मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १७:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितका माग पूरा गर्न सांसदले गराए सरकारकाे ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १७:२०:००

सांसदहरूले मिटरब्याजपीडितहरूको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानबाट काठमाडौंमा आई आन्दोलनरत पीडितहरूको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एकजना मिटरब्याजपीडित सिराहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौंको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर उनीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे। 

समय माग गर्दै बोल्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याजपीडितहरूको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरूलाई न्याय दिन आग्रह गरे। साथै, उनले आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुर्व्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाए। 
  
सांसद लिङ्देनले कोसी प्रदेशको नामकरणपछि चर्किएको आन्दोलन मुठभेडतर्फ अगाडि बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समाधान खोज्न ध्यानाकर्षण गराए। 

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले मिटरब्याजपीडितहरू पैदल हिँडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरूको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गरिन्।  

आमजनता पार्टीका प्रभु साहले मिटरब्याजपीडितहरूको आन्दोलन चर्किरहेकाले उनीहरूको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गरे। 

उनले बैंकले ऋण उपलब्ध नगराउँदा नागरिक चर्को ब्याजदरमा मिटरब्याजबाट ऋण लिन बाध्य भएको बताउँदै कर्जा प्रवाहका विषयमा लघुवित्त र बैंकहरूमा विद्यमान बेथितिको निराकरणका लागि ठोष कानुनको आवश्यकता रहेको बताए। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशको राजस्वले कर्मचारीलाई तलब दिन नपुग्ने अवस्थामा अर्थतन्त्रलाई कमजोर बताउने सरकारका अहिलेसम्मका मन्त्रीहरूले सदनलाई जवाफ दिनुपर्ने बताए। 

कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याजपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद पौडेलले मिटरब्याजलाई गम्भीर अपराधका रूपमा हेर्न माग गरे। समय मागेर बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले कार्यसूची परिवर्तनप्रति आपत्ति जनाए।