मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ११ शनिबार २३:११:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टाइब्रेकरमा मकवानपुर ११ सामु भरतपुर स्तब्ध

जितपुर-सिमरा गोल्डकप

Read Time : > 1 मिनेट
२०७९ चैत ११ शनिबार २३:११:००

मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसकेको मकवानपुर ११ ले भरतपुरविरुद्ध टाइब्रेकरमा ४–३ को कठिन जित निकालेको हो । 

मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपेका थिए । 

मकवानपुरको जितमा टाइब्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरे । मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाए ।

भरतपुरका लागि सजिन थापा, भीष्म क्षेत्री र सुनील श्रेष्ठले गोल गरे । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरियो भने आकाश थापामगरको प्रहार गोलपोष्टबाट रिबाउन्ड भयो ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको १०औँ मिनेटमै २–० को अग्रता बनाइसकेको थियो । चौथो मिनटमा सुजन गुरुङको गोलबाट मकवानपुरले अग्रता बनाएको थियो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल नियन्त्रणमा लिँदै सुजनले करिब ३० यार्ड परबाट गोल गरेका थिए ।

मकवानपुर ११ ले १०औँ मिनेटमा मनीष पौडेलको गोलबाट अग्रता दोब्बर पारेको थियो । मनिषले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् । 

३३औं मिनटमा भरतपुरका भीष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भीष्म क्षेत्रीले आकर्षक हेडिरगोल गरेका थिए ।

२२ मिनेटपछि सजिन थापामगरले भरतपुरलाई खेलमा फर्काए । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गर्दै बल २–२ को अवस्थामा ल्याए । निर्धारित ९० मिनेटमा त्यसपछि गोल हुन सकेन । र खेल ३० मिनेट अतिरिक्त समयमा गयो ।

करिब पाँचहजार दर्शकको उपस्थिति रहेको सिमरा रंगशालामा पहिलो क्वार्टरफाइनल रोमाञ्चक रह्यो । अतिरिक्त समयमा मकवानपुरले पुनः एकपटक खेलमा अग्रता बनायो । 

पाँचौँ मिनेटमा भरतपुरका सुधांश चौधरीले आत्मघाती गोल गरेपछि मकवानपु ३–२को अवस्थामा पुग्यो । तर, भरतपुरले हार मानेन । सुनील श्रेष्ठले अतिरिक्त समयको १५औँ मिनटमा मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै आकर्षक गोल गर्दै खेल ३–३ को अवस्थामा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको हो ।