मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार ०८:५५:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से बढ्यो, कारोबार रकम घट्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार ०८:५५:००

बुधबार नेप्से परिसूचक शून्य दशमलव ३० प्रतिशत बढेर बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिनको बजारलाई प्रोफिट बुकिङले प्रभाव पारेको छ । बजार खुलेको केही समयपछि नै लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि नेप्से ओरालो लागेको थियो । तर, बजारमा खरिदकर्ताको चाप बढेपछि नेप्से सकारात्मक गतिमा अघि बढेको थियो । मध्याह्नको समयमा लगानीकर्ता पुनः नाफा सुरक्षित गर्नतर्फ लागे पनि नेप्से सकारात्मक नै रह्यो । 

अघिल्लो दिन बजारमा ९ अंकको करेक्सन भएको थियो । करेक्सनपछि बजारले पुनः गति लिँदा लगानीकर्ताको मनोबल बढेको छ । आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यको प्रभाव बजारमा परेको एक ब्रोकरले बताए । तेस्रो त्रैमाससम्ममा कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताहरूको अपेक्षा रहेको छ । सोही कारण अहिले बजारमा खरिदकर्ता बढेको उनको भनाइ छ । 

बजार सारांश
बुधबार नेप्से परिसूचक ३ दशमलव ५२ अंक बढेर १ हजार १ सय ८४ दशमलव ६१ बिन्दुमा पुगेको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ७३ अंक बढेर २ सय ५३ दशमलव ५८ बिन्दुमा पुगेको छ । यस दिन फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै शून्य दशमलव २५ अंक बढेको छ । यस दिन १ सय ६९ कम्पनीको ५ हजार ९ सय ७५ पटकको कारोबारमा ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँबराबरको १६ लाख १२ हजार ३ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ६६ दशमलव ५९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन १ दशमलव १० पुगेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये ७५ कम्पनीको सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 
यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ७७ दशमलव ९३ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ७४ दशमलव ९६ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ७२ दशमलव ८६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ८० दशमलव शून्य ३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ८३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कुमारीमा लगानीकर्ताको आकर्षण
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । बैंकले दुई आर्थिक वर्षको लाभांश पारित गर्न साधारणसभाको मिति तोकेपछि लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका हुन् । सो वाणिज्य बैंकको यस दिन ५ करोड ७२ लाख ५४ हजार रुपैयाँबराबरको २ लाख २० हजार ८ सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, एनआइसी एसिया बैंकको यस दिन २ करोड ९० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने एनएमबि बैंकको २ करोड ५२ लाख रुपैयाँ सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ६ सय २५ पटक सेयर कारोबार भएको छ । 

५ प्रतिशत बढ्यो नेपाल कम्युनिटीको सेयरमूल्य 
यस दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५ दशमलव शून्य ७ प्रतिशत बढेको छ । त्यसैगरी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको उन्नति माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव ५५ प्रतिशत घटेर १ हजार १ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य ४ दशमलव ७० प्रतिशत घटेको छ । सर्वाधिक कारोबार भएको कुमारीको सेयरमूल्य यस दिन १ दशमलव ९ प्रतिशत मात्र बढेको छ । 

९ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने १ समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ९६ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक यस दिन शून्य दशमलवम ५१ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २१ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १७ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव १५ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । कारोबारमा आएको जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ४७ प्रतिशत घटेको छ । 

न्यूनतम १० कित्ता आवेदन दिन पाइने
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था गरेको छ । बोर्डले सो व्यवस्था तत्काल कार्यान्वयन गर्न सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरहरूलाई चैत २७ गते परिपत्र गरेको छ । हाल सार्वजनिक निष्कासनमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । 

आइपिओमा काठमाडौंसहित देशैभर साना तथा आमलगानीकर्ताको सहभागिता बढाउन सो व्यवस्था गरेको बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी तथा साना पुँजी भएका वर्गको पुँजीबजारमा पहुँच बढाउन र सार्वजनिक निष्कासनलाई समावेशी बनाई यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने बोर्डको उद्देश्य रहेको छ । यसअघि सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरूले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली बोर्डले लागू गरेको थियो । २०७३ सालदेखि आस्बा व्यवस्था लागू भएपश्चात् काठमाडौंबाहिरसहित देशैभर साना तथा आमलगानीकर्ताको सहभागिता बढेको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।