मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २३ सोमबार ०८:२६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप : अमिषाको ह्याट्रिकमा नेपालको पहिलो जित

पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले आइतबार भुटानलाई ४–० ले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २३ सोमबार ०८:२६:००

नेपालले महिला साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । बंगलादेशको ढाकामा आइतबार भएको खेलमा स्ट्राइकर अमिषा कार्कीले ह्याट्रिक गरेपछि नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो । जितसँगै नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ । दुई खेलबाट जितविहीन भुटानले अंक जोड्न सकेको छैन । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । भुटान आफ्नो पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । 

लगातार दोस्रो हारसँगै भुटान प्रतियोगितामा एक खेलअघि नै उपाधि दौडबाट बाहिरिएको छ । दोस्रो खेलमा जित निकालेको नेपालले उपाधि जित्ने सम्भावना कायम राखेको छ । चार टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ । 

मध्यान्तरपछि अमिषाको ह्याट्रिक
वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा अमिषाले मध्यान्तरपछि ह्याट्रिक गरेकी थिइन् । नेपालले दोस्रो खेलमा प्रतियोगितामै सहभागी टोलीमध्ये कमजोर भुटानसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले भुटानविरुद्ध सुरुबाटै दबाब सिर्जना गरेको थियो । 

भुटानले दोस्रो खेलमा डिफेन्स बलियो बनाउन सकेन । यद्यपि, भारतको तुलनामा भुटानले नेपालसँग केही सुधारात्मक खेल खेलेको थियो । नेपालले खेलको १९औँ मिनेटमा १–० को अग्रता लियो । नेपालका लागि अमिषाले पहिलो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल २–० ले अगाडि रह्यो । नेपालले ६३औँ मिनेटमा तेस्रो गोल गर्‍यो । कप्तान प्रीतिले सहज गोल गरिन् । खेलको ६३औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गरिन् ।

 कृत्रिम मैदानमा खेल्न समस्या
प्रतिस्पर्धामा नेपाली खेलाडीले बंगलादेश र भुटानसँग प्रतिपस्र्धा गर्दा मैदानको समस्या झेल्नुपरेको थियो । बंगलादेशले प्रतियोगिता कृत्रिम मैदानमा आयोजना गरिरहेको छ । नेपाली खेलाडीले भने घाँसको मैदानमा अध्यास गरेका थिए । कृत्रिम मैदान कडा भएकाले खेल्न सहज नभएको नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले बताएका छन् । ‘कृत्रिम मैदान पनि निकै कडा छ, यस कारण खेलाडीलाई खेल्न समस्या आइरहेको छ,’ गुरुङले भने, मैदान कडा भएकाले खेलाडी घाइते भइरहेका छन् ।’

प्रशिक्षक गुरुङले अभ्यास गरेको र प्रतिस्पर्धा गरिरहेको मैदान फरक रहेको जनाए । उनी भन्छन्, ‘हामीले अभ्यास गरेको भन्दा पनि यो मैदान निकै कडा छ । कृत्रिम मैदानका कारण हाम्रो खेलाडी घाइते भइरहेका छन् ।’ प्रतिस्पर्धामा नेपालकी कुसुम खतिवडा घाइते भएकी छिन् । बंगलादेशविरुद्ध चोट बोकेपछि कुसुमले पहिलो हाफमै मैदान छाडेकी थिइन् । उनले भुटानविरुद्ध खेल्न पाइनन् । प्रशिक्षक गुरुङका अनुसार कुसुम बाँकी खेलमा समेत उपलब्ध हुनेछैनन् । 

यसैगरी, प्रशिक्षक गुरुङले अभ्यास बल र म्याच बल फरक हुँदा झनै समस्या आएको बताए । ‘हामीले अभ्यास गर्ने बल र खेलको बल नै फरक छ । जसका कारण खेलाडीलाई खेल्न गाह्रो भइरहेको छ ।’ दोस्रो खेलमा भुटानविरुद्ध शतप्रतिशत खेल्न नसकेको र अट्याकिङ थर्डमा गल्ती भइरहेको गुरुङले बताए । ‘आज पनि हामीले शतप्रतिशत दिन सकेनौँ । अट्याकिङ थर्डमा धेरै गल्ती गर्‍यौँ । समग्रमा खेल राम्रो भयो, तर खेलाडीले आफ्नो लय भेटाउन सकेका छैनन् । अट्याकिङ थर्डको समस्या अर्काे खेलमा गर्नुहुँदैन ।’