मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १० शुक्रबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही नदीमा छाडियो

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार ११:५६:००

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो ।

यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र १.५ मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो । ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो । उनले भने, ‘थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ ।’

गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोसी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ ।

हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत–वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन केन्द्रमा सात सयभन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।