मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ३० मंगलबार ०८:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ३० मंगलबार ०८:१३:००

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार सुरु गरेका छन् । सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट संयुक्त कारोबार सुरु भएको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको १००: ८० सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो)मा सहमति भएको छ । मर्जरपछि बनेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख कायम भएको छ । यो नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो । 

नियामक निकाय बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)ले गत चैतमा एक वर्षभित्र (आगामी चैत मसान्तभित्र) निर्जीवन बिमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीलाई पाँच अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसपछि बिमा कम्पनीहरूले मर्जरमार्फत चुक्ता पुँजी बढाउने काम गरिरहेका छन् । मर्जरपछि बनेको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सतर्फबाट मनोहरदास मूल र प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट चंकी क्षेत्री रहेका छन् । 

मर्जर समारोहलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बिमा क्षेत्रमा सिनर्जी ल्याइरहेको बताए । मर्जरमार्फत चुक्ता पुँजी बढ्दा इनोभेटिभ बिमा योजना ल्याउन, सेवालाई गुणस्तरीय बनाउने र दुर्गम ठाउँमा सेवा विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘हामीले गरेको चुक्ता पुँजी बढाउने निर्णय समयसापेक्ष एकदमै ठीक थियो, यो समयको आवश्यकता पनि थियो ।

त्यसमा कम्पनीहरूले मर्जरमार्फत चुुक्ता पुँजी बढाउने गरी झन् राम्रो निर्णय गरिरहनुभएको छ, जुन एकदमै राम्रो हो,’ उनले भने, ‘यसले बिमा क्षेत्रमा सिनर्जी ल्याएको छ । साथै, जोखिम धारण गर्ने क्षमता पनि बढेको छ । साथै, अब नयाँ–नयाँ प्रडक्ट ल्याउन, प्रविधिको प्रयोग गर्न, गाउँ–गाउँमा बिमा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’ मर्जरले समग्रमा बिमा कम्पनीहरूको क्षमता पनि बढ्ने उनको भनाइ छ । 

यस्तै, उनले मर्जरले दिएको अवसरलाई राम्रोसँग सदुपयोग गर्नुपर्ने बताए । यस्तै, उनले अब दाबी भुक्तानीलाई पनि चुस्त बनाउनुपर्ने बताए । कम्पनीहरूले दाबी भुक्तानीमा ढिलासुस्ती गरे आवश्यक कारबाही गरिने चेतावनी दिए । कम्पनीका अध्यक्ष मनोहरदास मूलले कम्पनीलाई बिमा क्षेत्रकै उत्कृष्ट बनाउने बताए । मर्जर समारोहलाई सम्बोधन गर्दै कम्पनीका सिइओ चंकी क्षेत्रीले अब नयाँ–नयाँ प्रडक्ट ग्रामीण क्षेत्रमा बिमा सेवा विस्तार गर्ने बताए । साथै, अबका दिनमा लघु र कृषि बिमालाई प्राथमिकतामा राखेर व्यवसाय अगाडि बढाउने उनको भनाइ छ ।