मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १६:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दिल्लीमा विमल सुवेदीको ‘दि कन्फेसन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १६:५२:००

जगदीश घिमिरेको उपन्यास ‘साबिती’बाट प्रभावित भई तयार पारिएको नाटक ‘दि कन्फेसन’ साबिती नयाँदिल्लीमा मञ्चन गरिएको छ । विमल सुवेदीले निर्देशन गरेको नाटक आइतबार नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा देखाइएको हो ।

नेसनल स्कुल अफ ड्रामा र  र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा नाटक मञ्चन गरिएको हो । गरिबलाई केन्द्रमा राखी शासकमाथि गरेका अनेक प्रश्नहरूको संगालोको रूपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा सुवेदीले ‘साबिती’ नाटक तयार गरेका थिए ।

जगदीश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेको हेर्ने लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिवेला एक साे मञ्चन भएर बन्द भएको नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरूपमा प्रस्तुत गरेका हुन् ।

भारतमा मात्र यो नाटकले चारपटक स्टेज टेकिसकेको छ । सन् २०१८ मा नयाँदिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको नाटक त्यसको एक वर्षपछि जम्मु–कस्मिरमा मञ्चन भएको थियो । यही साल मात्र दुईपटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार नेसनल स्कुल अफ ड्रामाको मञ्चमा देखाइएको हो ।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगैसँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा पनि प्रस्तुत गर्छ । 

कथावाचनका लागि निर्देशक सुवेदीले एक्सरे, नुन, स्लाइनपानी र रगतसहितको सेट बनाएका छन् जसले संवादको वजनलाई गहिरो गरी दर्शकसम्म महसुस गराउन सहयोग गर्छ ।

नाटकमा अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन् । चक्र पुलामीले प्राविधिक रूपमा साथ दिएका थिए । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन् ।