१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस टोकियो
२०७९ फाल्गुण १५ सोमबार १५:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

Read Time : < 1 मिनेट
रासस, टोकियो
२०७९ फाल्गुण १५ सोमबार १५:२१:००

जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले संयुक्त राज्य अमेरिकाबाट चार सयवटा टोमाहक क्षेप्यास्त्र खरिद गर्न लागिएको बताए ।

‘हाम्रो देशको योजना चार सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,’ किसिदाले तल्लो सदनको बजेट समितिलाई बताए । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए ।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्तिसम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किसिदा प्रशासन जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ । रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशंकाबीच जापानको यो निर्णय सार्वजनिक भएको हो । 

जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ । तर, गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई देखाउँदै जापानले सन् २०२७ सम्ममा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्डमा रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।