१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ चैत २७ बुधबार ०६:३४:००
Read Time : > 2 मिनेट
अर्थ

दैलेखको पश्चिम क्षेत्रमा असिनापानी, ३५ करोडबराबरको बाली क्षति

Read Time : > 2 मिनेट
२०७५ चैत २७ बुधबार ०६:३४:००

दैलेखको टाँठीकाँध गाउँपालिका–२ की ६५ वर्षीया नान्दरी विकका छोरा रोजगारीका सिलसिलामा भारतमा छन् । घरमा बुहारी र दुई नाति–नातिनी छन् । गहुँबाली भित्र्याउन उनका छोरा नेपाल आउने तयारी गर्दै थिए, तर प्राकृतिक प्रकोपपछि उनी उतै रोकिए । शुक्रबार साँझ आएको असिनाले भित्र्याउन ठिक्क परेको गहुँबाली सखाप बनाएको छ । काट्ने वेला भएका गाउँलेका सबै गहुँका दाना असिनाले भुइँमा झारेको छ । गहुँको नलसमेत सद्दे छैनन् ।

धेरै दुःख र कष्ट गरी फलाएको गहुँ भित्र्याउनै लाग्दा असिनाले नष्ट गरेपछि टाँठीकाँध गाउँपालिकामा ठूलै कठिनाइ आइपरेको छ । ‘घरमा खाने अन्नको गेडो छैन, अर्कोको गोरु, अरूसँग मागेको बीउले चारसुर्का जमिनमा लगाएको गहुँ घर भित्र्याउने वेलामा असिनाले पूर्णरूपमा नष्ट ग¥यो,’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीसँग नान्दरीले रुँदै भनिन्, ‘गाउँका सबैको गहुँका दाना बारीमा छन्, लगातार पानी परेको छ । निकै दुःख–कष्ट व्यहोर्नुपरेको छ ।’

विपत्तिको मारमा दलित समुदाय
भीषण असिनापानीको मारमा दलित समुदाय परेका छन् । वडा नम्बर–२ मा दलित समुदायको बाक्लो बसोवास छ । ‘मेरो १७ जनाको परिवार छ, असिनापानीले अब खाने गाँस बचेन, कि त सबै परिवार लिएर भारत जानुपर्ने भयो, होइन भने, सरकारले हामीलाई हेर्नुप¥यो,’ स्थानीय खड्क विकले भने । 

बालबालिका बचाउन दलित समुदायले सरकारसँग माग गरेका छन् । पश्चिम क्षेत्रका अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । एकबाली लगाएर भारतमा काम गर्न जाने र बाली भित्र्याउन घर आउने गर्छन् । आधा किलोसम्मका असिनाले किसानहरूले लगाएका केराको सबै बोट नष्ट बनाएको छ । 

तरकारीबाली मात्रै ६ करोडको क्षति
टाँठीकाँध गाउँपालिकामा किसानले लगाएका तरकारीबालीमा पूर्ण क्षति पुगेको छ । बन्दा, काउली, लसुन, प्याजलगायतका तरकारीसँगै वर्षात्को वेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना पनि सखाप भएको छ । टाँठीकाँध गाउँपालिकामा मात्रै ६ करोडबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक विवरण छ ।

प्रदेश सरकारले चासो नदिएको स्थानीयको गुनासो 
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको घर टाँठीकाँध गाउँपालिका–६ मा पर्छ । उनको गाउँमा असिनाले सबैभन्दा धेरै क्षति गरेको छ । प्रदेश सभामुखको गाउँमा ठूलो क्षति भए पनि प्रदेश सरकारले यसबारे चासो नदिएको स्थानीयको गुनासो छ । सभामुख शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सल्लाह गरेर तत्काल राहतका लागि छलफल गर्ने बताए ।

चार वडा बढी प्रभावित
गहुँ र तरकारीमा आत्मनिर्भर टाँठीकाँध गाउँपालिका वडा नम्बर १,२, ३ र ६ मा लगाएका सबै अन्नबाली असिनापानीले नष्ट गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । शुक्रबार साँझ आएको असिना सोमबार बिहानसम्म पग्लिएको थिएन । ‘करिब आधा किलोजत्रो असिना परेको थियो । साँझपख भएकाले बालीनाली सबै नाश ग¥यो, घरभित्र भएकाले मानवीय क्षति भने भएन,’ स्थानीय सुकमाया विकले भनिन् । असिनापानीले बालीनाली सखाप बनाएपछि गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष सुस्मिता सिंह, जिल्ला प्रशासन कार्यालय दैलेखका लेखापाल नरेश्वर अधिकारी, कृषि ज्ञान केन्द्र दैलेखका प्रतिनिधिलगायतको टोली किसानका बारीमै गएर क्षतिको जानकारी लिएको थियो ।

टाँठीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकांश क्षेत्रमा तरकारी, फलफूल, गहुँ, जौ नष्ट भएको गाउँपालिकाले तयार पारेको प्रारम्भिक विवरणमा जनाइएको छ । टाँठीकाँध गाउँपालिकामा मात्रै २० करोडबराबरको क्षति भएको गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् । यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए । 

खाद्य डिपो स्थापना गर्न माग 
दैलेखको टाँटीकाँध गाउँपालिकामा रहेको खाद्य डिपो सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । तत्काल डिपो स्थापना गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको छ । गहुँबाली र तरकारी बाली सबै नष्ट भएपछि बजारमा कृत्रिम अभाव देखिएको छ । एक हजार पाँच सय बोरा पर्ने चामलको मूल्य रातारात दुई हजार रुपैयाँ पुगेको छ ।

अस्वाभाविक बजारमूल्य बढेपछि विस्थापित भएको खाद्य डिपो स्थापनाका लागि गाउँपालिकाले जिल्ला, प्रदेश र केन्द्रसँग माग गरेको हो । एक साताभित्र डिपो स्थापना नभए स्थानीय समस्यामा पर्ने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको भनाइ छ ।