मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १ बुधबार ११:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमै पहिलोपटक ‘नेपाल फोटोग्राफी समिट’ नेपालगन्जमा

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार ११:३८:००

नेपालमै पहिलोपटक नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ हुन लागेको छ। फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्न नेपालगन्ज फोटोग्राफी समिट गर्न लागिएको समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए। 

उनले भने, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदै ड्रोन चलाइरहेका पुस्तालाई एकै  थलोमा भेला गरेर सम्बन्ध जोड्ने सेतु हो नेपालगन्ज फोटोग्राफी समिट।’

२२–२३ चैतमा नेपालगन्जमा हुने फोटोग्राफी समिटमा क्यामेरा प्रयोग, फोटो पत्रकारले अपनाउनुपर्ने विधिलगायतका विषयमा अभिमुखीकरणसमेत गरिने भएको छ। 

फोटो पत्रकार र स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका एक सय ११ जनाले सहभागिता जनाउने अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए। 

यसैगरी, तेस्रो नेपालगन्ज फोटो फेस्टिभल २१–२२ चैतमा नेपालगन्जमा हुने भएको छ। अन्तरालको आयोजना र व्यवस्थापनमा हुने फोटो फेस्टिभलमा फोटो प्रतिस्पर्धा आह्वान गरिएको छ। 

प्रतिस्पर्धाका लागि सोमबार मध्यरात १२ बजेसम्म नाैवटा विधाका फोटाे आएको उनले बताए। ‘समाचार, दैनिक जीवन, पर्यटन, वाइल्डलाइफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी नाै विधा छन्। यी सबै विधाबाट छानिएका एक सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ,’ शाहले भने। 

फोटोहरू छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ। सदस्यहरूमा फोटो पत्रकार क्लब (पिजे क्लब) का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेका छन्। समितिले छनोट कार्य मंगलबारदेखि नै सुरु गरिसकेको आयोजकले जनाएको छ। 

यसैगरी, नेपालगन्ज फोटो फेस्टिभलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनीसमेत हुने भएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा  गाउँपालिकामा रहेका पर्यटकीय स्थल, कला, संस्कृति, स्थानीय मौलिक परिकार, वेशभूषा र जीवनशैली झल्कने फोटोहरू उक्त प्रदर्शनीमा राखिने अन्तरालले जनाएको छ। 

प्रदर्शनीका लागि नेपालगन्ज ग्यालरीसँग सहकार्य गरेको शाहले बताए। उनले भने, ‘मंगलबारदेखि नेपालगन्ज ग्यालरीले फोटो आह्वान गरिसकेको छ, यस प्रदर्शनीले बाँके जिल्लाको सबै क्षेत्रको व्यापक प्रवर्द्धन गर्नेछ।’