मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघमा बढ्यो चुनावी सरगर्मी

अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलसहित वरिष्ठ उपाध्यक्षमा भिड्ने तयारीमा

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ चैत १ बुधबार ०६:२३:००

निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)मा चुनावी सरगर्मी बढेको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानत व्यवस्था छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल २८ र २९ चैतमा हुने ५७औँ साधारणसभापछि स्वतः अध्यक्ष हुनेछन् । त्यसैले अर्को तीन वर्षपछि नेतृत्वमा पुग्ने उद्देश्यका साथ वरिष्ठ उपाध्यक्षलगायत अन्य पदका आकांक्षीहरू उद्योगी–व्यवसायीहरूसँग भोट माग्न देश दौडाहामा छन् ।

 वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । वरिष्ठ उपाध्यक्षको चर्चामै रहेका वर्तमान जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले भने चुनाव लड्ने वा नलड्ने निश्चित गरेका छैनन् । वर्तमान कार्यसमितिमा अञ्जन वस्तुगत सदस्यतर्फका उपाध्यक्ष र राचमन्द्र एसोसिएट सदस्यतर्फका उपाध्यक्ष हुन् । उमेशलाल भने पूर्वउपाध्यक्ष हुन् । 

चुनावी मैदानमा होमिन लागेका उद्योगी–व्यवसायीहरू जिल्ला–नगर तथा प्रदेशमा भोट माग्न व्यस्त देखिन्छन् । वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जनले ७२ जिल्ला र नगर उवासंघका अध्यक्ष तथा व्यवसायीसँग भेटघाट गरिसकेको बताउँछन् । यस्तै, अर्का आकांक्षी संघाइले पनि ८५/९० जिल्ला–नगर उवासंघका अध्यक्षसँग भेट गरिसकेको बताए । उमेशलालले झन्डै दुईपटक देशैभरका जिल्ला–नगर र प्रदेश घुमिसकेको बताउँछन् । महासंघमा जिल्ला–नगर उवासंघबाट एक सय २१ सदस्य भोटर रहेका छन् ।  

 अञ्जन र रामचन्द्रको टिम तयार 
नयाँ कार्यसमितिको चुनावका लागि अञ्जन र रामचन्द्रले आ–आफ्नो टिम तयार पारिसकेका छन् । अर्का आकांक्षी उमेशलालले भने टिम तयार पारेका छैनन् । आफ्नो टिम तयार भइसकेको, तर अहिल्यै सार्वजनिक नगर्ने उनले बताए । उनले थने, ‘अझै पर्याप्त समय छ, राम्रो सशक्त टिम बनाएर घोषणा गर्छौँ ।’

अञ्जनको टिममा जिल्ला–नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान समेटिएका छन् । वर्तमान कार्यकारिणी सदस्य साहिल अग्रवालले चुनाव लड्ने रुचि नदेखाएपछि अञ्जनले ज्योत्सनालाई एसोसिएट उपाध्यक्षको उम्मेदवार बनाएका हुन् । शंकर समूहका प्रबन्ध निर्देशक अग्रवाल एसोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत होल्ड गर्ने घरानामा पर्छन् । 

संघाईले आफ्नो टिमबाट एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य, वस्तुगत उपाध्यक्षमा सन्दीप अग्रवाल र जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य उम्मेदवार बन्ने निश्चित भएको बताए । तर, अहिलेसम्म पनि आचार्य कुनै प्यानलबाट खुलेका भने छैनन् । आचार्य विशेष गरी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालनिकट मानिन्छन् । 

उमेशलालको समूहबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठको चर्चा छ । तर, अन्तिममा दिनेशले चुनावै नलड्न पनि सक्ने सम्भावना रहेको उनका निकटस्थ बताउँछन् । यस्तै, ढकालले एसोसिएटमा आचार्यलाई उम्मेदवार बनाउन खोजेका छन् । तर, संघाईले आचार्य आफूसँग रहेको बताइरहेका छन् ।  

 यस्तो हुन्छ कार्यसमिति 
महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । एसोसिएटबाट १९, जिल्लानगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहनेछन् । प्रत्येक प्रदेशबाट दुई–दुईजनाका दरले १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै, महासंघको पदाधिकारीमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्ष (विशिष्ट सदस्य)का रूपमा रहने व्यवस्था छ । 

वरिष्ठ उपाध्यक्षमा जित्नका लागि खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ । महासंघको निर्वाचनमा जिल्ला–नगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रियसमेत)को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुने गर्छ । 

महासंघका सदस्यहरूमा जिल्ला–नगर उवासंघ एक सय २१, वस्तुगत सदस्य एक सय २३, एसोसिएट सदस्य एक हजार सात सय ६२ र द्विराष्ट्रिय सदस्य २० रहेका छन् । महासंघको निर्वाचनमा जिल्ला–नगरतर्फको मतभार बढी हुने भएकाले उम्मेदवार पनि त्यतै बढी केन्द्रित हुने गर्छन् । 

महासंघको एसोसिएट सदस्यतर्फ रहेका १७ सय ६२ मतमध्ये सबैभन्दा धेरै साहिल अग्रवालसँग छन् । उनले एसोसिएट उपाध्यक्ष उठ्ने तयारीका साथ तीन सयभन्दा बढी कम्पनी रिन्यु गरेको बताइन्छ । तर, अहिलेको संक्रमणकालीन समयमा आफ्नै व्यापार–व्यवसायमै बढी केन्द्रित हुनुपर्ने कारण देखाउँदै महासंघको राजनीतिबाट उनी पन्छिएका छन् । यस्तै, एसोसिएटतर्फ धेरै मत होल्ड गर्नेमा चन्द्र ढकाल, ज्ञानेन्द्रलाल प्रधान, शेखर गोल्छा र पशुपति मुरारका, अञ्जन श्रेष्ठ, संघाई र विशाल समूह, अम्बिका पौडेल, राजेन्द्र राउत र अजित बस्नेतलगायतसँग रहेको बताइन्छ । 

 पाँच लाख मनोनयन शुल्क
वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच लाख रुपैयाँ मनोनयन शुल्क लाग्छ । त्यस्तै, उपाध्यक्षका लागि तीन लाख र कार्यकारिणी समिति सदस्य पदका लागि ७५ हजार रुपैयाँ शुल्क लाग्ने महासंघ सचिवालयले जनाएको छ ।   

 कसको समर्थन कसलाई ?
अहिलेसम्म पूर्वअध्यक्ष कुनै पनि उम्मेदवारका पक्षमा खुलेर बोलेका छैनन् । महासंघको चुनावमा पकड राख्ने वर्तमान अध्यक्ष शेखर गोल्छा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि अझै कसैको पक्षमा उभिएका छैनन् । तर, तीनैजना उम्मेदवार आकांक्षीले आफूलाई समर्थन गर्ने दाबी गर्दै आइरहेका छन् । उता ढकाल भने भावी अध्यक्षले कसैलाई पनि समर्थन गर्न नहुने जिकिर गर्छन् । 

महासंघको चुनावमा राजनीतिक दलको समर्थनसमेत अप्रत्यक्ष रूपमा देखिँदै आएको छ । उम्मेदवारहरूले अहिलेदेखि नै राजनीतिक दलका नेता गुहार्न थालिसकेका छन् । त्यसैले मूल राजनीतिमा देखिएको गठबन्धन तथा सत्ता समीकरणले समेत महासंघको चुनावलाई प्रभाव पार्ने उद्योगी–व्यवसायी नै बताउँछन् ।