मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत २८ बिहीबार ०८:३५:००
Read Time : > 2 मिनेट
प्रदेश

चैतेदसैँमा बाग्लुङ  कालिकामा दर्शनार्थीको भिड

Read Time : > 2 मिनेट
२०७५ चैत २८ बिहीबार ०८:३५:००

चैतेदसैँ पर्वमा बाग्लुङ कालिकामा दर्शनार्थीको भिड बढ्दै गएको छ । नेपाल सरकारले पर्यटकीय गन्तव्यका रूपमा सूचीकृतसमेत गरेको बाग्लुङ कालिका देशकै प्रमुख शक्तिपीठमध्ये एक हो ।बाग्लुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार मन्दिर दर्शन गर्न हरेक वर्ष बडादसैँमा करिब ५ लाख र चैतेदसैँमा करिब ७ लाख दर्शनार्थी आउने गरेका छन् । ‘बडादसैंमा भाकल गरेकाहरू पूजा गर्न आउँछन्,’ उनले भने, ‘चैतेदसैँमा चाहिँ दर्शन र घुम्न आउनेको संख्या बढी हुन्छ ।’

मन्दिरमा आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइएको अध्यक्ष खड्काले जानकारी दिए । मन्दिरमा भाकल पूरा भएकाहरूले सुनचाँदी चढाउने चलन पनि छ । भक्तजनले मन्दिरको मूल गेटमै १५ केजीको चाँदीको फ्रेम चढाएका छन् । कालिका मन्दिरको दर्शन गर्न देशका विभिन्न स्थान र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । 

बाग्लुङ कालिका मन्दिर र चैतेदसैँको मेला बाग्लुङको परिचायक पनि हो । चैतको अष्टमीमा चैतेदसैँ मेला लाग्ने गरेको छ । त्यसैले चैतेदसैँ मेला र बाग्लुङ कालिकाको सम्बन्ध नङ र मासुजस्तै रहेको छ । बाग्लुङ कालिका भगवती मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस र सुँगुरसमेत बलि दिइन्छ ।

परेवाको बलि चढाउन रोक 
मन्दिरमा व्यवस्थापन समितिले दुई वर्षअघिदेखि मन्दिरमा परेवाको बलि चढाउन रोक लगाएको छ । परेवा शान्तिको प्रतीक मानिने भएकाले बलि चढाउन रोकेर उडाउने व्यवस्था गरिएको गुठीले जनाएको छ । अहिले हरेक बिहान मन्दिर परिसरमा भजनकीर्तन हुन्छ । नवमीको दिन रथयात्रासहित चञ्चलादेवीको मूर्तिलाई बजार परिक्रमा गराउने गुठीको तयारी छ ।

आन्तरिक पर्यटन वर्षमा मन्दिर र मेला 
यस वर्ष गण्डकी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा बाग्लुङ कालिका र चैत्राष्टमी मेलालाई पनि जोडेको छ । यस वर्ष चैत्राष्टमी मेला फरक शैलीमा सञ्चालन गर्न २३ चैतबाटै मेला सुरु गरिएको छ । २ वैशाखसम्म सञ्चालन हुने मेला अवधिमा खुला भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता, जिल्लाका १० वटै स्थानीय तहबाट सांस्कृतिक झाँकी प्रदर्शनीलगायत कार्यक्रम थप गरिएको अध्यक्ष खड्काले बताए । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहेको छ । 

पूर्वाधार निर्माणमा तीव्रता
बाग्लुङ कालिका मन्दिरको भौतिक पूर्वाधार निर्माण पनि तीव्र पारिएको छ । मन्दिरको छानो तामाका पाताले छाइएको छ भने मन्दिर परिसरमा स्लेट ढुंगा बिच्छ्याइएको छ । मन्दिरको बृहत्तर विकास गरेर धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना नै निर्माण गरिएको छ । मन्दिरलाई असर नपर्ने गरी गुठी संस्थान र पुरातत्व विभागको अध्ययनअनुसार भौतिक निर्माण कार्य अगाडि बढाइएको अध्यक्ष खड्काले बताए । मन्दिरपछाडि भ्यु प्वाइन्ट र ज्येष्ठ नागरिक आश्रम निर्माण यसै वर्ष सुरु गरिने पनि उनले जानकारी दिए ।
 
मेलामा स्थानीय उत्पादन

बाग्लुङ कालिका मन्दिरसँगै लागेको चैतेदसैँ मेलामा जिल्लाको स्थानीय उत्पादन बिक्री भइरहेको छ । मेलामा डोको, डालो, नाङ्लो, ठेकीलगायत वस्तु बिक्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर दर्शन तथा चैतेदसैँ मेला भर्न आउनेले स्थानीय उत्पादन किनेर लैजाँदा स्थानीय उत्पादनको प्रवद्र्धनसमेत भइरहेको बाग्लुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए ।

पाँच सय वर्ष पुरानो इतिहास
बाग्लुङ कालिका वि.सं. १५९१ मा पाल्पाली राजा मणिमुकुन्द सेनकी छोरीले दाइजोमा ल्याएर स्थापित गरेको बताइएको छ । पाल्पाली राजकुमारीलाई पर्वते राजा नारायणसिंह मल्लले विवाह गरेका थिए । पाल्पाबाट देवीको मूर्ति डोलीमा राखेर ल्याउने क्रममा अहिले कालिका मन्दिर भएको स्थानमा बिसाएको र पछि डोली उठाउन खोज्दा डेग नचलेपछि सोही स्थानमा मन्दिर स्थापना गरेर चैतेदसैँ मेला सुरु गरिएको किंवदन्ती रहेको छ । हरेक दिन पूजा हुने गरे पनि कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा भक्तजनको घुइँचो लाग्छ । चैतेदसैँमा विशेष भिड लाग्ने यहाँ मेलासमेत लाग्छ ।