मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३ बुधबार ०७:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बसपार्क क्षेत्रमा लुटपाट र आगजनी, कहाँ चुक्यो प्रहरी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३ बुधबार ०७:३३:००

बालाजु घटनाले प्रहरीको मनोबल खस्किएको मात्र होइन, फिल्डमा प्रहरीले जोखिम मोलेर काम गर्ने अवस्था छैन भन्ने देखाएको छ

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सोमबार लुटपाट, आगजनी र झडपका घटना भए । मुलुकको राजधानीमै भएको यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीकै गाडी नियन्त्रणमा लिएर आगजनी भएको छ । मोबाइल पसलहरू लुटिँदा प्रहरी अधिकारी कतै देखिएनन्, बसपार्क पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा देखिन्थ्यो । 

दिवेश लोहनी, एआइजी प्रमुख, उपत्यका प्रहरी कार्यालय
घटना रोक्न प्रहरीले सक्रियता नदेखाएको भन्ने गलत हो । प्रहरीले सक्रियता देखाएको र बल प्रयोग गरेकैले ठूलो क्षति नभएको हो । हामीले अश्रुग्यास प्रहार गरेका छौँ, लाठीचार्ज गरेका छौँ । आन्दोलन यति उग्र हुन्छ भनेर पूर्वआकलनमा भने केही कमजोरी भएको हुन सक्छ ।

देशको राजधानीमा सोमबार साँझको यो दृश्यले देशको सुरक्षा संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । धेरैको जिज्ञासा छ, यस्तो वितन्डा हुँदा पनि प्रहरी किन यति निरीह र रक्षात्मक बन्यो ? भिड नियन्त्रणमा अनुभवी प्रहरी अधिकारीका अनुसार राजनीतिक प्रकृतिको आन्दोलन र मजदुर आन्दोलनको शैली पूर्ण रूपमा फरक हुन्छ । ‘राजनीतिक आन्दोलन कसैको नेतृत्वमा हुन्छ, तर मजदुरहरूको आन्दोलनमा कसैले कसैलाई टेर्दैनन्, जतिवेला जे पनि हुन सक्छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘जसको आकलन गर्न नसक्नु नै सोमबारको घटनाको प्रमुख कारण हो ।’

सोमबारको आन्दोलनको मुख्य कारण ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीले मजदुरमाथि गरेको दुव्र्यवहारसँग सम्बन्धित छ । मंगलबार गर्न लागेको आन्दोलनको विषयमा यातायात मजदुर नेताहरू ल्होत्से मलको एक हलमा छलफल गर्न गएका थिए । त्यहीँ विवाद हुँदा ल्होत्सेका कर्मचारीले कुटपिट गरेपछि आन्दोलित भए । कुटपिट गर्नेलाई प्रहरीले तत्कालै पक्राउ गरेकाले त्यो विषय तत्कालका लागि मिल्यो, तर त्यसले मजदुरहरूको आक्रोशको बिउ रोप्यो । सोही विषयलाई लिएर सोमबार बेलुकीसम्म नै सडक अवरुद्धसमेत भयो । 

उनीहरूले चालकहरूको लाइसेन्स निलम्बन गरेको, यातायात जरिवाना बढाएकोलगायत विषयमा आन्दोलनको तयारी गरेका थिए । ती विषयमा केही दिन समय दिने सहमति भइसकेको थियो । पछि माइक्रो व्यवसायीले आफूहरूलाई ल्हात्सेले पार्किङमा अनावश्यक दुःख दिएको आरोप लगाएर विवाद गरेपछि आन्दोलन चर्कियो । माइक्रो व्यवसायीसँग सहमति त भयो, तर त्यतिवेलासम्म सडकमा स्थिति प्रहरीको नियन्त्रणबाहिर गइसकेको थियो । प्रहरीका गाडी जलाइए भने एम्बुलेन्समाथि समेत आक्रमण भयो । 

प्रहरी अधिकारी भन्छन्– रक्षात्मक शैली अपनाइँदा क्षति कम भयो
अराजकता हुँदा पनि प्रहरीले बल प्रयोग नगरेको स्थानीयको आरोप छ । तर, प्रहरी अधिकारी त्यो मान्न तयार छैनन् । ‘अत्यधिक बल प्रयोग गरेको भए बसपार्क रणमैदान हुने अवस्था थियो,’ घटनास्थलमा खटिएका एक प्रहरी भन्छन्, ‘टियर ग्यास र लाठी प्रहार गरेका हौँ, केही समय मात्र स्थिति हाम्रो काबुबाहिर जाँदा लुटपाट र आगजनी भएको हो ।’ गोली नै चलाउँदा स्थिति थप बिग्रन सक्ने भएकाले केही हदसम्म रक्षात्मक शैली अपनाइएको ती प्रहरीको भनाइ छ । 

सामान्य किसिमको विवाद भएकाले यस्तो उग्र रूप लिने आलकन थिएन, जसअनुसार मद्दतका लागि थप प्रहरी र सशस्त्र प्रहरी बोलाइएन । थोरै प्रहरी र आन्दोलनकारी धेरै हुँदा केही समय परिस्थिति सुरक्षा निकायको काबुबाहिर गएको हो । पछि सुरक्षाकर्मी थपेर आन्दोलनकारीलाई तितरबितर बनाइयो । 

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी प्रहरीले बल प्रयोग गरेकै कारण ठूलो क्षति नभएको बताउँछन् । ‘हामीले अश्रुग्यास प्रहार गरेका छौँ, लाठीचार्ज गरेका छौँ,’ उनी भन्छन्, ‘प्रहरीले बल प्रयोग नगरेको होइन, आन्दोलन यति उग्र हुन्छ भनेर पूर्वआकलनमा केही कमजोरी भएको हुन सक्छ ।’ मोबाइल पसल लुट्ने केहीलाई रंगेहात पक्राउ गरेकाले प्रहरी निष्क्रिय भएको भन्न नमिल्ने उनको भनाइ छ । 

काठमाडौंकै एक प्रहरी अधिकारीले भने सोमबारको घटनाले फिल्डमा खटिने प्रहरीको मनोबल कति खस्किएको छ भन्ने प्रस्ट हुने बताउँछन् । ‘फिल्डमा खटिएका प्रहरीले कसैले जोखिम लिएर काम गर्ने अवस्था नै छैन,’ ती प्रहरी अधिकारी भन्छन्, ‘यो प्रहरीमाथि हुने राजनीतीकरणको परिणम हो ।’ 

डिआइजीको नेतृत्वमा छानबिन समिति गठन 

लुटपाट, आगजनी र झडपका घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ । कार्यालयका नायब महानिरीक्षक (डिआइजी) मसाउद आलम खाँको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । घटनाको कारण र त्यसमा प्रहरीबाट भएको सम्भावित कमजोरी पत्ता लगाउन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीले बताए ।

प्रारम्भिक अध्ययनमा बालाजु वृत्तका डिएसपी रविन विष्टको कमजोरी देखिएपछि उनलाई मंगलबार जिम्मेवारीबाट हटाइएको छ । उनी चढेको गाडी नै आन्दोलनकारीले जलाइदिएका थिए । सामान्यतया प्रहरी इन्चार्जले यसरी आफ्नो सवारी छाडेर हिँड्न नमिल्नेमा डिएसपी विष्टले परिस्थितिको सामान्य आकलनसमेत नगरी लापरबाही गरेका थिए । सोही कारण उनलाई वृत्तबाट हटाएर डिएसपी मनोजित कुँवरलाई खटाइएको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका प्रहरीमाथि कारबाही हुने एआइजी लोहनी बताउँछन् ।