१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ट्राफिक नियम उल्लंघनमा गरिने कारबाही खुकुलो पार्न र बसपार्कबाहिरै माइक्रोबस पार्किङ दिन माग गर्दै सोमबार विभिन्न तीन यातायात मजदुर संगठनले गोंगबुु क्षेत्रमा आयोजना गरेको विरोधसभामा हस्तक्षेप भएपछि आक्रोशित यातायात मजदुरहरू । तस्बिर : संजित परियार
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण २ मंगलबार ०७:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोंगबु क्षेत्रमा यातायात मजदुरको उग्र प्रदर्शन : ट्राफिक कारबाही खुकुलो पार्न र बसपार्कबाहिर माइक्रोबस पार्किङको माग

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण २ मंगलबार ०७:१७:००

प्रहरीका दुई भ्यानमा आगजनी, एक प्रहरी अस्थायी बिट, एउटा एम्बुलेन्स, दर्जन सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड, १० प्रहरी र दर्जन मजदुर घाइते

ट्राफिक नियम उल्लंघनमा गरिने कारबाही खुकुलो पार्न र बसपार्कबाहिरै माइक्रोबस पार्किङ दिन माग गर्दै यातायात मजदुरले सोमबार अपराह्नदेखि रातिसम्म गोंगबुु क्षेत्रमा उग्र प्रदर्शन गरेका छन् । बुधबारदेखि सार्वजनिक यातायात ठप्प पार्ने पूर्वघोषित कार्यक्रम सार्वजनिक गर्न गोंगबुुमा जम्मा भएका मजदुर र नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि कर्मचारीबीच पार्किङको विषयमा झडप भएपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रदर्शन झन् उग्र बनेको हो । 

तुलसीनाथ गौतम, महानिर्देशक, यातायात व्यवस्था विभाग
यातायात व्यवसायीले पार्किङ व्यवस्थापन, ट्राफिक जरिवाना तथा कारबाहीमा छुटलगायत विभिन्न बुँदामा प्रतिवेदन पेस गर्नुभएको छ । यसबारे अध्ययन गर्न विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहभागितामा कार्यदल पनि गठन भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संघको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीका दुई भ्यानमा आगजनी र प्रहरीको एक अस्थायी बिटमा आक्रमण भएको छ । त्यस्तै, एउटा एम्बुलेन्स तथा दर्जन सार्वजनिक र निजी सवारीसाधन तोडफोड गरिएको छ । प्रदर्शनमा १० प्रहरी र दर्जन मजदुर घाइते भएका छन् । अपराह्नदेखि रातिसम्म बसपार्क क्षेत्रमा निम्तिएको अशान्तिका कारण चक्रपथमा चल्ने स्थानीय सवारीसाधन मात्रै होइन, उपत्यकाबाहिर जाने रात्रिबस तथा अन्य सवारीसाधन पनि अलपत्र परे । यातायात व्यवासायी र मजदुरले सडकमा सवारीसाधन तेस्र्याएर प्रदर्शन गरेका थिए । 

यातायात व्यवसायी तथा मजदुरले यसअघि भएका छलफलका निर्णय सार्वजनिक गर्न र बुधबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गर्न गोंगबुु क्षेत्रमा भेला आयोजना गरेका थिए । त्यसक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका सुनील कुँवर, कर्मचारी पंकज मल्ल, हिमाल कुँवरलगायत ३० जनाको समूहले आफूहरूमाथि आक्रमण गरेको मजदुरहरूको आरोप छ । झडपको विषयलाई लिएर मजदुरहरूले मंगलबार उपत्यकामा यातायात बन्द गर्ने घोषणासमेत गरेका छन् । ल्होत्से कम्पनीले आफूहरूमाथि ज्यादती गरेको भन्दै तीन मजदुर संगठनले विज्ञप्ति जारी गरी १० बुँदे मागसहित बन्दको आह्वान गरेका हुन् । 

राति आफूअनुकूल सडक–किनारमै माइक्रोबस राख्दै आएकामा बसपार्कभित्र पार्किङको व्यवस्था गरेपछि माइक्रोबस व्यवसायी तथा मजदुर विरोधमा उत्रिएका हुन् । यातायात व्यवस्था विभागसँग मिलेर ल्होत्सेले आफूहरूसँग पार्किङ शुल्क लिन थालेको उनीहरूको आरोप छ । ल्होत्सेले एउटा माइक्रोबस पार्किङबापत दैनिक एक सय ५० रुपैयाँ शुल्क लिने सहमति काठमाडौं महानगरसँग गरिसकेको छ । त्यस्तै, एकैपटकमा १५ सयसम्म जरिवाना उठाउने पछिल्लो ट्राफिक नियम र पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन भए ड्राइभिङ लाइसेन्स नै ६ महिनाका लागि निलम्बन गर्ने व्यवस्थाविरुद्ध पनि यातायात मजदुर आन्दोलित छन् ।

