१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार ०६:१५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्राफिकलाई छल्दा सिसिक्यामेराको फन्दामा

साउनयता सिसिटिभीको सहयोगमा चार हजार तीन सय १४ चालक कारबाहीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण ११ बिहीबार ०६:१५:००

ट्राफिक प्रहरीलाई छलेर ट्राफिक नियम मिच्ने चालकहरू सिसिक्यामेराको फन्दामा पर्न थालेका छन् । ट्राफिक प्रहरीले सिसिक्यामेराका आधारमा ठूलो संख्यामा उपत्यकाका चालकहरूलाई कारबाही गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत १ साउनदेखि फागुन पहिलो सातासम्म चार हजार ३१४ चालक सिसिक्यामेराको निगरानीका आधारमा कारबाहीमा परेका छन् । कतिपयलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल रुमले दिएको जानकारीका आधारमा तथा कतिपयलाई सवारी नम्बरका आधारमा अनुसन्धानमा गरेर पछि कारबाहीको दायरामा ल्याइएको एसएसपी राजेन्द्र भट्टले बताए । 

कन्ट्रोल रुमको निगरानीका आधारमा तीन हजार २९२ जना कारबाहीमा परेका छन् । त्यस्तै, ट्राफिक नियम उल्लंघन गरी फरार भएका एक हजार २२ जनालाई पछि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइएको एसएसपी भट्ट बताउँछन् । यसरी कारबाहीमा पर्नेहरूको संख्या पछिल्लो दुई महिनामा बढेको छ । 

साउन महिनामा तीन सय ४१, भदौमा ६ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मंसिरमा ६ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ तथा फागुनको पहिलो साता ४४ जना कारबाहीमा परेका छन् । ‘ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याउने गरिएको छ,’ एसएसपी भट्टले भने, ‘यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।’

खासगरी लेनसम्बन्धी र रेडलाइटसम्बन्धी सडक अनुशासनमा सिसिक्यामेराको सहयोगमा धेरै कारबाहीमा पर्ने गरेका छन् । ट्राफिक प्रहरीलाई सडकमा नदेख्दा ट्राफिक नियम मिच्ने प्रवृत्ति देखिएपछि यसरी सिसिक्यामेराका आधारमा कारबाहीलाई तीव्रता दिन थालिएको छ । 

सिसिटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले फिल्डमा खटिएकालाई तत्काल नै जानकारी दिएर कतिपयलाई कारबाही गराउने गर्दछन् । स्थान, समय, सवारीसाधन, नम्बर र कसुरको विषयमा जानकारी दिएर भाग्दै गर्दा चालक कारबाहीमा पर्ने गरेका छन् ।

फरार हुनेहरूको हकमा यातायात व्यवस्था कार्यालयबाट सो सवारीधनीका बारेमा विस्तृत विवरण लिएर अनुसन्धान हुने एसएसपी भट्टले बताए । ०७४ देखि सिसिटिभीमार्फत तथा ०७५ बाट सर्भिलेन्स भेहिकलमार्फत सडकमा निगरानी हुँदै आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सिसिक्यामेराजडित सर्भिकल भेहिकलको पनि सडकमा ट्राफिक पालनाको अनुगमनमा प्रयोग हुँदै आएको छ । 

सिसिटिभीले सडक अनुशासनमा सघाएको छ
एसएसपी राजेन्द्रप्रसाद भट्ट

कतिपयलाई सिसिटिभीको कन्ट्रोल रूमले दिएको जानकारीका आधारमा र केहीलाई सवारी नम्बरको आधारमा अनुसन्धान गरेर पछि कारबाहीको दायरामा ल्याइएको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याउने गरिएको छ । यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।