
श्रीलंकामा हुने तेस्राे अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई बुटवलबाट बिदाइ गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाइ गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, महाशाखा प्रमुख मित्रमणि खनालसहितको टोलीले खेलाडीसहितको टोलीलाई माला र खादा लगाएर बिदाइ गरेको हो ।
खेलाडीलाई बिदाइ गर्दै पन्थीले कराँतेमा उपाधि हासिल गरेर आउनका लागि शुभकामना दिए । उनले खेलका माध्यमबाट बुटवल र नेपालकै नाम विश्वसामु परिचित गराउँदै जितेर आउनका लागि शुभेच्छा व्यक्त गरे ।
मार्च ४ मा श्रीलंकामा हुने तेस्राे अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा भाग लिन भैरहवाका कमरुद्दिन अली, देवदहका शोभाखर पन्थ, तिलोत्तमाका नाै वर्षका श्याम कँडेल, बुटवल देवीनगरका १३ वर्षका रिपेश बस्याल, सिन्धुलीका पुरुषोत्तम पोखरेल र मुख्य प्रशिक्षकका रूपमा हरिशरण केसी सहभागी हुने टिम व्यवस्थापक जनेश पन्थीले जानकारी दिए ।