१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत १६ बिहीबार ०८:४३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोफसल फुटबल : मनाङ खप्तड गोल्डकपको उपाधिनजिक

Read Time : > 2 मिनेट
२०७९ चैत १६ बिहीबार ०८:४३:००

कानुनी प्रक्रिया पूरा नभएका कारण क्यामरुनको एभिनरले मनाङविरुद्ध ९ खेलाडी मात्र मैदानमा उतारेको थियो । मध्यान्तरपछि दुई खेलाडीले रातो कार्ड पाउँदा एभिनर सात खेलाडीमा सीमित भयो ।

मनाङ मर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । धनगढी रंगशालामा बुधबार भएको सेमिफाइनलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै मनाङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मनाङले उपाधिका लागि बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब र थ्री स्टार क्लबबीचको दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ ।

क्यामरुनको एभिनरविरुद्ध बल अगाडि बढाउँदै मनाङका खेलाडी ।

केवल नौ खेलाडी मात्र टोलीमा समावेश गरेको क्यामरुनमाथि मनाङ हावी भएको थियो । कानुनी प्रक्रिया र कागजात पूरा नभएर क्यामरुनका दुईजना खेलाडीले मनाङविरुद्ध खेल्न पाएनन् । त्यसपछि एभिनरले आफूसँग भएका नौजना खेलाडीलाई मात्र मैदानमा प्रवेश गराएको थियो । मनाङको जितमा सायिजमलले ह्याट्रिक गरेका थिए । मनाङका लागि खेलको १२औँ मिनेटमा जीवन गुरुङले १–० को अग्रता दिलाए । 

पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो । पहिलो हाफमा फल गरेका जोर्डन जुनियरले पहेँलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र रेफ्रीसँग अभद्र व्यवहार गरेका कारण रातो कार्ड पाए ।

दोस्रो हाफमा एभिनर सात खेलाडीमा सीमित
त्यसको केही मिनेटपछि गोलरक्षक विल्सनले पनि रातो कार्ड पाएपछि एभिनर सातजनामा सीमित भयो । मनाङले प्रतिस्पर्धामा यसको भरपूर फाइदा लियो । दोस्रो हाफमा मनाङले पाँच गोल गर्‍यो । खेलको ५४औँ मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । त्यसपछि सायिजमलले ५९औँ, ६७औँ र ७७औँ मिनेटमा गोल गर्दैै ह्याट्रिक पूरा गरे । खेलको ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छैटौँ गोल गरे । 

क्यामरुनले चार खेलाडीको अनुपस्थितिमा पनि मैदानमा केही अवसर बनाएको थियो । मनाङका सायिजमल म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताका विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

लुका सकर र विराटनगर सिटीबीच उपाधि भिडन्त

विराटनगर- भारतको लुका सकर र घरेलु टोली विराटनगर सिटीले बिहीबार विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्दै छन् । सातौँ संस्करणको प्रतियोगिता सहिद रंगशालामा रात्रिकालीन समयमा हुनेछ । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको लुका सकर उपाधि जित्न आत्मविश्वासी देखिन्छ । घरेलु टोली विराटनगर दोस्रोेपटक गोल्डकपको उपाधिनजिक पुगेको हो । विराटनगर सिटीले फाइनल स्थान पक्का गर्नेक्रममा पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई हराएको थियो । 

विराटनगरले क्वार्टरफाइनलमा पुलिसलाई १–० र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले पराजित गरेको थियो । लुका सकरले क्वार्टरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोल र सेमिफाइनलमा साबिक विजेता एपिएफलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । 

उपाधि जित्ने दाबी
फाइनलअघि बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले गोल्डकप उपाधि आफूहरूले उचाल्ने दाबी गरेका छन् । विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानेले घरेलु मैदानमा उपाधि हात पार्ने बताए । ‘हाम्रो लक्ष्य घरेलु मैदानमै विराट गोल्डकपको उपाधि सुरक्षित गर्नु हो । यसमा हामी पूरै तयार छौँ ।’ लुका सकरका प्रशिक्षक नभास नोकाले नेपालकै प्रतिष्ठित गोल्डकप उपाधि उचाल्न आतुर भएको जनाए । विराटनगरका कप्तान विशाल श्रेष्ठले घरेलु मैदान र दर्शकको साथ फाइनलमा रहने जनाए । 

‘हामीलाई थाहा छ, यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी अहिलेसम्म राम्रो खेल खेल्छौँ,’ लुका सकरका प्रशिक्षक नोकाले भने, ‘साबिक विजेता एपिएफलाई हराएको कारण फाइनल सहज हुने अनुमान छ ।’  प्रतियोगिताका विजेताले २० लाख १५ हजार र उपविजेता टिमले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

हिमालयन शेर्पा फाइनलमा 
सिमरा-
हिमालयन शेर्पा १३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको बुधबार भएको सेमिफाइनलमा हिमालयनले मकवानपुर ११ हेटौँडालाई ३–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । हिमालयन एक दशकभित्र प्रतियोगितामा तेस्रोपटक फाइनलमा पुगेको हो । ०६७ सालमा हिमालयन उपविजेता बनेको थियो । हिमालयनले खेलको २९औँ मिनेटमा सुशील राईको गोलबाट १–० को अग्रता  लिएको थियो । 

हिमालयनका लागि निशान लिम्बूले मध्यान्तरपछि दुई गोल गरेका थिए । उनी कप्तान विश्वास श्रेष्ठको स्थानमा मैदानभित्र प्रवेश गरेका थिए । खेलको ८७औँ मिनेटमा मिलन राईको पासमा निशानले हिमालयनलाई २–० को अग्रता दिलाए । डिबक्सभित्र मकवानपुरका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा निशानले गोल गरेका हुन् । खेलको अन्तिम समयमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दा हिमालयन ३–० ले विजयी भयो । 

क्वार्टरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयनसामु निरीह देखियो । प्रतियोगिताअन्तर्गत बिहीबार साबिक विजेता न्युरोड टिमले चर्च ब्वाइज युनाइटेडविरुद्ध दोस्रो सेमिफाइनलमा सामना गर्नेछ ।