मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अनिल यादव काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०७:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपेन्द्रको संसद् छिर्ने चाहना 

जसपाले उपराष्ट्रपति पाएपछि त्यसमा रामसहायप्रसाद यादवलाई पठाएर बारा २ मा उपनिर्वाचनमा उम्मेदवार बन्ने यादवको तयारी

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०७:२२:००

जसपा अध्यक्ष उपेन्द्र यादव राजनीतिका चतुर र महत्वाकांक्षी खेलाडी मानिन्छन् । कुनै समय सत्ताको खेलमा उनको भूमिका निर्णायक मानिन्थ्यो । तर, यसपटक सरकारलाई समर्थन गरे पनि सरकार गठन भएको दुई महिना बितिसक्दासम्म उनको दल सरकारमा जान सकेको थिएन ।

यादवले ‘एमाले–माओवादीले बचेकुचेको भाग मात्रै दिन खोजेपछि’ सहभागी हुन नसकेको कारण दिइरहेका थिए । तर, यसको अन्तर्यमा भने उनीभित्रको अर्कै चाहना लुकेको थियो– उपराष्ट्रपति जसपाको भागमा पार्ने, आफूनिकटका सांसदलाई उपराष्ट्रपति बनाउने र उपनिर्वाचनमार्फत निर्वाचित भएर आफू संसद्मा छिर्ने ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णयमा आठदलीय गठबन्धन बनेसँगै अब यादवको त्यो चाहना पनि पूरा हुने भएको छ । अर्थात्, सत्तागठबन्धन सुरुदेखि नै माओवादीले ताकिरहेको उपराष्ट्रपति पद जसपालाई दिने सहमति भएको छ । नयाँ समीकरणअनुसार जसपाले उपराष्ट्रपति पाउने सहमति भएको अध्यक्ष यादव स्वयं स्विकार्छन् । ‘नयाँ गठबन्धन बनिसकेको छैन, तर नयाँ समीकरण बन्दै छ । नयाँ समीकरणअनुसार कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति पाउने पक्का भयो । यसमा सहमति भइसकेको छ,’ उनले भने । 

यतिखेर जसपाभित्र हाल संसदीय दलका नेता रहेका रामसहायप्रसाद यादव उपराष्ट्रपति हुने र उनको निर्वाचन क्षेत्रबाट यादव उम्मेदवार बन्ने कुरा ‘ओपन सेक्रेट’जस्तै छ । तर, यादव स्वयं भने यो स्विकार्दैनन् । भन्छन्, ‘यस विषयमा अहिले सोचिसकेको छैन । तर, सम्भावना त हुने नै भयो ।’

जसपाभित्र रामसहाय उपेन्द्रका सबैभन्दा विश्वासपात्र हुन् । जसपाका एक नेताका उपेन्द्रले रामसहायलाई संसदीय दलको नेता बनाउनुको कारण पनि यही हो । ती नेताका अनुसार निर्वाचनमा पराजित भएयता नै उनको मिसन उपराष्ट्रपति थियो । तर, सत्ता साझेदार दलभित्र राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने ‘गोप्य’ सहमतिका कारण उनी चिढिएका थिए । ‘अध्यक्षज्यूको बार्गेनिङ पोइन्ट नै उपराष्ट्रपति पद थियो,’ उनले भने, ‘रामसहायजीलाई उपराष्ट्रपति बनाउने र उहाँको निर्वाचन क्षेत्र बारा २ बाट चुनाव जितेर पुनः संसद्मा आउने उहाँको चाहना हो । रामसहायजीलाई संसदीय दलको नेता बनाउनुको कारण पनि त्यही हो । त्यसो हुँदा पछि आफू दलको नेता बन्न पनि सजिलो हुने भयो ।’