यातायात व्यवस्था ऐन, ०७३ अनुसार पहिलोपटक ट्राफिक कारबाहीमा परे पाँच सय, दोस्रोपटकको कारबाहीमा हजार र तेस्रोपटक वा सोभन्दा बढी ट्राफिक नियम उल्लंघन गरे १५ सय जरिवाना तिराउने व्यवस्था छ । तर, ट्राफिक प्रहरीले पहिलो कारबाहीमै १५ सयसम्म जरिवानाको नियम राखेपछि उनीहरू विरोधमा छन् । पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरे वा कारबाहीमा परे लाइसेन्स नै खारेज हुने नियम पनि छ । यसअन्तर्गत हाल एक सय पाँच चालकले निलम्बनको सजाय भोगिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमले बताए । यसबारे व्यवसायीहरूले विभागमा ध्यानाकर्षण गराएको पनि उनको भनाइ छ । 

एसएसपी राजेन्द्रप्रसाद भट्ट, प्रवक्ता, उपत्यका ट्राफिक प्रहरी कार्यालय
यातायात मजदुरहरूले ट्राफिक कारबाही र जरिवानाको विषय नबुझेर झडप भयो । पटके कारबाहीको नियम लागू भइसकेको छ, यो विवादको विषय नै होइन । हामीले ऐनअनुसार कारबाही गर्ने हो, ऐनमा तोकिएअनुसारको कारबाही प्रहरीले गरिरहेको छ ।

‘उहाँहरू (यातायात व्यवसायी)ले पार्किङ व्यवस्थापन, ट्राफिक जरिवाना तथा कारबाहीमा छुटलगायत विभिन्न बुँदामा प्रतिवेदन पेस गर्नुभएको छ,’ उनले भने, ‘यसबारे अध्ययन गर्न विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहभागितामा कार्यदल पनि गठन भएको छ ।’ उनका अनुसार कार्यदलले आठ दिनभित्र मजदुर र तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरेर विभागमा प्रतिवेदन पेस गर्नेछ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट यातायात मजदुरहरूले ट्राफिक कारबाही र जरिवानाको विषय नबुझेर झडप भएको बताउँछन् । उनले पटके कारबाहीको नियम लागू भइसकेको बताउँदै विवादको विषय नै नभएको बताए । ‘हामीले ऐनअनुसार कारबाही गर्ने हो, ऐनमा तोकिएअनुसारको कारबाही प्रहरीले गरिरहेको छ,’ उनले भने ।

प्रहरी भ्यानमा आगजनी गर्ने चारजना पक्राउ
प्रदर्शनका क्रममा प्रहरी भ्यानमा आगजनी गर्ने र सवारी आवागमनमा अवरोध पुर्‍याउने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुंगामुढा र आगजनीमा संलग्न अन्यको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरूको नाम भने खुलाएको छैन । रानीपोखरीका प्रहरी प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले धेरै बल प्रयोग नगरेकाले क्षति कम भएको बताए । झडपका क्रममा एक दर्जनभन्दा बढी मजदुरसमेत घाइते भएको मजदुर संगठनहरूको दाबी छ । 

एम्बुलेन्स मात्रै फुटाएनन्, मोबाइलसमेत लुटे : चालक

प्रदर्शनकारीको आक्रमणमा एम्बुलेन्स पनि पर्‍यो । प्रदेश–३ ००१–०२२ च २६३१ नम्बरको एम्बुलेन्सको चारैतिर सिसा फुटेको छ । रसुवाबाट बिरामी लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याएर फर्किँदै गरेको एम्बुलेन्स आक्रमणमा परेको हो । 

चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ । प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’ क्षतिग्रस्त एम्बुलेन्स बनाइदिन माग गर्दै सोमबार राति नै न्यौपानेले गोंगबुु प्रहरीवृत्तमा निवेदन दिएका छन् । चारैतिरको सिसा फुटेको उनले बताए । 

शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भएपछि झडप : केसी
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले सामान्य संघर्षका कार्यक्रमबारे मजदुरलाई जानकारी गराउने क्रममा ल्होत्सेले बिथोल्न खोजेपछि झडपको अवस्था आएको बताए । ‘यातायात मजदुरहरूलाई भेला पारेर शान्तिपूर्ण ढंगले आन्दोलनका कार्यक्रम र हाम्रा मागबारे जानकारी गराउँदै थियाैँ,’ उनले भने, ‘सोही क्रममा ल्होत्सेको टिमले हामीलाई त्यहाँबाट हटाउन खोज्यो, यहीबाट विवाद सुरु भएको हो ।’ उनले सोमबार पक्राउ परेका चारैजना माइक्रोबस चालक रहेको बताए । बसपार्कभित्र ल्होत्सेको एकाधिकार, पार्किङ भाडा वृद्धि, ट्राफिक जरिवाना र कारबाहीबारे आफूहरूको आपत्ति रहेको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले वार्तामा बोलाए
मजदुरहरूका माग र झडपबारे छलफल गर्न मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मजदुर संगठनका नेता, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगरलगायतलाई बोलाएका छन् ।