन्छन् । तर, खास सर्जक भने आशिष अविरल हुन् ।  उनले पहिला संगीत सिर्जना गरेर शब्द लेख्न लगाए । अनि गायक खोजे । र, आफ्नै एल्बम ‘बासना’मा राखे ।

आशिषका बारेमा लेख्दा यी गीतका प्रसंग आउने नै भए । त्यहाँसम्म पुग्न उनले गरेका संघर्षका किस्सा रोचक र पीडादायी दुवै छन् । अनि भर्खरै फिल्ममा गीत दिएका छन् । फिल्ममा ‘डेब्यु’ गर्दाका किस्सा पनि रोचक छन् ।

केही महिनाअघि आशिष आफ्नो राग स्टुडियो पुतलीसडकमा गीत एरेन्ज गरिरहेका थिए । एक दिन ‘ए मेरो हजुर ३’ को टिमसँग भेट भयो । उनले कम्पोज गरिरहेको पश्चिमी धुन अलि बढी हावी भएको संगीत सुनाए । सुन्नासाथ नै फिल्मको टिमले लिने भयो । उनले गीत आफ्नो एल्बमका लागि बनाएका थिए । तर, फिल्ममा डेब्यु गर्न पाउने भएपछि उनी दिन तयार भए । फिल्मको टिमले एउटा सर्त राख्यो, ‘यसलाई अलिकति नेपाली कलर दिनुपर्‍यो ।’ आशिषले त्यसै गरिदिए । शब्द एकनारायण भण्डारीको थियो । सुगम पोखरेल र प्रविशा अधिकारीले गाउने भए । आशिषले फिल्ममा डेब्यु गरे । गीत थियो, ‘जिन्दगी नै भन्दिनँ म’ । उनको गीत युट्युबको ट्रेन्डिङमा गयो ।  

आशिषसँग अर्को गीत पनि थियो, ‘परान’ । आनन्द अधिकारीले रचेको यो गीत उनले एकजना गायकका लागि कम्पोज गरेका थिए । यो गीत पनि उनले ‘ए मेरो हजुर’ टिमलाई नै सुनाए । गन्धर्वले गाउने कर्खा शैलीमा आधारित थियो । यसै पनि आशिष झलकमान गन्धर्वबाट निकै प्रभावित छन् । झलकमानलाई ‘आइडल’ नै मानेका छन् । झलकमानकै गायनशैली र ट्युनिङको प्रकृतिलाई गीतमा चित्रण गरेका थिए । 

गीतको डमी सुनेपछि फिल्म टिमले आफूहरूले त्यस्तै खोजिरहेको बताए । आशिषकै स्वरमा एकपटक सुन्ने चाहना पनि राखे । आशिषले सुनाए । अनि त फिल्म टिमले गाउन पनि उनलाई नै आग्रह गर्‍यो । उनले अन्जु पन्तसँग मिलेर गाए । गीत युट्युबमा अपलोड भएको २४ घन्टामा ‘मिलियन भ्युज’ नाघ्यो । २४ घन्टाभित्र सबैभन्दा बढी भ्युजको रेकर्ड नै तोड्यो ।  आशिष मुस्कुराउँदै भन्छन्, ‘सिनेमामा डेब्यु पनि सफल तरिकाले गरेँजस्तो लाग्छ ।’ 
०००
आशिषले ०६० को दशकको सुरुतिरै लोकगीतको एल्बम ल्याएका थिए । त्यति सफल भएनन् । सहरमा बाँच्ने वातावरण भने बन्यो । स्टुडियोहरूमा काम गर्थे । संगीतमै केही गर्न लागिपरेका उनलाई ०६४ सालमा एपेन्डिक्स भयो । थला परे । केही समय घरभित्रै भए । आशिषले संगीतमा आफ्नो भविष्य खोजिरहेको समय थियो, त्यो । 

बिरामी भएर बसिरहँदा के गर्ने त ? उकुसमुकुस भयो । छटपटीले गिजोल्यो । किबोर्ड कोठामा मगाए । किबोर्ड पनि २०–२५ केजीको हुन्थ्यो । बोकेर कतै लान निकै गाह्रो । औँलाहरू सन्चै थिए । तिनै औँला किबोर्डमा नचाउन थाले । नयाँ गीतको धुन बनाए । शब्दहरू लेखिइसकेका थिएनन्  । 

केही समयपछि उनी तन्दुरुस्त भए । बिरामी हुँदा बनाएको गीत स्टुडियोमा एरेन्ज गरे । धुन भरियो । अब शब्द चाहियो । आशिष नयाँ थिए । कसैले चिन्दैनथे । ‘भर्खर आएको मान्छेलाई कसले चिन्ने र ! गीतकार आनन्द अधिकारीकहाँ गए । गीतमा शब्दहरू उनैले भरिदिए,’ उनले सुनाए ।

आनन्द अधिकारीले धुनमा भरिदिएका शब्द थिए, ‘तिमी विनाको जीवन सोच्नसम्म नि म सक्दिनँ, फूलविनाको बासना सोच्नसम्म नि म सक्दिनँ’ ।’ उनले कम्पोज गरेको पहिलो आधुनिक गीत यही थियो । संगीत र शब्द तयार भएपछि उनले मोहमद रफीको जस्तो–जस्तो प्रकारको स्वर चाहिने महसुस गरे । उनले भेटाए, नरेन्द्र प्यासी ।

