Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ चैत ५ आइतबार ०८:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डब्लुएचओले भन्यो– नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव छ

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ चैत ५ आइतबार ०८:३९:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव रहेको जनाएको छ । हालै प्रकाशित ‘डब्लुएचओ हेल्थ वर्कफोर्स सपोर्ट एन्ड सेफगार्ड्स लिस्ट २०२३’ प्रतिवेदनमा स्वास्थ्यकर्मीको अभावका कारण सन् २०३० सम्ममा स्वास्थ्य लक्ष्य हासिल गर्ने उद्देश्य पूरा नहुने उल्लेख छ । प्रति १० हजार जनसंख्यामा ४९ जना स्वास्थ्यकर्मी (डाक्टर, नर्स र मिडवाइफ) आवश्यक रहे पनि जनसंख्याको आधारमा नेपालमा स्वास्थ्यकर्मीको नरहेको डब्लुएचओले जनाएको छ ।

कोरोना महामारीमा विश्वव्यापी स्वास्थ्य सेवा अध्ययन गरिरहेको डब्लुएचओले नेपालमा स्वास्थ्यकर्मी अभाव रहेको जनाएको हो । महामारी सुरु भएपछि विकसित देशहरूले स्वास्थ्यकर्मी पूर्तिको प्रयासलाई तीव्र बनाइरहेको र पहिलेदेखि स्वास्थ्यर्मीको अभाव रहेका देशबाट राम्रो आम्दानीका लागि विकसित देशमा पलायन भइरहेको रिपोर्टले देखाएको छ । 

मेडिकल काउन्सिलको तथ्यांकअनुसार हाल नेपालमा १० हजार ८० जना विशेषज्ञ चिकित्सक, ३२ हजार दुई सय १८ एमबिबिएस र बिडिएस गरी ४२ हजार दुई सय ९८ चिकित्सक रजिस्टर छन् । एक हजार तीन सय २६ विशेषज्ञ नर्स, ७३ हजार पाँच सय १४ नर्स, ५१ जना मिडवाइफ, ३७ हजार एक सय ४० अनमी, आठ सय ४८ विदेशी नर्स रहेको नर्सिङ काउन्सिलको तथ्यांक छ । नेपालमा चिकित्सक, नर्स र मिडवाइफ गरी एक लाख ५५ हजार एक सय ७७ स्वास्थ्यकर्मी भए पनि यो संख्या जनसंख्याको आधारमा निकै न्यून रहेको डब्लुएचओको भनाइ छ । अझै रजिस्टर स्वास्थ्यकर्मीहरू विदेशमा समेत रहेकाले नेपालमा कार्यरत स्वास्थ्यकर्मीको संख्या अझै कम रहेको भन्दै उसले सन् २०३० सम्ममा स्वास्थ्य लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीको अभाव मुख्य चुनौतीको रूपमा देखिएको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनले नेपालमा मात्रै नभई बंगलादेश, पाकिस्तानलगायत ५५ देशमा चिकित्सक, नर्स र मिडवाइफजस्ता स्वास्थ्यकर्मीको चरम अभाव रहेको जनाएको छ । डब्लुएचओले यी देशमा स्वास्थ्यकर्मीको औसत घनत्व औसत जनसंख्याभन्दा धेरै कम रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । सबैभन्दा धेरै अफ्रिकी देशमा स्वास्थ्यकर्मीको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा अंगोला, क्यामरुन, चाड, बुर्किना फासो, नाइजेरिया, कंगो, रुवान्डालगायत ३७ अफ्रिकी देश समावेश छन् । 

सन् २०३० सम्ममा विश्वव्यापी स्वास्थ्य कभरेजको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीको अभावका कारण असक्षम हुने डब्लुएचओको भनाइ छ । डब्लुएचओका स्वास्थ्यकर्मी नीति प्रमुख डा.जिम क्याम्पबेलले भनेका छन्, ‘अफ्रिकाको अर्थतन्त्र बलियो छ, जसले नयाँ अवसर सिर्जना गरिरहेको छ । तर, खाडी मुलुकमा परम्परागत रूपमा भित्रिने विदेशी कामदार समावेश गर्दासमेत स्वास्थ्यकर्मी आपूर्ति भएको देखिँदैन ।’ रिपोर्ट प्रतिवेदनका अनुसार विकसित देशहरूले कोभिड महामारीको समयमा विदेशी स्वास्थ्यकर्मीहरूलाई बढी स्थान दिँदा पहिलेदेखि नै स्वास्थ्य जनशक्ति कम भएका मुलुकमा स्वास्थ्यकर्मीको समस्या गम्भीर बन्दै गएको छ । 

हाल विश्वभर दुई करोड ९० लाख नर्स, एक करोड २७ लाख चिकित्सक, ३७ लाख फर्मासिस्ट, २५ लाख दन्त चिकित्सक, २२ लाख मिडवाइफ र एक करोड ४९ लाख अन्य स्वास्थ्यकर्मी छन् । अर्थात् हाल विश्वभर ६ करोड ५० लाखभन्दा बढी स्वास्थ्यकर्मी छन् । सन् २०३० सम्ममा यो संख्या बढाएर आठ करोड चार लाख पुर्‍याउने लक्ष्य छ । 

स्वास्थ्यकर्मीको असमान वितरणका कारण अझै ५५ देशहरू स्वास्थ्यकर्मीको अभाव खेपिरहेका छन्, जसमध्ये नेपाल पनि एक हो । स्वास्थ्यकर्मीहरू सेवा–सुविधाका लागि बिदेसिने दर उच्च रहेकाले नेपालजस्ता देशमा स्वास्थ्यकर्मीको आपूर्ति अपेक्षित हुन नसकेको अध्ययनले देखाएको छ ।

‘स्टेट अफ नर्सिङ वल्र्ड २०२२’ का अनुसार, अमेरिका, युरोप, एसिया प्रशान्त देशमा मात्रै करिब ८१ प्रतिशत नर्स कार्यरत छन् । जब कि, अफ्रिकी देशहरूमा प्रति १० हजार जनसंख्यामा नौजनाभन्दा कम नर्स उपलब्ध छन् ।