मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सियाओ जिन (ग्लोबल टाइम्स)
२०७५ मङ्सिर २८ शुक्रबार ११:२८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

व्यापार युद्धको रोजगारीमा प्रभाव

Read Time : > 1 मिनेट
सियाओ जिन (ग्लोबल टाइम्स)
२०७५ मङ्सिर २८ शुक्रबार ११:२८:००

रोजगारीलाई जोगाइराख्नु र नयाँ रोजगारी सिर्जना गर्नु अबको चीन–अमेरिका प्रतिस्पर्धाको अर्को पाटो बनेको बुझाइ धेरैको छ । यसको अर्थ देशमा रोजगारी सिर्जना गर्ने सन्दर्भमा पनि विश्वका दुई ठूला अर्थतन्त्रबीच प्रतिस्पर्धा बढ्दो छ । अमेरिका–चीन व्यापार तनावले अमेरिकी रोजगारी बजार प्रभावित भएको संकेत यसअघि नै देखिइसकेका छन् । 
गत नोभेम्बर महिनामा जनरल मोटर्स कम्पनीले १४ हजार कामदार कटौती गर्ने तथा उत्तर अमेरिकामा रहेका पाँचवटा सर्भिस केन्द्र बन्द गर्ने निर्णय गरेको थियो । भविष्यमा स्वचालित तथा विद्युतीय सवारीसाधन विकासको तयारीका लागि कर्मचारी कटौती तथा सेवा बन्द गर्ने निर्णय लिइएको दाबी कम्पनीले गरेको थियो । यद्यपि, अमेरिकाले चीन तथा युरोपबाट अमेरिका आयात हुने स्टिल तथा सवारीसाधनका पार्टपुर्जालगायत सामग्रीमा अमेरिकाले करवृद्धि गरेपछि अमेरिकी बिजनेसलाई ठूलो असर गरेको छ । यस्तो स्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रोजगारी वृद्धि योजना प्रभावित हुने निश्चित छ । अमेरिकी इतिहासमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने राष्ट्रपति बन्ने ट्रम्पको घोषणा पनि प्रभावित हुनेछ । 


अर्कातर्फ, चीनको रोजगारी बजारले पनि चुनौतीको सामना गरिरहेको छ । चिनियाँ आधिकारिक तथ्यांकअनुसार यस वर्षको १० महिनामा चीनले १ करोड २० लाख नयाँ ग्रामीण रोजगारी सिर्जना गरेको छ । गत वर्षको तुलनामा ९० हजार रोजगारी मात्र बढी सिर्जना भएको छ । अमेरिका–चीन व्यापार युद्ध चलिरहने हो भने चीनको रोजगार बजारमा पनि ठूलो असर पर्ने चेतावनी अर्थविद् तथा बजार विश्लेषकले दिइरहेका छन् । यो प्रवृत्तिलाई हेर्दा रोजगारी बढाउने कार्यक्रमलाई चिनियाँ सरकारले जोडतोडसाथ बढावा दिनुपर्ने हुन्छ । हालै मात्र चिनियाँ सरकारले रोजगारदाता कम्पनीलाई प्रोत्साहन गर्न कम्पनीहरूले व्यवस्था गरेको बेरोजगारी बिमा प्रिमियमको ५० प्रतिशत रकम सम्बन्धित कम्पनीलाई फिर्ता गर्ने घोषणा गरेको छ । 
यसका अलावा, निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने नीति पनि सरकारले ल्याउनुपर्छ । चीनमा सबैभन्दा बढी रोजगारी पनि निजी क्षेत्रले नै गरिरहेका छन् । अहिले चीनमा निजी क्षेत्रबाट मात्रै दुई करोड ७० लाख बिजनेस कम्पनी सञ्चालनमा छन् । नयाँ ग्रामीण रोजगारीको ९० प्रतिशत रोजगारी यी निजी बिजनेस कम्पनीले सिर्जना गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित व्यापारमा चीनका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीको पनि ठूलो योगदान छ । चीनका दुई सय ९१ विश्वविद्यालय र ६० वटा सहरस्थित कलेजमा गरिएको एक अध्ययनअनुसार चीनमा रोजगारी बढाउनमा विश्वविद्यालयका विद्यार्थीको पनि ठूलो योगदान रहेको छ ।
 
(लेखक ग्लोबल टाइम्सका पत्रकार हुन्)