आशिष नरेन्द्रको घरै पुगे । उनी सम्झन्छन्, ‘नरेन्द्र दाइले केही लाइट गीतहरू सुनाउनुभयो ।’ उनको गला सुनेपछि आशिषलाई लाग्यो– नरेन्द्रबाहेक अरूलाई फिट हुन्न यो गीत । उनले गीतको ट्युन सुनाइहाले । ट्युन सुनेपछि नरेन्द्रले भने, ‘यति भए हुन्छ, काम गरौँ ।’ आशिषको खुट्टा एकैपटक आकाशमा उड्यो । आशिष हाँस्दै भन्छन्, ‘दाइले दुई लाइन गीत नै नसुनी ओके भन्नुभएको थियो ।’ 

नरेन्द्र प्यासीले तीन–चारपटक टेक लिएको अहिले पनि उनको आँखामा झलझल्ती छ । आशिष अलि जिद्दी छन् । मन नपरेसम्म ‘ओके’ नभन्ने । भन्छन्, ‘दाइलाई रिटेक लिन लगाउनु भनेको मैले सोचेको रिदममा गीत गाउन लगाउनु थियो ।’ गीत तयार भयो । अनि लगत्तै अर्को पनि गीत नरेन्द्रकै स्वरमा रेकर्ड भयो, ‘तिमीले दिने माया अजम्बरी छ भने’ ।

उनले कम्पोज गरेका ‘तिमीविनाको जीवन सोच्नसम्म नि म सक्दिनँ’, ‘तिमीले दिने माया अजम्बरी छ भने’ जस्ता कालजयी गीत अहिले पनि उत्तिकै सुनिन्छन् । यी गीतका गायक नरेन्द्र प्यासीलाई सबैले सम्झन्छन् । तर, खास सर्जक भने आशिष अविरल हुन् । उनले पहिला संगीत सिर्जना गरेर शब्द लेख्न लगाए । अनि, गायक खोजे ।

एल्बम बजारमा गयो । त्यतिवेला सिआरबिटी र पिआरबिटी भर्खर लन्च भएको थियो । सिआरबिटी÷पिआरबिटीको एक नम्बर र दुई नम्बरमा बासना एल्बमकै गीत थिए । त्यो वर्ष सबैभन्दा बढी 

‘बासना’ एल्बमका यी दुई गीत नै डाउनलोड भए । आशिष सम्झन्छन्, ‘पहिलो डेब्युले श्रोताको यति धेरै माया पाएपछि मैले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।’ सिनेमामा डेब्यु गर्दासम्म उनका धेरै गीत आए । जति आए, सफल भए । 
०००
उनको घर बाग्लुङ । त्यहाँ हुँदै संगीतमा रुचि थियो । साथमा थियो– पञ्चेबाजा । बासँगै जन्त जाँदा बजाउन थाले । अपमानको ठूला–ठूला झापड आशिषको गालाभन्दा ज्यादा छातीमा बज्रन्थ्यो । लातले हान्नु जन्तीहरूका लागि स्वाभाविक थियो । आशिषका लागि अस्वाभाविक । अनि आशिष बाजा बजाउन भनेर अर्काको घरमा कहिल्यै गएनन् । 

तर, बाजासँगको प्रेममा परेका थिए । जन्तीको लातले कहाँ बाजाबाट छुट्न सक्थे र ! भन्छन्, ‘त्यसपछि सदरमुकाम आएर रक्तिम सांस्कृतिक अभियानमा पाँच वर्ष लागेँ ।’ एक दिन एक नेताले ‘तपाईंजस्तो मान्छे काठमाडौंमा गएर संघर्ष गर्नुपर्छ’ भनेपछि आशिषको सपना सहर छिर्‍यो, ०५७सालमा । 

सहर सिन्डिकेटले आक्रान्त थियो । एउटा उखान छ, सबैले बलेकै आगो ताप्छन् । आशिषले निर्णय लिए, ‘म आफैँ आगो बाल्छु, अरूलाई तपाउँछु ।’ आशिषको कसैले आशिष नदिएको यात्रा सुरु भयो । अहिले त आशिषले यो सहरमा धुन बजाएको पनि १८ वर्ष भइसक्यो । उनले ०६४ मा डेब्यु गरे एल्बममा, ०७५ मा सिनेमामा । आशिष भन्छन्, ‘दुवै डेब्यु उस्तै रहे, दुवैले सफलताको स्वाद चखाए ।’ 

०६४ मा आएको गीतले आशिषको सांगीतिक यात्राको सबैभन्दा ठूलो जग खनिदियो । त्यो समयमा आएको आशिषको गीतको मेलोडी फरक थियो । उनी सम्झन्छन्, ‘त्यो समयमा रोनाधोना गीतको बजार थियो, मेरो गीत ती गीतका विरुद्धमा उभिए ।’ त्यतिवेला उनी सुन्थे, फलानो गीत सुनेर मान्छेले आत्महत्या गर्‍यो अरे । आशिषको भनाइ छ, ‘त्यो त संगीतभन्दा ज्यादा विष भयो ।’ आशिषकोे एउटा सिद्धान्त छ : संगीत जीवनका लागि हुनुपर्छ, मृत्युका लागि होइन ।

प्रतिकृया दिनुहोस