मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २७ बुधबार ११:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

चार दिनदेखि बहिरंग सेवा ठप्प, बिरामी अस्पताल पुग्छन्, सेवा पाउँदैनन् 

Read Time : < 1 मिनेट
२०७५ चैत २७ बुधबार ११:०१:००

धुर्कोट गाउँपालिका पाँच बस्तुकी आठ महिनाकी गर्भवती २० वर्षीया वसन्ती सुनार बिहानै गुल्मी अस्पताल आइन् । चिकित्सकको हडतालबारे उनलाई जानकारी थिएन । ‘अस्पतालको टिकट काउन्टर आएपछि पत्तो पाएँ दुःख मात्रै भयो’ उनले भनिन्, ‘गर्भ परीक्षणका लागि आएकी हुँ ।’


छोरी बिरामी भएर अस्पताल आएकी धुर्कोट गाउँपालिका–३ हाडहाडेकी निर्मला जिसी पनि गेटबाटै फर्किन् । उनले नजिकैको निजी मेडिकलमा स्वास्थ्य परीक्षण गरेर फर्किएको बताइन् । ‘सरकारी अस्पताल हुँदाहुँदै निजीमा जाँच गराउनुपर्ने कस्तो विडम्बना’ उनले भनिन्, ‘मर्नु भएन जसोतसो औषधि त लैजानै प-यो ।’ 

अस्पतालको बहिरंग सेवा बन्द भएपछि सयौँ बिरामी समस्यामा परेका छन् । नेपाल सरकारले गरेको समायोजनप्रति असन्तुष्टि जनाउँदै चिकित्सकले चार दिनदेखि सेवा ठप्प पार्दै आएका छन् । 

सरोकारवालाको गुनासो
दैनिक डेढदेखि दुई सयको उपचार गर्ने अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । साथीको उपचारका लागि अस्पताल पुगेका रेसुंगा नगरपालिका ८ का सन्तोष पाण्डेले नागरिकलाई उपचारबाट वञ्चित गराउन नपाइने बताए । उनले भने, ‘डाक्टर साबहरूको सरकारसँगको लडाइका कारण सर्वसाधरण नागरिक उपचारबाट वञ्चित हुनुहुँदैन ।’ गुल्मी दरबार गाउँपालिका–४ की सीता सुनार पनि बिहानैदेखि अस्पतालको टिकट काउन्टर अगाडि थिइन् । १० बज्यो ढोका नै खुलेन ।’ अन्तिममा इमर्जेन्सीमा भर्ना हुनुपरेको गुनासो सुनाइन् । 

नागरिक समाजका अध्यक्ष गुणनिधि शर्माले अस्पतालजस्तो सम्वेदनशील ठाउँको विषयमा दुवै पक्ष लचिलो बन्नुपर्ने बताए । आफ्ना माग राख्ने अधिकार लोकतन्त्रमा सबैको भए पनि गरिब तथा विपन्नको ज्यान जोखिममा पार्न नहुने शर्माले बताए । 

केन्द्र मातहत राखेर समायोजन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ । गुल्मी अस्पतालकी मेडिकल अधिकृत सोफिया थापाले सरकारले समायोजन गरेर आफूहरूलाई कुवाको भ्यागुतो बनाउन खोजेको बताइन् । सांकेतिक रूपमा विरोध गर्दा सुनुवाइ नभएपछि बाध्य भएर अस्पताल नै ठप्प पार्नुपरेको थापाले बताइन् ।