१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०८:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी वितरण गर्ने पाइपमा जताततै चुहावट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०८:२४:००

मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिच्छ्याइएका पाइपबाट जताततै चुहावट हुन थालेको छ । एक दशकअघि नै बिच्छाइएका पाइपबाट पानी वितरण गरेका कारण चुहावट भएको हो । नयाँ पाइपमा पनि केही स्थानमा चुहावट भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप बिच्छाएको थियो । नयाँ पाइपमा पनि अरू निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अन्डरग्राउन्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले चुहावट भएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ,’ उनले भने । 

निर्देशनालयले यसअघि बिच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ,’ उनले भने ।

नयाँ पाइप परीक्षणकै क्रममा रहेकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा करिब एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ । नयाँ पाइप परीक्षणकै क्रममा रहेको र पुरानो पाइपले मेलम्चीबाट थपिएको दैनिक १७ करोड लिटर पानी थेग्न नसक्दा समस्या भएको सूचना अधिकारी श्रेष्ठले बताए । खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौंमा पुरानो बस्ती क्षेत्रमा चुहावट बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले हिउँदमा मात्रै पानी वितरण भइरहेको छ ।