मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २८ बिहीबार ०८:१९:००
Read Time : > 1 मिनेट
अर्थ

नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारका लागि ८ करोड रुपैयाँ खर्च गरिने

Read Time : > 1 मिनेट
२०७५ चैत २८ बिहीबार ०८:१९:००

नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचार–प्रसारका लागि ८ करोड रुपैयाँ खर्च गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको बुधबार बसेको तेस्रो बैठकले १० करोडको बजेट स्वीकृत गर्दै त्यसमध्ये ८ करोड रुपैयाँ प्रचार–प्रसारमा खर्च गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पर्यटन वर्षका बारेमा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसारलाई तीव्रता दिने र सन् २०२० भित्रै नेपालमा पर्यटन लगानी सम्मेलनसमेत गर्ने निर्णय गरेको छ । भ्रमण वर्षलाई स्थापित गर्ने गरी अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसारलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने निर्णय बैठकले गरेको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । 

प्रदेश नम्बर २, ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी बैठकले भ्रमण वर्षलाई सफल पार्न संघ, प्रदेश र स्थानीय निकायबीच समन्वय गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी सार्वजनिक निकायबीचको पत्राचारमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ ।

पर्यटन लगानी सम्मेलन गरिने
पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न सन् २०२० भित्र देशमा पर्यटन लगानी सम्मेलन गरिने भएको छ । सम्मेलनमा नेपालका पर्यटकीय क्षेत्र र त्यहाँ हुन सक्ने लगानीको अवस्थाबारे प्रस्तुत गरिनेछ । विश्वका विभिन्न देशबाट यस क्षेत्रमा सक्रिय व्यवसायीको समेत सहभागितामा हुने सम्मेलनले पर्यटन क्षेत्रमा लगानी बढाउने र त्यसले देशको पर्यटनलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

२० लाख पर्यटकको लक्ष्य
सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने र त्यस वर्षभित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१८ मा १२ लाख पर्यटक नेपाल आएको सन्दर्भमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको छ । यसअघि पनि सन् १९९८ र २०११ मा पर्यटन वर्ष मनाइएको थियो । सरकारले पर्यटन वर्षका लागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलाई राष्ट्रिय संयोजक तोकिसकेको छ ।

निर्णय छिटोछिटो लिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षसँग सम्बन्धित विषयमा निर्णयहरू छिटो लिन निर्देशन दिएका छन् । मूल आयोजक समितिको बैठकमा प्रधानमन्त्री ओलीले सरकारी तहमा निर्णयहरू लिन ढिलाइ हुने प्रवृत्ति रहेको भन्दै भ्रमण वर्षसँग सम्बन्धित निर्णयहरू छिटोछिटो गर्न निर्देशन दिए । भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायले तत्काल लिनुपर्ने निर्णयमा ढिलासुस्ती गर्न नहुने उनको भनाइ छ ।