Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ २४ मंगलबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगर र प्राधिकरणबीच सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ २४ मंगलबार १०:५६:००

१२ करोड लागतको ६० प्रतिशत काठमाडौं महानगरपालिका र ४० प्रतिशत विद्युत् प्राधिकरणले व्यहाेर्ने

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका थिए ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार नाै सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ । 

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्तिसुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत, साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडकबत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरूपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तिनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुनेछन् । 

यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना–आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैँले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ। 

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मतसम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडकबत्ती प्रयोग भएबापतकाे शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।