मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार ०६:४५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसलाई पाँचौँ खेलमा पहिलो अंक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार ०६:४५:००

लगातार चार खेलमा पराजित रहेको पुलिसले पाँचौँ खेलमा एनआरटीसँग एक अंक खोस्यो, अर्काे खेलमा आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दीको अपराजित यात्रा कायमै

नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० को पाँचौँ खेलमा पहिलो अंक जोडेको छ । शनिबार भएको खेलमा विभागीय टोली पुलिसले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै एक अंक जोडेको हो । पुलिस लिगको १४औँ स्थानमा छ । १३औँ स्थानमा रहेको एनआरटीको दुई अंक छ । जारी लिगको पाँचौँ चरण समाप्त हुँदा पुलिस र एनआरटी जितविहीन छन् । यद्यपी, ०६३, ०६६/६७ र ०६८ मा लिग उपाधिमा ह्याट्रिक गरेको पुलिसले लगातारको हार शृंखला भने तोडेको छ । 

बराबरीपछि पुलिसका प्रशिक्षक चेतकुमार घिमिरे खुसी देखिए । ‘पाँच खेलमा आएर पहिलो अंक हासिल गरेका छौँ । यसले आगामी खेललाई मनोबल उच्च बन्नेछ,’ घिमिरेले भने । उनले लिगमा शीर्ष आठ लक्ष्य रहेकाले पुनरागमन गर्ने प्रतिक्रिया दिए । ‘हाम्रो लक्ष्य नै शीर्ष आठमा रहने हो । लिगका धेरै खेल बाँकी छन् । हामी पुनरागमन गर्छाैं,’ घिमिरेले आगामी रणनीति बताए । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेनन् । ‘खै के भन्ने, तीन अंक ल्याउन आएको । खेलाडीबीच तालमेल नै भएन,’ उनले भने । ‘खेलाडीलाई दोष के दिने । विदेशीले समेत राम्रो खेल्न सकेनन् । सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन,’ शाक्यले भने । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले समान एक–एक गोल गरे । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जीव विष्टले एनआरटीलाई अग्रता दिलाएका थिए । पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले गरेको गल्तीको फाइदा उठाउँदै सञ्जीवले गोल गरेका थिए । जारी लिगमा पुलिसले अधिकांश गोल आफ्नै गल्तीमा बेहोर्दै आएको छ । ‘हामीले जति गोल बेहोरेका छौँ, आफ्नै गल्तीले भएको छ । हामीलाई विपक्षी टोलीले राम्रो गोल गरेको छैन,’ पुलिसका प्रशिक्षक घिमिरेले भने । ७५औँ मिनेटमा प्रताप गुरुङले पुलिसलाई बराबरीमा ल्याए । मैदानको करिब २० यार्डबाट पाएको फ्रिकिकलाई प्रतापले दोस्रो बारमा आकर्षक गोल गरे । यद्यपि, उनी अन्तिम समयमा चोट बोक्दै मैदानबाट बाहिरिए । 

अनुभवी जुमानु र सुमन मैदानमा उत्रिएपछि... 
खेलको अत्यतिर पुलिसले दुई अनुभवी खेलाडी जुमानु राई र सुमन सुवेदीलाई मैदान पठाएको थियो । पुलिसले एक गोल बेहोरेपछि राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर जुमानुलाई मैदान पठायो भने डिफेन्डर सुमन सुवेदी इन्जुरी समयमा मैदान प्रवेश गरेका थिए । प्रशिक्षक घिमिरेले नयाँ खेलाडीबाट पार नलागेपछि अनुभवी खेलाडी मैदान पठाएको बताए । ‘मैले अघिल्ला चार खेलमा युवा खेलाडीलाई प्रयोग गरेको थिएँ । तर, आजको खेल नै त्यस्तै भयो । अनुभवी खेलाडी नै आवश्यक पर्‍यो,’ घिमिरेले भने । यसअघि, पुलिस पहिलो खेलमा चर्च ब्वाइज, दोस्रो खेलमा हिमालयन शेर्पा, तेस्रो खेलमा संकटा क्लब र चौथो खेलमा मच्छिन्द्र फुटबल क्लबसँग पराजित भएको थियो । जुमानु मैदान प्रवेश गरेसँगै पुलिसको अग्रपंक्ति बलियो बनेको थियो । ‘दुवै खेलाडी फिट छन् । 

मेरो रणनीति भनेकै अनुभवी खेलाडीलाई १० देखि २० मिनेट खेलाउनु हो । त्यसमा दुवै सफल भए । हामीले अंक पनि प्राप्त गर्‍यौँ,’ घिमिरेले भने । एनआरटीका प्रशिक्षक शाक्यले खेलपछि ठट्टा गर्दै आगामी खेलमा आफू पनि मैदान उत्रन पर्न सक्ने बताए । ‘लगातार खेल्दा समस्या भएको छ । डबल राउन्ड रोबिनको लिगमा यति चाँडो खेल्दा खेलाडी घाइते छन् । आज पुलिसको अवस्था हेर्दा अर्काे खेलमा म पनि मैदान उत्रन पर्न सक्छ,’ ठट्यौली पारामा उनले भने । 

आर्मीको दोस्रो जित
च्यासल मैदानमा भएको लिगको ३३औँ खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २–१ ले हराउँदै दोस्रो जित निकालेको छ । जितसँगै उपाधि दाबेदार आर्मीले पाँच खेलबाट आठ अंक जोडेको छ । फ्रेन्ड्सको समान खेलबाट चार अंक छ । पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए । आर्मीले दोस्रो हाफमा थप एक गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । खेलमा सुरुआती अग्रता कुपन्डोलको फ्रेन्ड्स क्लबले बनायो । 

छैटौँ मिनेटमा विदेशी खेलाडी राफक अमिनुले गोल गरे । अमिनुले घानाका टोरिक जिब्रिनको पासलाई सदुपयोग गरेका थिए । २४औँ मिनेटमा आर्मीका जलेस्पीजंग कार्कीले बराबरी गोल गरे । रक्षक दीपक गुरुङले मिलाएको क्रसमा जलेस्पीले हेड गोल गरेका थिए । इन्जुरी समयमा दीपकले आर्मीका लागि विजयी गोल गरे । रिबाउन्ड बललाई दीपकले बक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । बाँकी समय दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।

मनाङको पुनरागमन जित
पाँचौँ चरणको अन्तिम खेलमा मनाङले एपिएफ क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । दशरथ रंगशालामा पहिलो हाफमा एक गोल बेहोरेको मनाङले दोस्रो हाफमा दुई गोल फर्कायो । अपराजित यात्रा पाँचौँ खेलसम्म पुर्‍याएको मनाङले ११ अंक जोडेको छ । एपिएफको सात अंक छ । मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक–एक गोल गरेका थिए ।

एपिएफका विदेशी खेलाडी अर्मान्ड बिडोमले एक गोल गरे । ३३औँ मिनेटमा अर्मान्डले एपिएफलाई अग्रता दिलाए । नवीन लामाको पासलाई अर्मान्डले सदुपयोग गरेका थिए । ५२औँ मिनेटमा सुमित श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै कमल थापाले बराबरी गोल गरे । उज्वेकिस्तानका मिडफिल्डर दाभ्लातजोनोभले ७२औँ मिनेटमा बक्सबाहिरबाट आकर्षक विजयी गोल गरेका थिए ।