१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २७ बुधबार ०८:२५:००
Read Time : > 4 मिनेट
सेयर बजार

प्रोफिट बुकिङले बजारमा करेक्सन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २७ बुधबार ०८:२५:००

मंगलबार सेयर बजारमा करेक्सन भएको छ । पछिल्ला दुई कारोबार दिनमा नेप्से २६ अंक बढेको थियो । बजार बढेको मौकामा लगानीकर्ता प्रोफिट बुक गर्नतर्फ लागेका कारण बजारमा करेक्सन भएको हो । बजार बढेपछि करेक्सन हुनु स्वाभाविक हो । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यद्यपि, यस दिनको कारोबार रकम पछिल्ला दिनहरूको औसत कारोबार रकमभन्दा बढी नै रहेको छ । आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्य नजिकिएको प्रभाव बजारमा परेको एक ब्रोकरले बताए । उनका अनुसार यो समयमा ठूला लगानीकर्ताले धेरै चलखेल गर्छन् । मार्जिन कलबाट बच्नका लागि केही लगानीकर्ताले सेयर मूल्य बढाउने कार्य हुने गरेको उनको भनाइ छ । त्यसैले, यस समयमा आफैँले प्राविधिक तथा आधारभूत विश्लेषण गरी मात्र बजारमा लगानी गर्न उनले सुझाब दिएका छन् । बजारले आगामी दिनमा सकारात्मक दिशा लिने एक लगानीकर्ताले बताए । पुँजी बजार विस्तारका कार्यहरूले गति लिएका कारण लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ ।
 
बजार सारांश
मंगलबार नेप्से परिसूचक १० दशमलव ५८ अंक घटेर १ हजार १ सय ८१ दशमलव १० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव १५ घटेर २ सय ५२ दशमलव ८५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७० कम्पनीको ७ हजार ७० पटकको कारोबारमा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँबराबरको २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६५ दशमलव ३२ स्केलमा पुगेको छ । अघिल्ला दुई कारोबार दिन ओभरबट जोनमा रहेको आरएसआई यस दिन न्युट्रल जोनमा आउनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शुन्य दशमलव ३० पुगेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

नेप्सेको पिभट बिन्दु यस दिन १ हजार १ सय ८५ दशमलव १९ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा भोलि बजार ओरालो लागे १ हजार १ सय ७५ दशमलव ६५ बिन्दुमा पहिलो टेवा र १ हजार १ सय ७० दशमलव २० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ९० दशमलव ६४ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय दशमलव १८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सर्वाधिक कारोबार हुनेमा नेको इन्स्योरेन्स  
यस दिन कारोबार रकमका आधारमा नेको इन्स्योरेन्स अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन ६ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, कुमारी बैंकको संस्थापक सेयर र एनआइसी एसियाको कारोबार रकम ५ करोड नाघेको छ । सेयर संख्याका आधारमा कुमारी बैंकको संस्थापक सेयर अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा एनआइसी एसिया अगाडि रहेको छ । कुमारीको यस दिन ३ लाख ९८ हजार ४ सय ७७ कित्ता सेयर किनबेच भएको छ । एनआइसी एसियाको यस दिन ४ सय ४४ पटक सेयर कारोबार भएको छ । 

सर्वाधिक कमाउने नेपाल कम्युनिटी
यस दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ दशमलव ५२ प्रतिशत बढेको छ । त्यसैगरी, उन्नति माइक्रो फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयर मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य यस दिन ८ दशमलव १ प्रतिशत घटेको छ । कारोबारमा आएको एनएमबि माइक्रो फाइनान्सको सेयर मूल्य ७ प्रतिशत घटेको छ भने पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत घटेको छ । 

सबै समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेर रातो भएको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७७ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ५८ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव ३७ प्रतिशत र लघुवित्त समूहको १ दशमलव शून्य ७ प्रतिशत घटेको छ । कारोबारमा आएको वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ६ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २३ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । 

रसुवागढी आइपिओ
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ०७६ वैशाख ६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गतको यस आयोजनाले प्रतिकित्ता १ सय अंकित दरका १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ लाख १३ हजार १ सय ५७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा ०७६ वैशाख १० गते हुनेछ भने ढिलोमा जेठ ५ गते हुनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको लागत प्रतिमेगावाट १५ करोड १२ लाख १२ हजार २ सय ४१ रुपैयाँ रहेको छ । सेयर निष्कासन गरिएको अवधिबाट साधारण लगानी फिर्ता हुने अवधि ८ दशमलव १२ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३ दशमलव ८६ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, सनराइज क्यापिटल र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सान्जेनको आइपिओ
सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले ०७६ वैशाख ६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यो सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गतको आयोजना हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका ५४ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने २ लाख ७३ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ४९ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा ०७६ वैशाख १० गते हुनेछ भने ढिलोमा जेठ ५ गते हुनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निर्माण गरिरहेको सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट १५ करोड रुपैयाँ रहेको छ भने कुल लागत ८ अर्ब ६५ करोड रहेको छ । सेयर निष्कासन गरिएको अवधिबाट साधारण लगानी फिर्ता हुने अवधि ६ दशमलव ७ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १० दशमलव ४ वर्ष रहेको छ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । त्यसैगरी, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।