बारा २ निर्वाचनताका उपेन्द्र स्वयं उम्मेदवार सिफारिस भएको क्षेत्र पनि हो । भलै उनले सप्तरी २ रोजे । त्यसो त जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पत्याउने हो भने उनी अन्तिम समयसम्म पनि त्यहाँबाट चुनाव लड्ने तयारीमा थिएनन् । ‘मसँगको कुराकानीमा उहाँ सप्तरी २ बाट आउँदिनँ भन्ने थियो,’ राउत भन्छन्, ‘अचानक मनोनयन दर्ताको अघिल्लो दिन मात्रै उहाँ आउने कुरा भयो । नत्र उहाँजत्तिको मान्छे संसद्मा आउनुपर्छ भन्नेमा म सुरुदेखि नै विश्वस्त थिएँ । तर, परिस्थितिले हामीलाई प्रतिस्पर्धी बनायो ।’

उपेन्द्रले बारा २ लाई जितका लागि सहज क्षेत्रसमेत ठानेका छन् । कारण, यो क्षेत्रको समानुपातिक मतगणनामा पनि जसपा सबैभन्दा अगाडि छ । जसपा १३ हजार मतसहित पहिलो छ भने एमाले नौ हजारभन्दा बढी मतसहित दोस्रो छ । त्यसमाथि नयाँ समीकरणमा रहेका दलहरूको सहयोग मिलेमा आफूले सहजै जित निकाल्न सक्ने उनको आकलन छ । 
प्रधानमन्त्री प्रचण्ड जसपालाई सहजै उपराष्ट्रपति पद दिन तयार रहनुको पछाडि पार्टी एकता पनि जोडिएको बताउँछन् जसपाका नेताहरू । ‘माओवादी, जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताको छलफल अघि बढेको अवस्था छ,’ जसपाका अर्का एक नेताले भने, ‘भोलि पार्टी एक हुन सक्छ भनेर पनि उपेन्द्रजीको हकमा प्रचण्डजी नरम हुनुभएको हो । नत्र सहज थिएन ।’

मधेस मामिलाका जानकार चन्द्रकिशोर यादव उपनिर्वाचनबाट पुनः संसद्मा छिर्न खोज्नु सप्तरी २ का मतदाताको म्यान्डेटको अवमूल्यन रहेको बताउँछन् । ‘सप्तरी २ का जनताले उपेन्द्र यादवलाई रुचाएनन् । त्यसैले उनको प्रतिस्पर्धी सिके राउतलाई अत्यधिक मतान्तरले जिताए,’ उनी भन्छन्, ‘तर, यसरी पराजित हुनपुगेका उम्मेदवार जुगाड मिलाएर पुनः अर्को ठाउँबाट उठ्न खोज्नुभनेको त्यो साबिकको मतदाताको म्यान्डेटको अवमूल्यन गर्नु हो भन्ने लाग्छ । कुनै समयमा माधव नेपाल दुईवटा निर्वाचन क्षेत्रबाट हार्दा पनि संसद्मा ल्याउनैपर्छ भन्ने कुरा भयो । त्यस्तै, चर्चा अहिले जसपाभित्र चलिरहेको छ ।’

 सम्भावना छ,तर मैले सोचिसकेको छैन
 उपेन्द्र यादव, अध्यक्ष, जसपा

नयाँ गठबन्धन बनिसकेको छैन, तर नयाँ समीकरण बन्दै छ । नयाँ समीकरणअनुसार कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति पाउने पक्का भयो । यसमा सहमति भइसकेको छ । तर, म आफैँ संसद् छिर्ने भन्ने विषयमा सोचिसकेको छैन । यो विषयमा राष्ट्रपति निर्वाचनपछि मात्रै निर्णय हुन्छ । राजनीति हो, सम्भावना त हुने नै भयो ।

 सम्भावना छ,तर मैले सोचिसकेको छैन
 उपेन्द्र यादव, अध्यक्ष, जसपा

नयाँ गठबन्धन बनिसकेको छैन, तर नयाँ समीकरण बन्दै छ । नयाँ समीकरणअनुसार कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति पाउने पक्का भयो । यसमा सहमति भइसकेको छ । तर, म आफैँ संसद् छिर्ने भन्ने विषयमा सोचिसकेको छैन । यो विषयमा राष्ट्रपति निर्वाचनपछि मात्रै निर्णय हुन्छ । राजनीति हो, सम्भावना त हुने नै भयो ।